कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने
नेपाली कांग्रेसले आगामीस्थानीय निर्वाचन लक्षित ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको बैठकले एक महीने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, यो अभियान २० फागुनदेखि २० चैतसम्म जारी रहनेछ।
बैठकले ३० वैशाख २०७९ मा स्थानीय निर्वाचन गर्ने सरकारको निर्णय स्वागत गरेको छ। सभापति देउवाले आवश्यक परामर्श गरेर स्थानीय निर्वाचन घोषणापत्र तयारी समिति सकेसम्म छिटो गठन गर्ने कार्य सम्पादन समितिको निर्णय छ।
यसै गरी अवधि सकिएका भ्रातृ संगठनहरूको फागुन मसान्तभित्र तदर्थ समिति गठन गरिने भएको छ। नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघको अवधि समाप्त भइसकेको छ।