व्यङ्ग्य गरेकै कारण अपूर्व सात दिनदेखि हिरासतमा, प्रहरी भन्छ- संवेदनशील विषय
हास्यव्यङ्ग्यका नाममा नेवार समुदायको मानमर्दन हुने सामग्री पस्किएको आरोप लागेका कलाकार अपूर्व क्षितिज सिंह एक सातादेखि प्रहरी हिरासतमा छन्।
यूट्युब च्यानल ‘कमेडी क्याफे’ मा ‘नेवारको परम्परा’ नामक व्यङ्ग्यात्मक भिडिओमा नेवार समुदायको भाषा, संस्कृतिलाई खराब चित्रण गरेको भन्दै कलाकार सिंहमाथि उजुरी परेको थियो। उजुरी पर्नासाथ उनलाई भदौ १२ गते काठमाडौं प्रहरीले पक्राउ गरेको हो।
कमेडीमा घोचपेच हुन्छ नै। तर, त्यो कलात्मक हुनुपर्ने आधारभूत मान्यता रहेको चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल बताउँछन्।
सिंहले गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमै माफी मागेर उक्त सामग्री समेत यूट्युबबाट हटाएका थिए। तर, त्यसले प्रहरी हिरासतमा पुर्याउनबाट भने उनलाई जोगाएन। सिंहको पक्राउसँगै यो कानूनी कारबाहीको प्रक्रियामा पुगिसकेको छ।
यसअघि २०७६ कात्तिकमा र्यापर भिटेनलाई पक्राउ गरिएको थियो, गीतमा कोरिएका शब्दका कारण। भिटेन उजुरी नपरी प्रहरीको सक्रियतामा समातिएका थिए। उनलाई अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो। तर, सरकारले नागरिकको स्वतन्त्र अभिव्यक्तिमा अंकुश लगाएको भन्दै विरोध भएपछि साता दिन हिरासत बसेर यस्ता शब्दका गीत नगाउने कागज गरेर निस्किएका थिए।
अर्का गायक दुर्गेश थापा पनि भिटेन पक्राउ पर्नुभन्दा अघि प्रहरी हिरासतमा पुगेका थिए, गीतमा प्रयोग भएका शब्दकै कारण। दुर्गेशले प्रहरीसँग माफी मागेपछि छोडिदिएको थियो।
तर, कमेडियन सिंहले भने सार्वजनिक रूपमै क्षमा माग्दा पनि हिरासतमै छन्। प्रहरीसँगको सोधपुछमा समेत उनले आफूबाट गल्ती भएको स्वीकार गरेका छन्।
“बयानका कुरा खुलाउन मिल्दैन,” काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले यति मात्र भने, “यो संवेदनशील विषय छ।”
सिर्जना मार्फत गरिएको व्यङ्ग्यकै भरमा प्रहरीले सिंहलाई पक्राउ गरेपछि यसले कलाकार र स्रोता दुवैलाई सबक सिकाएको हास्यकलाकार गजुरेल बताउँछन्। “कलाकार पक्राउ परेकाले हामीलाई चित्त दुख्नु स्वाभाविक हो,” उनले हिमालखबरसँग भने, “तर, कलाकार, कमेडियनहरूले पनि के व्यङ्ग्य हो र के होइन भनेर सोच्नुपर्ने वेला आएको छ। विषयवस्तु पस्किँदा समाज र कलाकारबीच आपसी संवादको जरुरी देखियो।”
कमेडियन सिंह पक्राउको सामाजिक सञ्जालमा विरोध हुन थालेको छ। अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार अनुदार हुँदै गएको टिप्पणी गर्न थालिएको छ।
तर, जसरी भिटेन पक्राउ पर्दा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै विरोध भएको थियो, कमेडियन सिंहको मामिलामा भने सबै मौन जस्तै देखिन्छन्। त्यति वेला सडकमै निस्कनेहरू पनि अहिले बोलिरहेका छैनन्।