५१ प्रतिशत लाभांश दिँदै नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनीले बुधबार एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रू. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७१९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो।
उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ। जीवन बीमा कम्पनीहरूमध्ये करीब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करीब रू. ५ अर्ब ५० करोड रहेको चुक्तापूँजी लाभांश वितरणपश्चात रू. ७ अर्ब १९ करोड हुनेछ भने लगानी रू. १०४ अर्ब रूपैयाँ रहेको छ।
त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रूपैयाँ र शेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ। कम्पनीले यस आर्थिक वर्षको मंसीर समान्तसम्ममा जम्मा रू. १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ।
१ लाख ६७ हजार ५६५ प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २०० शाखा तथा उप शाखा कार्यालयहरूमार्फत् जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।
हालसम्म स्वदेश र विदेश गरी २८ लाख २० हजार १९६ व्यक्ति कम्पनीमा बीमित भइसकेका छन्। ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ।