राष्ट्रपतिको राजीनामाको हल्ला अतिरञ्जना मात्र हो: एमाले महासचिव
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नागरिकता विधेयकलाई लिएर गरिएको राष्ट्रपतिको राजीनामा हल्ला अतिरञ्जना मात्रै भएको बताएका छन्।
एमाले प्रचार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पोखरेलले नागरिकता विधेयकका सन्दर्भमा एमाले विरुद्ध भ्रम छर्न खोजिएको बताए। नागरिकताका सन्दर्भमा संसदीय प्रक्रिया पूरा नगरी फास्ट ट्र्याकबाट नागरिकता जारी गर्न नहुने र नेपाली चेलीहरू भारतमा विवाह गरेर जाँदा नागरिकता प्राप्त गर्ने जुन व्यवस्था छ, त्यही व्यवस्था नेपालमा बिहे गरी आउने चेलीहरूलाई पनि लागू हुनुपर्ने एमालेको माग रहेको उनको भनाइ थियो।
“सर्वोच्च अदालतले नागरिकता जस्तो विषयमा अध्यादेश जारी गर्नु हुँदैन भनिसकेको पृष्ठभूमिमा संसदीय प्रक्रिया नै पूरा नगरी नागरिकता विधेयक फास्ट ट्र्याकबाट जारी गर्नु हुँदैन,” महासचिव पोखरेलले भने, “हाम्रा चेलीहरू भारतमा बिहे गरेर जाँदा जुन प्रोभिजन छ, त्यही प्रोभिजन यहाँ पनि लागू हुनुपर्छ भनेर हामीले भनेका हौं। एउटा सार्वभौम राष्ट्रमा नागरिकता जस्तो विषयमा समान व्यवस्था हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।”
नागरिकता विधेयकमा राष्ट्रपतिले दिएका सुझावहरू गठबन्धनले सुन्नै नचाहेर प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित गर्ने निर्णय गरी राष्ट्रपतिको अवमूल्यन गरेको उनको जिकिर थियो। अब राष्ट्रिय सभाबाट राष्ट्रपतिले दिएका सुझावहरू समेटेर सकारात्मक नतीजा आउने उनको भनाइ थियो।
नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिको राजीनामाको हल्ला अतिरञ्जना मात्र भएको उनले बताए। “नागरिकता विधेयकसँग जोडेर राष्ट्रपतिको राजीनामाको जुन हल्ला चलाइएको छ, यो अतिरञ्जना मात्र हो,” एमाले महासचिव पोखरेलले भने, “राष्ट्रपतिकहाँ विधेयक पुगेकै छैन। राष्ट्रिय सभामा अहिले छलफल चलिरहेको छ। राष्ट्रिय सभाले नै राष्ट्रपतिका प्रश्नहरू समाधान गर्छ।”
त्यस्तै, पाँच दलीय गठबन्धनले चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको उनको दाबी थियो। राजनीतिक दलहरूले चुनाव आफ्नो नीतिका आधारमा लड्नुपर्ने भन्दै नेता पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको बताए। “आगामी निर्वाचनका लागि गठबन्धनको सन्दर्भमा हाम्रो स्पष्ट नीति छ। हामी कुनै पनि प्रकारको गठबन्धनको पक्षमा छैनौं,” उनले भने, “हामी आफ्नो नीतिका आधारमा निर्वाचनमा प्रस्तुत हुन गइराखेका छौं।”