कांग्रेस प्रतिनिधि सभामा जम्मा ३१ उम्मेदवार उठाउन तयार होला?
गठबन्धनका चार दलको चित्त बुझाउने हो भने सत्तारूढ नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ बढीमा ३१ जना उम्मेदवार उठाउन पाउँछ।
सीट भाग लगाउन भदौ ९ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदल बैठकमा दलहरूले आआफ्ना दाबी प्रस्तुत गरेका थिए। बैठकमा नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सीट पाउनुपर्ने अडान राखेका थिए।
कांग्रेस बाहेकका दलले १३४ सीट मागेका हुन्। ती दलहरूको चित्त बुझाउने हो भने कांग्रेसको भागमा ३१ सीट पर्छ। आफूलाई गठबन्धनमै रहेको दाबी गर्ने बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले कति सीट माग्ने हो, प्रष्ट छैन।
गत स्थानीय चुनावमा सबैभन्दा बढी पालिका प्रमुखमा जित हासिल गरेको कांग्रेस ३१ सीटमा खुम्चिन तयार होला कि नहोला, अहिल्यै भन्न सकिंदैन। त्यति वेला पालिका प्रमुखमा माओवादीले ९.२४ प्रतिशत, एकीकृत समाजवादीले ४.६९, जसपाले ४.४६ र जनमोर्चाले ०.३ प्रतिशत मत पाएका थिए भने कांग्रेसले ३३.५६ र नेकपा (एमाले)ले ३४.५८ प्रतिशत मत पाएका थिए।