कर्णालीमा माओवादीबाट कृष्णा शाह र रातो कामी मन्त्रीमा सिफारिश
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिश गरेको छ।
माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सिफारिश गरेको हो। शाहलाई योजना मन्त्री र कामीलाई ऊर्जा विकास मन्त्रीका लागि सिफारिश गरिएको माओवादीले जनाएको छ।
यसका लागि माओवादीले आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो।
प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको जानकारी दिंदै माओवादी संसदीय दल अध्यक्ष विमला केसीले बहालवाला मन्त्रीद्वय सक्षम हुँदाहुँदै पनि मन्त्रिपरिषद् समावेशी बनाउने उद्देश्यले शाह र कामीलाई मन्त्रीमा सिफारिश गरिएको बताइन्।
“सकेसम्म मुख्यमन्त्री तथा सत्ता गठबन्धनभित्रका अन्य दलले मन्त्रिपरिषद् समावेशी बनाए हुन्थ्यो,” उनले भनिन्, “समानुपातिक र समावेशी सिद्धान्तको अजेन्डाको प्रमुख नेतृत्वकर्ता माओवादी भएकाले सरकारमा महिलाका तर्फबाट शाह र दलितबाट कामीलाई पठाउने निर्णय भएको हो।”
शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्।
यसअघि कर्णाली प्रदेश सरकार समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतमा रिट परेको थियो। त्यसमा सुनुवाइ गर्दै उच्च अदालतले समावेशी बनाउन आदेश दिएको थियो।