स्थानीय चुनावमा सबै दलले आफ्नै चुनाव चिह्न पाउने
![स्थानीय चुनावमा सबै दलले आफ्नै चुनाव चिह्न पाउने](https://www.himalkhabar.com/uploads/posts/800X600/election_commission_1647864577.jpg)
आगामी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त सहित सबै दलले आफ्नै चिह्नमा चुनाव लड्न पाउने भएका छन्।
निर्वाचन आयोगले सबै दलका उम्मेदवारलाई सम्बन्धित दलकै चुनाव चिह्न दिने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
अहिले राष्ट्रिय मान्यताप्राप्त ६ दल छन्। जसमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा छन्।
स्थानीय चुनावमा भाग लिन ७९ दलले निवेदन दिएका थिए। त्यसमा राष्ट्रिय मान्यताप्राप्त बाहेकका ७३ दल छन्। उनीहरूलाई पनि आआफ्नै चिह्नमा चुनाव लड्न दिने आयोगले निर्णय गरेको हो।
यससँगै आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। देशभर एक करोड ७७ लाख ३३ लाख ७२३ मतदाता छन्। महिलाको तुलनामा पुरुष धेरै छन्।
त्यस्तै, आयोगले ७७ जिल्लाकै मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ। यसका साथै ६७६ वटा निर्वाचन अधिकृत पनि तोकिएको प्रवक्ता पौडेलले बताए।
अब मतपत्र छपाइ गर्ने तयारी गरिएको आयोगले जनाएको छ। यस पटक जनक शिक्षा सामग्री केन्द्रबाट मतपत्र छपाइ हुने भएको छ।