विप्लवसँग एकताको कुराकानी भएको छैन: नारायणकाजी श्रेष्ठ
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेकपा महासचिव नेत्रविक्रम चन्दसँग पार्टी एकताका विषयमा कुराकानी नभएको जनाएका छन्।
अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट अनुमोदन भएपछि माओवादीभित्र विवाद उत्पन्न भएको छ। श्रेष्ठ लगायत केही नेता यसको विरोधमा उत्रिएका छन्।
चन्द नेतृत्वको नेकपाले एमसीसी सम्झौता विरुद्ध देशव्यापी विरोध कार्यक्रम सार्वजनिक गरेको छ। त्यसै क्रममा २० फागुनमा हुने विरोध कार्यक्रममा सहभागिताका लागि भेटेको श्रेष्ठले बताए।
“एसीसी सम्झौता विरुद्ध २० फागुनमा हुने कार्यक्रमका लागि कमरेड विप्लवले निम्ता दिनुभएको हो,” नेता श्रेष्ठले भने, “पार्टी एकताका लागि छलफल भयो भन्नु वाहियात हो। एकताको कुराकानी भएको छैन।”
नेता श्रेष्ठलाई भेट्न बुधबार बिहान चन्द उनको निवास पुगेका थिए। भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको जनाइएको छ।