ब्लग सोमबार, साउन ५, २०७७

कोरोनाभाइरस विरुद्ध मेरो संघर्षः अमेरिकामा पनि अस्पताल जान पाइएन

हिमालखबर

कोरोनाभाइरस विरुद्ध मेरो संघर्षः अमेरिकामा पनि अस्पताल जान पाइएन

राति नसुतेर रोएर बस्थें। किनकि निदाएपछि कसैले घाँटी पक्रिए जस्तो हुन्थ्यो। दिउँसो अलिबेर सुत्थें। कसैगरी मरिहालियो भने पनि घर फुटाउनु नपरोस् भनेर राति पछाडिको ढोका खुल्लै छोड्थें।

टेक्सासको ब्रायन शहरस्थित सेन्ट जोसेफ हस्पिटलले तीन दिनपछि दिने भनेको रिपोर्ट १० दिनमा दियो। नतिजा कोरोनाभाइरस पोजिटिभ। त्यतिञ्जेलसम्म निकै गाह्रो महसूस हुन थालिसकेको थियो। सास फेर्न अप्ठ्यारो हुन्थ्यो। शौचालय जान पनि सक्दिनथें।

म ११ जूनमा कामबाट सकुशल फर्किएर सुतेको थिएँ। बिहान उठ्दा टाउको पछाडिको भाग दुखिरहेको थियो। शरीरका सबै जोर्नी, पिंडुला र मांसपेशी दुखेको महसूस गरें। थकान पनि अनुभव भयो। कोरोनाभाइरस संक्रमण भएको शंकाले मेरो मनको ‘लंका’ जलायो।

म बसेको अमेरिकाको टेक्सास राज्यमा कोरोना संक्रमितको संख्या बढिरहेको थियो। त्यसैले मैले एक दिन आराम गर्ने सोचें। मेनेजरलाई बिदा मागेर ‘मेसेज’ गरें। तर, कुनै जवाफ आएन। दिउँसो १ बजेतिर सुपरभाइजरलाई फोन गरें। ऊ मैले काम गर्ने पसलमै रहेछ। मेनेजर पनि त्यहीं भएको जानकारी पाएँ। तुरुन्त भेट्न गएँ। फर्किंदा सिटामोल लगायत रुघाखोकीको औषधि, सागपात, फलफूल र सुन्तलाको जुस लिएर फर्किएँ। त्यतिबेला मेरो ज्वरो १००.९ थियो।

एक्लै बसिरहेको हुँदा मुश्किलले खाना पकाएँ। चार चम्चाभन्दा खान सकिएन। तरकारीमा नून, तेल, खुर्सानी हालेको कि नहालेको थाहा पाइएन। जिब्रोको स्वाद भागिसकेको रहेछ। फेरि औषधि खाएर सुतें।

त्यो दिन औषधि खाएर सुतेको एकैपटक राति १० बजे बिउँझिएँ। ओहो ! त्यसपछि बल्ल मेरो संघर्ष शुरू भयो। बिस्तराले मलाई यति तानेको थियो उठ्नै नसक्ने भइसकेको थिएँ। चेत सबै छ। आँखा देखेकै छु। तर, बिस्ताराबाट उठ्ने साहस गर्नै सकिनँ। सात घन्टामा एकदमै कमजोर भइसकेको थिएँ।

एक्लै बसिरहेको हुँदा मुश्किलले खाना पकाएँ। चार चम्चाभन्दा खान सकिएन। तरकारीमा नून, तेल, खुर्सानी हालेको कि नहालेको थाहा पाइएन। जिब्रोको स्वाद भागिसकेको रहेछ। फेरि औषधि खाएर सुतें।

पानी तताउन समेत जाँगर चलेन। सुतिरहेको बेला खापेको खुट्टा समेत फेर्न जाँगर नचल्ने। शौचालय जान हिम्मत नआउने। यस्तो अवस्थामा पुगेपछि मलाई कोरोना संक्रमित भएको निश्चय गरें। तर, जाँच गराउन जान गाडी चलाउने साहस थिएन।

एक जना चिनेको अफ्रिकन साथी डियललाई अनुरोध गरें। उसले हामी बस्ने टेक्सासको ब्रायन शहरकै सेन्ट जोसेफ हस्पिटल पुर्‍यायो। त्यहाँ २५८ डलर शुल्क लाग्ने रहेछ। तर, अहिले नै तिर्नु नपर्ने। उनीहरूले बिल पठाएपछि तिर्दा हुने।

तीन दिनमा रिपोर्ट आउने जानकारी पाएको थिएँ। तर, १० दिन लाग्यो। त्यो पनि कोरोना पोजिटिभ भएको। यतिञ्जेल मलाई निकै गाह्रो भइसकेको थियो। श्वासप्रश्वास र खोकी निकै बढेको थियो।

तीन दिनमा रिपोर्ट आउने जानकारी पाएको थिएँ। तर, १० दिन लाग्यो। त्यो पनि कोरोना पोजिटिभ भएको। यतिञ्जेल मलाई निकै गाह्रो भइसकेको थियो। श्वासप्रश्वास र खोकी निकै बढेको थियो।

बिरामी भएको तीन दिनपछि नेपालमा रहेकी श्रीमतीसँग झगडा हुन थाल्यो। दाङको तुलसीपुर-९ बलुवास्थित घरबाट मेसेन्जरमा फोन गर्दै उनी छिटो अस्पताल गएर औषधि लिन भन्थिन्। तर यहाँ नेपालजस्तो हरेक गल्लीमा क्लिनिक हुँदैन। अमेरिकामा स्वास्थ्य बीमा भएकालाई समेत सजिलै उपचार हुँदैन। अरुलाई त पहाडै हुन्छ।

कसैले मेसेन्जर वा मोबाइलमा फोन नगरोस् भन्ने लाग्थ्यो। एकदमै झिंजो लाग्ने। त्यसैले मेसेन्जर र फेसबूक नै डिलिट गरिदिएँ। अनि त कसैसँग पनि धेरै दिन कुरै भएन। यो रोगले मलाई निर्दयी र निर्मोही बनायो। एउटा सानो नातिबाहेक कसैको याद आएन। ८० वर्षको हाराहारीमा लागेका बुवाआमाको पनि माया लागेन। क्यालिफोर्नियामा रहेको छोरा निराजनसँग मात्र हरेक दिन छोटो कुरा हुन्थ्यो।

त्यतिबेलै अस्टिनमा बस्ने मेरो भाइ पर्नेलाई पनि संक्रमण भएछ। उहाँलाई १०४ डिग्रीभन्दा माथि ज्वारो आएछ। एम्बुलेन्स बोलाउँदा ‘घरैमा बसेर आराम गर’ भनेर छाडेछ। यो देशमा आप्रवासीलाई यसरी नै बेवास्ता गरिएको छ। बोस्टनको एउटा अस्पतालमा काम गर्मे नेपाली डाक्टरले यो कुरा स्वीकार्नुभएको छ।

एक्लै बसेको छु। बाँच्नका लागि जसरी पनि खाना पकाउनै पर्छ। धेरै दिन रोएरै पकाएँ। एक दिन पकाएको तरकारी त केही दिनसम्म खान मिल्छ। तर भात त हरेक दिन पकाउनै पर्ने। बिस्तराबाट उठ्नै नसक्ने भएपछि चना भुटेर अलिअलि टोकें। पछि साथीहरूलाई सम्पर्क गरें।

बिहानको खाना नीरज श्रेष्ठ र अमर आचार्य अनि साँझको नवीन थापाले ल्याउन थाले। चेतन श्रेष्ठ भाइबाट पनि सहयोग भयो। दैनिक आवश्यक पर्ने सामान र सागसब्जी त्यही अफ्रिकन साथीले ल्याइदियो।

मलाई यति बेला जिन्दगीभरि गरेका सम्पूर्ण राम्रा र नराम्रा काम सिनेमाका दृश्य जस्तै दिमाग घुमिरहे। कतिपय गलत काम सम्झेर निकै पश्चाताप लाग्यो। एकातिर पीडा महसूस भइरहेको छ, अर्कोतिर उपचार केही छैन। कोही बेला त मर्न पाए पनि हुने जस्तो सोच पनि आयो।

म निकै कमजोर भैसकेको थिएँ। २५ पाउण्ड वजन घटिसकेको थियो। सात दिनमै म यति कमजोर भएँ कि मृत्युकै मुखमा पुगेको भान हुन्ग्थ्यो।

तर, ज्वरोलाई एकदम निगरानी गरियो। यो रोगको सबैभन्दा बैगुन खान मन नलाग्ने रहेछ। सद्दे शरीर हुँदा पनि खोकी लाग्ने हुनाले फलफूल खान्नथें। यति बेला खाने प्रयास गरें। खोकी झनै बढेपछि त्यो पनि छाडिदिएँ। त्यही अफ्रिकन साथीको सल्लाहले भिटामिन बी–१२, सी र जिन्क खाएँ। केही राहत भयो।

म निकै कमजोर भैसकेको थिएँ। २५ पाउण्ड वजन घटिसकेको थियो। सात दिनमै म यति कमजोर भएँ कि मृत्युकै मुखमा पुगेको भान हुन्ग्थ्यो।

छोरा निराजनले फोनमा चिकेन नुडल्स खाने सल्लाह दिए। त्यो क्यान फुड रहेछ। केही दिन खाएपछि नाकले गन्ध र मुखबाट हल्का गुलियो स्वाद आएको महसूस भयो। लगातार त्यो खाँदै जाँदा भोक लागेको पनि महसूस हुन थाल्यो।

त्यसपछि राम्रो हुँदै गयो। हरेक दिन खुराकी बढ्दै गयो। अब अहिले भोजनमा खासै समस्या छैन। छिटो छिटो भोक लाग्छ। तर, पहिले जस्तो एकै पटक धेरै खान सकिंदैन। जे होस् अब यो महामारीबाट बाँचियो भन्ने लागेको छ। अझै पनि लामो समयसम्म कुरा गर्दा, कुनै काम छिटोछिटो गर्दा, छिटो हिंड्दा दमको बिरामी झैं श्वास बढ्छ। आशा छ, यो समस्याबाट पनि बिस्तारै राहत मिल्छ।

कोरोना संक्रमणलाई हिम्मतले जितिन्छ। मैले कोरोना संक्रमणबाट मुक्त हुन गरेका केही प्रयास अरूलाई पनि काम लाग्न सक्छ।

१. संक्रमित व्यक्ति सबैलाई समान लक्षण हुँदैन। सामान्यतः ज्वरो सबैलाई आउँछ। सकभर ज्वरोलाई १०० डिग्रीभन्दा माथि जान नदिन सिटामोल हरेक ६ घन्टामा लिनुपर्छ। १०० डिग्री नाघे पनि नआत्तिने, अर्को ६ घन्टामा झरिहाल्छ।

२. भिटामिन सी पाइने जुस र फलफूल पर्याप्त खाने। आफ्नो ध्यान रोगभन्दा अन्तै मोड्ने। मैले ध्यान मोड्न हनुमान चालिस पढें, मोबाइलमा गेम खेलें, भिडियो हेरें।
३. हिम्मत बढाउने। सके जति खाना समयमै खाने। हुन त खाना खान पटक्कै मन हुँदैन, तथापि जति सकिन्छ खाने।

४. आफू सुतिरहेको ठाउँ नजिकै भुटेको चना, हल्स नामका ‘कफ ड्रप्स’ चकलेटहरू राख्ने, ताकि बेला बेलामा सजिलै खान सकियोस्।

५. अदुवा, टिमुर, तुलसीको पत्ता, नीमको पात, ज्वानो राखेर तताएको पानी दिनमा ६ गिलासजति पिउने। बिहान महसहितको पानी पिउने। बेसार पनि प्रशस्त खाने।

६. लामो बाहुला भएको कपडा र लामो ट्राउजर लगाउने। हरेक दिन कपडा बदल्ने।

७. पिसाब फेर्दा बसेर फेर्ने, जसले गर्दा छिटाहरू हाम्रो खुट्टामा नपरुन्। परेको छ भन्ने लाग्यो भने ट्राउजर फेर्ने।

८. हरेक समय शौचालय प्रयोग गरिसकेपछि साबुनपानीले अनिवार्य हात धुने।

९. हाम्रो मुखमा टिमुर, अदुवा, तुलसी, दालचिनी वा नीमको पात सधैं हुनुपर्छ। यसले मुख सुक्खा हुन दिंदैन र खोकी नियन्त्रण हुन्छ।

१०. खोकीको दबाइ पनि नियमित खानुपर्छ।

११. छाती र घाँटीमा भिक्स लगाउने र हट ब्यागमा तातोपानी हालेर साँझ–बिहान सेक्ने। यदि हट ब्याग छैन भने इँटा प्रयोग गर्न सकिन्छ।

१२. हरेक बिहान र साँझ बाफ लिने। बाफ लिइसकेपछि आएको पसिनालाई रुमालले पुछ्ने। यदि नुहाउन मन छैन भने चिसो रुमालले पुछ्ने। तर, करीब सवा घन्टा पछि मात्र नुहाउने। प्रयोग भएको चिसो टाबेल र आफ्नो कपडाहरू एकान्त स्थानमा सुकाउने र कम्तीमा ६ घन्टा पछि प्रयोग गर्ने।

१३.खानामा झोलिलो तरकारी धेरै खाने। सुप, काँचो लसुन सहित धनियाँ वा पुदिनाको चटनी र कागती हाल्ने, जसले जिब्रोका स्वाद फर्काउन सहयोग गर्छ।

१४. शौचालय गएपछि साबुनपानीले राम्ररी हात धुने। स्यानिटाइजर नजिक राखेर बेला बेला प्रयोग गर्ने।

१५. हरेक दिन बिहान घाममा बस्ने र साँझ बाहिरको स्वच्छ हावा लिने।

प्रतिकृया दिनुहोस