भ्रष्टाचारको मुद्दा लागेका उद्योगीको बचाउमा बोले तीन सङ्गठन, निजी क्षेत्र हतोत्साही भएको धारणा
निजी क्षेत्रका प्रमुख तीन संगठनले सोमबार संयुक्त विज्ञप्ति निकालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमेन्ट उद्योगीमाथि लगाएको भ्रष्टाचारको मुद्दाको विरोध गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति मार्फत प्रचलित कानून बमोजिम सम्पूर्ण कर भुक्तानी गरी सञ्चालनमा रहेका उद्योगका लगानीकर्तालाई हतोत्साही गर्ने गरी भ्रष्टाचार जस्तो गम्भीर आरोप लगाइनु दुर्भाग्यपूर्ण भएको जनाएका छन्। “कानूनको परिपालना गरी व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा कपोलकल्पित रूपमा आशङ्काको भरमा निजी क्षेत्रलाई आयोगको दायरामा ल्याउँदा लगानी प्रवर्द्धन र रोजगारी सिर्जना निरुत्साहित हुनेछ,” विज्ञप्तिमा भनिएको छ।
गत साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको स्वीकृत परिणामभन्दा धेरै चुनढुङ्गा उत्खनन गर्ने सर्वोत्तम सिमेन्ट, सिद्धार्थ मिनरल्स, मारुती सिमेन्ट, अन्नपूर्ण क्वेरिज, उदयपुर मिनरल्स, युनाइटेड सिमेन्ट, सोनापुर मिनरल्स, कञ्चन क्वेरिज र डोलोमाइट चुनढुङ्गा कम्पनी तथा सञ्चालक विरुद्ध विशेष अदालतमा राजस्व चुहावट सहित भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
उद्योगीमाथि सिर्जित राजस्व एवं अन्य दायित्वबारे जानकारी नै नदिई एक्कासि मुद्दामा जाने निर्णयले निजी क्षेत्रलाई मर्माहत बनाएको निजी क्षेत्रका प्रमुख संस्थाले विज्ञप्तिमा उल्लेख गरेका छन्। क्षतिपूर्ति असुलीका अन्य विकल्प एवं कानूनी बाटो अवलम्बन गर्नुको सट्टा सीधै मुद्दामा जानु निजी क्षेत्रलाई निस्तेज पार्ने प्रयास भएको उनीहरूको तर्क छ।
“कानूनी स्पष्टताको अभाव रहेको अवस्थामा व्यवसायीलाई भ्रष्टाचारजन्य आरोपमा कसूरदार ठहर गर्ने परिपाटीले नेपालमा लगानी निरुत्साहित गर्ने अवस्था सिर्जना हुन्छ,” विज्ञप्तिमा भनिएको छ।
विभिन्न उद्योगले वार्षिक तोकिएको परिमाणभन्दा बढी चुनढुङ्गा उत्खनन गरेको भेटिएपछि खानी तथा भूगर्भ विभागले ती उद्योगलाई रु.एक लाखका दरले जरिवाना गरेर छोडेको थियो। तर, अख्तियारले भने रु.एक अर्ब २६ करोड जरिवाना गर्नुपर्ने मागदाबीखसहित विशेष अदालतमा मुद्दा चलाएको थियो।
सिमेन्ट उद्योगहरूले वार्षिक स्वीकृत सीमाभन्दा बढी उत्खनन भएको चुनढुङ्गाको पनि राजस्व बुझाइसकिएको र कानून अनुसार रु.एक लाख जरिवाना तिरेर बढी उत्खनन गर्ने काम रोकिसकेको बताउँदै आएका छन्।