नेत्रविक्रम चन्द सहितको नाममा पक्राउ पुर्जी जारी
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायतको नाममा ३५ दिने पक्राउ पुर्जी जारी भएको छ।
कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना मुद्दा, राज्य विरुद्धको अपराधमा ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। साउन ६ गतेको आदेश अनुसार पक्राउ पुर्जी जारी भएको हो।
चन्दको पार्टीकै अर्का नेता खड्गबहादुर विश्वकर्मालाई पनि पक्राउ पुर्जी जारी भएको छ। त्यस्तै, पक्राउ पुर्जी जारी हुनेहरूमा सन्तोष बुढा मगर, उदयबहादुर चलाउने, नवीन विश्वकर्मा, उमा भुजेल, नन्दा विश्वकर्मा, सुदीप कुँवर, चन्द्रबहादुर बुढाथोकी, बाबुलाल पुन मगर, शंखर दमाईं, भरतबहादुर बम‚ धर्मराज बडुवाय र दमयन्तीकुमारी श्रेष्ठ मिचरिया लगायत छन्।
नेपाल प्रहरीको प्रतिवेदन अनुसार‚ संघीय सरकार वादी रहेको रहेको मुद्दामा उनीहरूलाई प्रतिवादी बनाइएको अदालतले जनाएको छ।
केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला २०७७ फागुनमा सरकारसँग तीनबुँदे सहमति गरेर चन्द समूह शान्ति प्रक्रियामा आएको थियो।