टिप्पणी बुधबार, असार ३१, २०७७

आधुनिक औषधि विज्ञानमा परम्परागत ज्ञान

हिमालखबर

आधुनिक औषधि विज्ञानमा परम्परागत ज्ञान
चित्र: आईयुसीएन
डा. यादव उप्रेती

परम्परागत ज्ञानमै आधारित भएर कतिपय वनस्पतिहरूमा हुनसक्ने उपयोगी तत्वहरूको खोजी पनि भएका छन् तर यस्ता खोजमूलक काम उत्पादनको चरणसम्म नपुग्दा यसबाट अपेक्षित लाभ लिन भने सकिएको छैन।

परम्परागत उपचार पद्धतिमा वनस्पति, जीवजन्तु र खनिज पदार्थहरूको प्रयोग हुने गर्दथ्यो। औषधि विज्ञानका क्षेत्रमा यो परम्परागत ज्ञानका रूपमा परिचित छ।

यस्तो ज्ञानका आधारमा गरिने उपचार पद्धतिहरूमा चिनियाँ (तिब्बती समेत), कोरियन, जापानिज (जसलाई काम्पो भनिन्छ), युनानी (मूलतः दक्षिण र मध्यएशियाका मुस्लिम समुदायमा प्रचलित), सिद्घ (दक्षिण भारतमा प्रचलित) र आयुर्वेदिक उपचार पद्धतिको ख्याति विश्वव्यापी रूपमै रहेको देखिन्छ।

भर्खरै प्रकाशित रिपोर्टहरूका अनुसार कोभिड–१९ को संक्रमणमा परेका नब्बे प्रतिशत भन्दा बढी बिरामीको उपचारमा कुनै न कुनै स्वरुपमा चीनले आफ्नो परम्परागत औषधिको प्रयोग गरेको जनाएको छ (बीबीसी)।

फोसिल वा जीवहरूको अवशेषहरू (जीवाशेष) को अध्ययनले वनस्पतिमा आधारित औषधिको प्रयोग मानिसले ६० हजार वर्ष अघिदेखि गरिरहेको देखिएकाे छ (साइन्स जर्नल, १९७५)।

प्रारम्भिक चरणमा औषधिको रूपमा प्रयोग गरिएका प्राकृतिक वस्तुहरूले अवश्य पनि धेरै मानिसलाई चुनौती दिएको हुनुपर्छ। संभवतः खाद्यान्नको खोजीमा धेरै मानिसले विषाक्त वनस्पतिहरू खाएका हुनसक्छन्।

त्यसक्रममा बान्ता, पखाला वा अन्य विषाक्त प्रतिक्रिया निश्चय नै देखिएका थिए। कतिको मृत्यु समेत भएको हुनुपर्छ। यद्यपि मानिसले निरन्तर प्रयास गरिरहे। फलतः खानयोग्य वनस्पति र जडिबुटीहरूको बारेमा ज्ञान र सीप विकास गर्न सक्षम भए।

त्यसपछि मानिसहरूले आगोको आविष्कार गरे र क्रमशः विभिन्न खालका प्रविधिहरू विकास गर्दै औषधि बनाउन पनि सफल भए।

कोरोना कहरसँगै हाम्रा परम्परागत ज्ञान, सीप र अभ्यासको पनि व्यापक चर्चा परिचर्चा शुरू भएको छ। वास्तवमा हाम्रा कतिपय परम्परागत ज्ञान, सीप र अभ्यास निकै परिस्कृत र वैज्ञानिक छन्।

यो पनि पढ्नुहोस्– मिचाहा होइन, औषधि हो ज्याकाराण्डा

पुस्तौंपुस्तादेखि परम्परागत अभ्यासले खारिंदै आएका यस्ता ज्ञान र सीपहरू आधुनिक विज्ञानको कसीमा घोटिन अझै बाँकी छ भन्ने आधार बनाएर परम्परागत उपचार पद्धतिलाई प्रोत्साहन गर्नुहुँदैन भन्ने धारणा आफैंमा गलत छ।

तथापि यस्ता अभ्यासहरूलाई व्यवसायीकरण गर्ने सन्दर्भमा भने वैज्ञानिक विधि अपनाई प्रयोगशालाहरूमा परीक्षण गरिनु आवश्यक छ।

केही दशक अघिसम्म परम्परागत ज्ञानको अस्तित्व र उपयोगितालाई त्यति महत्व नदिने पश्चिमाहरूले हालैका वर्षहरूमा भने परम्परागत ज्ञान र विज्ञानलाई एकअर्काका परिपूरकको रूपमा लिइरहेका छन्। जीवन र जगतलाई बुझ्न सँगै जानुपर्छ भन्ने मान्यताले प्राथमिकता पाउन थालेको छ।

अघिल्लो शताब्दीको नब्बेको दशकमा आधुनिक औषधि विज्ञानमा परम्परागत ज्ञानको निकै चर्चा भयो। खासगरी हार्वर्ड विश्वविद्यालयबाट दीक्षित पाउल आलान कक्स र मिसेल जे. बालिकका केही लेखहरूले आधुनिक औषधि विज्ञानमा परम्परागत ज्ञानको प्रयोग र योगदानलाई उजागर गरे।

यो पनि पढ्नुहोस्– गुणकारी वनस्पति गुर्जो

यसको श्रेय भने मानिस र वनस्पतिको अन्तरसम्बन्धको अध्ययन गर्ने वैज्ञानिक विधा ‘एथ्नोबोटनी’ अर्थात् ‘आदिवासी जनजाति वनस्पति विज्ञान’ लाई जान्छ।

विज्ञानको यो विधाले आदिवासी जनजाति लगायत स्थानीय समुदायले के कस्ता वनस्पतिलाई कुन कुन प्रयोजनमा कसरी प्रयोग गर्छन् भन्ने ज्ञानको अनुसन्धान र अभिलेखीकरण गर्छ जसलाई परम्परागत ज्ञान पनि भनिन्छ। यस्ता प्रयोग औषधि र खाद्यान्नको रूपमा तरकारी, फलफूल, तेल, रंग निकाल्ने लगायतका विभिन्न प्रयोजनमा हुनसक्छन्।

पुस्तान्तरण हुँदै आएका यस्ता पुख्र्यौली ज्ञानमा भने सामाजिक, आर्थिक परिवर्तनसँगै बढ्दो आधुनिकीकरण, शहरीकरण, खानपिन तथा रहनसहनमा परिवर्तन, आधुनिक औषधि उपचारमा पहुँच, बसाइँसराइ जस्ता कारणले नयाँ पुस्ताको रुचि घट्दो छ।

यी कारणहरूले गर्दा पाको पुरानो पुस्ता पनि आफूसँग भएको यस्तो ज्ञान हस्तान्तरण गर्न त्यत्ति इच्छुक देखिंदैनन्। त्यसो त आधुनिक शिक्षा प्रणालीमा परम्परागत ज्ञान उपेक्षित नै छ।

यस्ता अनुसन्धान र अभिलेखीकरण विश्वका विभिन्न जर्नलहरू (इकोनोमिक बोटानी, जर्नल अफ इथ्नोफार्मोकोलोजी आदि) मा प्रकाशित छन्।

यसरी गरिने अनुसन्धान, अभिलेखीकरण र प्रकाशन भने आदिवासी जनजाति लगायत स्थानीय समुदायको प्रत्यक्ष संलग्नता र सहभागितामा उनीहरूकै स्वीकृतिमा वैज्ञानिक नैतिकता र इमानदारीको कसीमा रहेर गर्नुपर्छ। 

आधुनिक औषधि आविष्कारको एक प्रमुख आधारमध्ये परम्परागत ज्ञानमा आधारित आविष्कारहरू छिटो र भरपर्दो हुने गरेका छन्। विश्वभर व्यापक रूपमा प्रयोग भएका कतिपय औषधिको आविष्कार पूर्ण रूपमा परम्परागत ज्ञानमा आधारित छ।

मलेरियाको उपचारमा प्रयोग हुनेमध्ये एक औषधि एन्डिज पर्वतको छेउछाउका देशहरू पेरु, बोलिभिया, इक्वेडर लगायतका देशहरूमा पाइने ‘सिंचोना प्यूब्सेन्स’ भन्ने वनस्पतिबाट निकालिएको ‘क्विनाइन’ नामक रसायनबाट उत्पादन गरिएको हो।

चित्र: आईयुसीएन

युरोपियनहरूले दाबी गरेजस्तो उनीहरूले पत्ता लगाएको नभएर यसको प्रयोग भने हालका पेरु, बोलिभिया, इक्वेडर लगायतका देशहरूमा बसोबास गर्ने आदिवासी जनजातिको ज्ञानमा आधारित रहेको छ।

ती आदिवासी जनजातिले यो वनस्पतिको प्रयोग उच्च ज्वरो आउँदा गर्थे जसको सूक्ष्म अध्ययन सत्रौं शताब्दीमा यी देशहरूमा पुगेका स्पेनिसहरूले गरेर औषधिको आविष्कार गर्ने चरणसम्म पुगे।

यही क्विनाइनमा आधारित भएर कृत्रिम रूपमा विकास गरिएको रसायनबाट बनेको ‘हाइड्रोक्सी–क्लोरोक्वाइन’ नामक औषधि कोभिड–१९ को उपचारमा प्रयोग गर्न सकिने कुरा अमेरिकी राष्ट्रपतिले बारम्बार गरे। जसको चर्चा अझै भइरहेको छ। 

क्विनाइनदेखि लिएर विश्वभर प्रयोग हुने ‘फिलिपेंदुला अल्मरिया’ नामक वनस्पतिमा आधारित एस्पिरिन होस् वा स्वास्थ्यवर्धक पेय पदार्थको रूपमा हालैका वर्षहरूमा प्रख्यात भएको रोबोइस् चिया होस् यिनीहरूको आविष्कार परम्परागत ज्ञानमा आधारित छ। औषधि विज्ञानमा यस्ता थुप्रै उदाहरण छन्।

आदिवासी जनजातिको यस्तो परम्परागत ज्ञानले वैज्ञानिकहरूलाई त्यही ज्ञानमाथि आधारित भएर थप अनुसन्धान गरी औषधि विकाससम्म पुग्न भरपर्दो आधार प्रदान गर्ने हुँदा औषधि अन्वेषणको काम छिटो र सस्तो हुने वैज्ञानिकहरूको दाबी छ।

यसरी परम्परागत ज्ञानले वैज्ञानिकहरूलाई महत्वपूर्ण सुराक दिन्छ। त्यसो त यस्तो ज्ञानमा आधारित भएर औषधि मात्र होइन शृङ्गारका सामग्री, खाद्य र पेय पदार्थहरूको समेत विकास भइरहेका छन्।

विगत केही दशकमा भएको रसायनशास्त्रको द्रूत विकासले प्राकृतिक रूपमा वनस्पतिमा आधारित औषधीय गुणहरूको खोज अनुसन्धानमा केही कमी आएको छ।

यी नयाँ प्रविधिले प्रयोगशालामा कृत्रिम रसायनको आविष्कारलाई सहज तुल्याइदिएको छ तर प्रकृतिमा आधारित औषधि र औषधीय गुण भएका अन्य उत्पादनमा पश्चिमा जगतकोे मोह भने बढ्दो छ। यसको कारण चाहिं यस्ता उत्पादनहरू प्राकृतिक हुन्छन्, नकारात्मक प्रभावहरू हुँदैनन् वा भए पनि न्यून हुन्छन् भन्ने विश्वासले गर्दा हो।

नेपालमा पनि शैक्षिक प्रयोजनको लागि परम्परागत ज्ञानको अध्ययन अनुसन्धान गर्ने कार्य तीव्र छ। यसरी गरिएका अध्ययन अनुसन्धानबाट १२०० भन्दा बढी औषधीय गुण भएका वनस्पतिहरूको पहिचान भएको छ।

परम्परागत ज्ञानको अध्ययन अनुसन्धानमा वनस्पतिशास्त्र, समाजशास्त्र र मानवशास्त्रका अध्येता र अनुसन्धानकर्मी संलग्न भएको पाइन्छ। यी विभिन्न विधाका अनुसन्धानकर्मी संयुक्त रूपमा लागे भने यस्तो अध्ययन अनुसन्धान कार्य पूर्ण हुने विश्वास पनि गरिन्छ।

हालैका वर्षहरूमा परम्परागत ज्ञानको अभिलेखीकरण गरी यसको व्यापारिक प्रयोग गर्दा यस्ता खोज तथा अनुसन्धान आदिवासी जनजाति लगायत स्थानीय समुदायको प्रत्यक्ष सहभागिता र सहमतिमा गर्नुपर्छ र उनीहरूको अधिकार स्थापित गर्दै प्राप्त लाभको न्यायोचित वितरण गर्नुपर्छ भन्ने मान्यता रहेको छ।

अन्तर्राष्ट्रिय रूपमा समग्र छलफल यही दिशातर्फ केन्द्रित छ। खासगरी जैविक विविधता महासन्धि र नागोया अभिसन्धि जस्ता अन्तर्राष्ट्रिय कानूनले यसतर्फ दिशानिर्देश गरेका छन्, जसको नेपाल पनि पक्षराष्ट्र हो।

प्रतिकृया दिनुहोस