जेठमा हुने स्थानीय चुनावमा गठबन्धनका दल मिलेर अगाडि बढ्छौं: माधव नेपाल
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी जेठमा हुने स्थानीय चुनावमा गठबन्धनमा भएका दलले मिलेर लड्ने बताएका छन्।
काठमाडौंमा अनेरास्ववियुद्वारा बुधबार आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, “जेठ महीनामा स्थानीय तहको चुनाव हुन गइरहेको छ, त्यो चुनावमा पनि गठबन्धनका दलहरू मिलेर अगाडि बढ्नेछौं।”
एकीकृत समाजवादी लगायत केही दल तत्काल स्थानीय चुनावको विपक्षमा रहेको प्रतिक्रिया आइरहेका वेला नेपालले जेठमा निर्वाचन हुने र गठबन्धन कायम रहने धारणा व्यक्त गरेका हुन्।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले कसैले चाहना राख्दैमा गठबन्धन नटुट्ने बताए। “दिनदिनै पत्रपत्रिकामा आउने अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ, दिमाग खराब गर्ने काम नगर्नुस्,” अध्यक्ष नेपालले भने, “यो गठबन्धन टुट्नेवाला छैन।”
निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय चुनाव आगामी ४ जेठमा गर्न प्रस्ताव गरेका छन्। प्रधानमन्त्री देउवाले आयोगले प्रस्ताव गरेकै मितिमा एकै चरणमा निर्वाचन गर्ने प्रतिबद्धता जनाएको आयोगले वक्तव्य मार्फत जानकारी दिएको छ।