स्थानीय चुनाव तोकिएकै समयमा हुन्छ: कांग्रेस प्रवक्ता
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहको चुनाव तोकिएकै समयमा हुने बताएका छन्।
सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ। निर्वाचन आयोगले पनि तयारी थालेको छ। तर, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले भने सरकार चुनाव नगर्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ।
सोमबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव त्यसैको एक कडी भएको जिकिर गरेका थिए।
त्यसको जवाफ दिंदै कांग्रेस प्रवक्ता महतले तोकिएकै समयमा चुनाव हुने बताए। ज्ञान-गोष्ठीले सोमबार ललितपुरको पाटनढोकामा आयोजना गरेको ‘संसदीय प्रणाली र बाह्य सम्बन्ध’ विषयक संवाद कार्यक्रममा बोल्दै महतले भने, “स्थानीय चुनाव तोकिएकै समयमा हुन्छ।”
प्रवक्ता महतले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसद्बाट पारित गर्नुपर्ने बताए। एमसीसीका विषयमा कांग्रेस शुरूआतदेखि नै स्पष्ट रहेको उनको भनाइ थियो।