आर्थिक सूचक खस्किएपछि अर्थशास्त्रीहरूसँग अर्थ मन्त्रालयको छलफल
आर्थिक सूचकहरू लगातार खस्किन थालेपछि अर्थ मन्त्रालयले अर्थशास्त्रीहरूसँग छलफल गरेको छ।
आइतबार अर्थशास्त्रीहरूलाई बोलाएर मन्त्रालयले अर्थतन्त्रका समस्या समाधानका लागि चाल्नुपर्ने कदमका विषयमा धारणा सुनेको हो। छलफलमा विज्ञहरूले मुलुकको अर्थतन्त्र धराशायी भइनसकेको तर चुनौतीपूर्ण अवस्थामा रहेको विचार राखेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अर्थतन्त्रलाई थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न अर्थशास्त्रीहरूले सुझाएका छन्। विदेशी मुद्रा सञ्चितिका लागि भुक्तानी सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि अर्थशास्त्रीहरूले सुझाव दिएका छन्।
त्यसै गरी कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्ने लगायत सुझाव दिएको विज्ञप्तिमा उल्लेख छ।
छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा, विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, भारतका लागि पूर्व राजदूत दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल लगायतको उपस्थिति थियो।
पछिल्ला महीनामा देशका आर्थिक सूचकहरू लगातार नकारात्मक भइरहेका छन्। भुक्तानी सन्तुलन र चालू खाता घाटा उच्च अवस्थामा पुगेको छ भने विदेशी विनिमयको सञ्चिति पनि तीव्र गतिमा घटिरहेको छ। त्यसै गरी देशभित्र मूल्यवृद्धि पनि उच्च गतिमा उकालो लागेको छ।
छलफलमा अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति र संरचनाको अभाव रहेको बताए। उनले अर्थतन्त्रका सबै समस्याको कारण राजनीति भएको बताउँदै दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे सहमति आवश्यक रहेको बताए। मन्त्री शर्माले अर्थशास्त्रीको सुझावलाई सरकारले मार्गदर्शनका रूपमा लिने बताए।