गठबन्धनको चुनावी तालमेल सम्बन्धी निर्णय कांग्रेसको विधान विपरीत
पाँच दलीय गठबन्धनको उपमहानगरपालिका मेयर र उपमेयर केन्द्रीय संयन्त्रले टुङ्गो लगाउने निर्णय पार्टी विधान विपरीत भएको भन्दै नेपाली कांग्रेसमा आलोचना शुरू भएको छ।
२९ चैतमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले महानगरपालिका र उपमहानगरपालिका मेयर र उपमेयरको सीट बाँडफाँड पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको छ।
कांग्रेसको विधानमा उपमहानगरपालिकाको मेयर र उपमेयर चयन गर्ने अधिकार पार्टीको प्रदेश समितिलाई दिएको छ। विधानको ३२ (३) (ग) भनिएको छ, “प्रदेश संसदीय समितिले प्राप्त नाममध्ये सहमति हुन सकेकोमा सहमति र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी उक्त निर्णय प्रदेश कार्यसमितिबाट अनुमोदन गराई पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गर्नेछ।”
पार्टी सभापति देउवाकै नेतृत्वमा बसेको बैठकले विधान कुल्चने निर्णय गरेपछि पार्टीभित्र चर्को आलोचना भएको कांग्रेसका एक सहमहामन्त्रीले हिमालखबरलाई जानकारी दिए। नाम उल्लेख गर्न नचाहने ती सहमहामन्त्रीले भने, “सभापतिकै अध्यक्षतामा बसेको बैठकले विधान विपरीत निर्णय गर्यो, पार्टीका युवा पदाधिकारीहरू पनि मौन बसे।”
कांग्रेसको विधानमा भएको व्यवस्था :