स्थानीय चुनाव गर्न ऐन संशोधन आवश्यक छैन: एमाले
नेकपा (एमाले) ले स्थानीय निर्वाचनका लागि ऐन संशोधन आवश्यक नरहेको निष्कर्ष निकालेको छ।
सत्तारूढ गठबन्धन दलका नेताहरूले ऐन संशोधन नगरी चुनाव गर्न नसकिने टिप्पणी गरिरहेका वेला प्रमुख प्रतिपक्षी दलले यस्तो निष्कर्ष निकालेको हो। एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यालयको बैठकले निर्वाचन आयोगले भनेकै मितिमा स्थानीय चुनाव गर्न सकिने निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
“सामान्य अवस्थामा निर्वाचन आयोगलाई १२० दिन चाहिने हो, तर विगतमा पनि घोषणा भएको ९० दिनमा चुनाव भएका छन्,” ज्ञवालीले हिमालखबरसँग भने, “प्रचलित कानून अनुसारै चुनाव गर्न सकिन्छ, ऐन संशोधन आवश्यक छैन।”
स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार २०७४ मा निर्वाचित ७५३ स्थानीय तहका जनप्रतिनिधिको पदावधि ५ जेठ २०७९ मा समाप्त हुँदै छ। त्यस अगावै निर्वाचन गर्नुपर्नेमा एमाले केन्द्रीय कार्यालयले जोड दिएको छ।
निर्वाचन आयोगले नै निर्धारित मितिमा चुनाव सम्पन्न गर्न सकिन्छ भनिरहेका वेला अनावश्यक विरोधको अर्थ नभएको उपमहासचिव ज्ञवालीको भनाइ छ। उनले भने, “ऐन संशोधन वा अन्य बहानामा स्थानीय चुनाव सार्न पाइँदैन।”
केन्द्रीय कार्यालय बैठकमा आगामी बुधबार बस्ने सचिवालय बैठकको अजेन्डाको विषयमा छलफल भएको ज्ञवालीले जानकारी दिए।