युक्रेनमा रहेका ३०२ नेपाली सुरक्षित गन्तव्यमा, रूसमा रहेका विद्यार्थी चिन्तित
रूसले आक्रमण गरेपछि युक्रेनमा रहेका ३०२ जना नेपाली सुरक्षित गन्तव्यतिर लागेका छन्।
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले युक्रेनमा रहेका नेपाली सुरक्षित स्थानको खोजीमा पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायत देशमा पुगेको जानकारी दिए।
रूस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार, मंगलबारसम्म २३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, चार जना हंगेरी, २३ जना रोमानिया र चार जना माल्दावा पुगेका छन्।
रूसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किइभमा रहेका सबै नेपालीले युक्रेन छोडेको जानकारी दिए।
घिमिरेका अनुसार, रूसमा रहेका नेपाली विद्यार्थी चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेका छन्। पश्चिमी मुलुकले रूससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारणले रूसमा बस्ने नेपाली सशङ्कित बनेका हुन्।