एमाले कार्यव्यवस्था परामर्श समिति बैठकमा नजाने
नेकपा (एमाले) का सांसद प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि नजाने भएका छन्।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
कार्यव्यवस्था परामर्श समितिको बैठकका प्रतिनिधि सभाको आजको कार्यसूची तय गरिनेछ। बैठकमा कानून‚ न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा पेश गर्न प्रस्ताव राख्ने भएका छन्।
तर, एमाले सांसद भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि नजाने प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन्। सभामुखको राजीनामाको माग यथावत् रहेकाले परामर्श समितिको बैठकमा पनि नजाने भट्टराईको भनाइ छ।
यससँगै एमाले सांसदले आजको प्रतिनिधि सभाको बैठकमा पनि विरोध जारी राख्ने भएका छन्। आफ्ना माग सम्बोधन नहुँदासम्म विरोध जारी रहने भट्टराईले बताए।