एमसीसी पारित हुँदा एमाले प्रहसन देखाएर बस्योः माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट पारित हुँदा नेकपा (एमाले) ले प्रहसन देखाएर बसेको बताएका छन्।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमसीसीमा एमाले न समर्थन न विरोधको अवस्थामा रहेको बताए।
सत्तारूढ गठबन्धनको दृष्टिकोण आएपछि एमसीसीबारे एमालेले आफ्नो धारणा संसद्मा प्रस्तुत गर्छ भन्ने प्रतिबद्धताबाट एमाले पछि हटेको उनको भनाइ थियो।
आफैंले अघि बढाएको एमसीसी अनुमोदन गर्ने वेलामा सभामुख हटाऊ, एकीकृत समाजवादीको दर्ता खारेज गर, गठबन्धन तोड जस्ता शर्त राख्नु नै गलत भएको धारणा उनले राखे।
एमालेले एमसीसीबारे धारणा सार्वजनिक गर्न मंगलबार जारी गरेको विज्ञप्तीमा अमर्यादित भाषा प्रयोग गरेको अध्यक्ष नेपालले आरोप लगाए।
व्याख्यात्मक घोषणापछि एमसीसीबारे उठेका आशंका सम्बोधन भएको उनले बताए।