त्रिभुवन विश्वविद्यालय सुधारका लागि सहयोग गर्न अपील
बारम्बारको तालाबन्दीले शैक्षिक वातावरण खलबलिएको जनाउँदै विश्वविद्यालय सुधारका लागि सहयोग गर्न त्रिभुवन विश्वविद्यालयले प्राज्ञ, नागरिक समाज, वैचारिक संगठन तथा सञ्चार माध्यमलाई अपील गरेको छ।
विश्वविद्यालय नेतृत्वले नियुक्तिको २५औं दिनमा त्रिवि सभा मार्फत जारी गरेको १५ बुँदे त्रिवि सुधार योजना सफल पार्न विश्वविद्यालयमा बारम्बार हुने तालाबन्दीले असर गरेको विश्वविद्यालयले जारी गरेको अपीलमा भनिएको छ।
कोरोनाभाइरस महामारीका कारण भएको बन्दाबन्दी बाहेक विश्वविद्यालयमा गत २८ महीनामा विभिन्न संघसंगठनका नाममा एक सय ४९ दिन तालबन्दीमा भएको छ भने ६ माघदेखि विद्यार्थी संगठन एकाइ समितिको नामबाट र गत हप्तादेखि आंशिक शिक्षकको नाममा तालाबन्दी भइरहेको छ। यसरी नियमित हुने तालाबन्दीले विश्वविद्यालयको प्राज्ञिक गतिविधिलाई असर पारेको त्रिविले जारी गरेको अपीलमा उल्लेख छ।
'एकातिर तिनै तालाबन्दी गर्ने समूह त्रिविको शैक्षिक पात्रो निश्चित भएन, परीक्षाको नतीजा समयमा आएन, खस्कँदै गयो भनेर भाषण गर्न थाक्दैनन् भने अर्कोतर्फ तिनै समूह विश्वविद्यालयमा निरन्तर तालाबन्दी गर्नमा मात्र सीमित नभएर कुर्सी जलाउने, तोडफोड गर्ने तथा आफ्नै देवतुल्य गुरुलाई अशिष्ट व्यवहार गर्ने मात्र नभएर विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी सांघातिक हमला गरी अपाङ्ग बनाउन समेत पछि पर्दैनन्' विश्वविद्यालयबाट जारी अपीलमा भनिएको छ।
विश्वविद्यालयमा तालाबन्दीले निम्त्याएको समस्या समाधान गर्न कुलपति, शिक्षामन्त्री र तालाबन्दी गर्ने विद्यार्थी संगठनको केन्द्रीय नेतृत्वलाई आग्रह गरिसकेको अपीलमा उल्लेख छ।
त्यस्तै, आंशिक शिक्षकको समस्या समाधान गर्न सम्बन्धित क्याम्पसबाटै आन्तरिक व्यवस्थापन गर्दै जाने, सेवा आयोगद्वारा नियमित विज्ञापन गरी आंशिकलाई स्थायी हुने अवसर प्रदान गर्दै जाने र नेपाल सरकारले २०७४ सालमा स्वीकृत गरेको दरबन्दीलाई स्थायी हुने अवसर प्रदान गर्न विश्वविद्यालय लागिपरेको जनाएको छ।
'अनशनको आडमा वा तालाबन्दी दबाबमा विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाब दिई आंशिक शिक्षकलाई स्वतः करार सेवामा, करार सेवा प्रवेश पश्चात् स्वतः स्थायी वा आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्ने परम्परालाई हालको त्रिवि नेतृत्वले कदापि स्वीकार गर्दैन' अपीलमा भनिएको छ।