टिप्पणी शुक्रबार, असार १२, २०७७

मिचाहा होइन, औषधि हो ज्याकाराण्डा

हिमालखबर

मिचाहा होइन, औषधि हो ज्याकाराण्डा
ज्याकाराण्डा । तस्वीर: बिक्रम राई

ज्याकाराण्डा जस्ता आयातित वनस्पति ठूलो परिमाणमा वृक्षरोपण गर्दा हाम्रा रैथाने वनस्पति र जैविक विविधतामा पर्न सक्ने नकारात्मक प्रभावलाई पनि नजिकबाट नियालिरहनु आवश्यक छ।

डा. यादव उप्रेती र डा. रामचन्द्र पौडेल

काठमाडौं उपत्यकाभित्रका केही मुख्य सडक र सरकारी कार्यालयका बगैंचामा वसन्त ऋतुको आगमनसँगै नीलो–वैजनी रंगका फूलहरूले ढकमक्क भएका रूखहरू देख्न पाइन्छ।

ज्याकाराण्डाका यी रूख र तिनका फूल काठमाडौं उपत्यकाको सौन्दर्यको पर्याय भइसकेका छन् । कतिसम्म भने यो फुल्ने समय सकिइसकेपछि पनि हाम्रो मानसपटलबाट यसको आकर्षक दृश्य अझै हराएको छैन ।

ज्याकाराण्डा जातिका ४८ वटा प्रजातिहरू छन् (‘वल्र्ड फ्लोरा अनलाइन डाटावेश’) । त्यसमध्ये नेपालमा पाइने ‘ब्लू ज्याकाराण्डा’ को वैज्ञानिक नाम ‘ज्याकाराण्डा मिमोसिफोलिया’ हो ।

यसैगरी ‘ग्लोबल बायोडाइभर्सिटी इन्फरमेसन फ्यासिलिटी डाटावेश’ अनुसार हालसम्म विश्वका लगभग ४५ देशका करीब १२ हजार ८४ स्थानहरूमा यो प्रजातिको वनस्पति अभिलेखीकरण भइसकेको छ । प्रायः ज्याकाराण्डाको नामले चिनिने यस वनस्पतिलाई काठमाडांैमा वीरेन्द्र फूल पनि भनिन्छ ।

ज्याकाराण्डा जातिका ४८ वटा प्रजातिहरू छन् (‘वल्र्ड फ्लोरा अनलाइन डाटावेश’) । त्यसमध्ये नेपालमा पाइने ‘ब्लू ज्याकाराण्डा’ को वैज्ञानिक नाम ‘ज्याकाराण्डा मिमोसिफोलिया’ हो ।

ज्याकाराण्डा दक्षिण अमेरिकी देशहरूबाट अन्यत्र फैलिएको मानिन्छ । संसारका विभिन्न शहरी क्षेत्रहरूमा सडक सौन्दर्य बढाउन ज्याकाराण्डा रोप्ने गरिन्छ । दक्षिण अफ्रिकाको प्रिटोरिया शहरको सार्वजनिक पार्क र सडक किनारामा ज्याकाराण्डा यति व्यापक छ कि यो शहरको नाम नै ‘ज्याकाराण्डा सिटी’ रहेको छ । त्यस्तै अस्ट्रेलियाका विभिन्न शहरमा वर्षैपिच्छे ज्याकाराण्डा महोत्सव नै आयोजना गरिन्छ ।

नेपालमा ज्याकाराण्डा कहिले भित्रियो भन्ने यकिन नभए पनि राणाकालीन समयमा बगैंचाको सौन्दर्य बढाउन दार्जीलिङबाट भित्र्याइएको अनुमान गरिन्छ ।

सिंहदरबार गेट अगाडि फुलेकाे ज्याकाराण्डा । तस्वीरहरु: मनीष पाैडेल

नेपालका वनस्पतिहरूका बारेमा आधिकारिक तथ्य प्रदान गर्ने निकाय वनस्पति विभागले २०३३ सालमा प्रकाशन गरेको ‘क्याटलग अफ भास्कुलर प्लान्ट्स’ ले ज्याकाराण्डा मिमोसिफोलियालाई नेपालमा बाहिरबाट भित्र्याइएको वनस्पतिका रूपमा उल्लेख गरेको छ ।

सोही विभागले काठमाडाै‌ उपत्यकाभित्रका वनस्पतिहरूको विस्तृत विवरण समेटेर पछि प्रकाशन गरेको ‘फ्लोेरा अफ काठमाडौं भ्याली’ मा भने यसलाई समेटिएको छैन । यो वनस्पति काठमाडौं उपत्यकामा प्राकृतिक रूपमा नपाइने भएकाले त्यसो गरिएको अनुमान पनि गर्न सकिन्छ ।

नेपालका वनस्पतिहरूका बारेमा आधिकारिक तथ्य प्रदान गर्ने निकाय वनस्पति विभागले २०३३ सालमा प्रकाशन गरेको ‘क्याटलग अफ भास्कुलर प्लान्ट्स’ ले ज्याकाराण्डा मिमोसिफोलियालाई नेपालमा बाहिरबाट भित्र्याइएको वनस्पतिका रूपमा उल्लेख गरेको छ ।

समयक्रमसँगै ज्याकाराण्डा काठमाडौं उपत्यकाका सडक छेउ र सरकारी कार्यालय परिसरमा शहरी हरियाली प्रवद्र्धन गर्न उपयोग गरिएको छ ।

यो पनि पढ्नुहोस्– गुणकारी वनस्पति गुर्जो

यो सामग्री तयार गर्ने क्रममा उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालय परिसर लगायतका केही स्थानहरू भ्रमण गरी हेर्दा रूखबाट बीउ झरेर आक्कलझुक्कल बाहेक बिरुवा उम्रेको देखिएन । यसले के जनाउँछ भने ज्याकाराण्डा नेपालमा प्राकृतिक रूपमा फैलिसकेको छैन ।

विगतमा भारतबाट ल्याएर रोपिएका बिरुवा काठमाडौंमा हुर्काउन नसकिएको अनुभव पनि यहाँका नर्सरी व्यवसायीहरूले सँगालेका छन् । नर्सरीमा बिरुवा उत्पादन गर्न जेठको तेस्रो सातासम्ममा रूखबाट बीउ संकलन गर्नुपर्ने हुन्छ । वैज्ञानिक अनुसन्धानले ज्याकाराण्डाको बीउ १० देखि ४० डिग्री सेल्सियस तापक्रममा राम्रोसँग उम्रिने देखाएको छ ।

ज्याकाराण्डा । 

हालैका वर्षहरूमा काठमाडौं उपत्यकाका केही निजी नर्सरीहरूले उत्पादन गरेका बिरुवा साँगा, मातातीर्थ, फर्पिङ लगायतका स्थानहरूमा रोपिएका छन् । यसका बिरुवाको उत्पादन थोरै मात्रामा वन कार्यालयका नर्सरीहरूले पनि गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्– हरित उपत्यका महात्म्य

उपत्यका बाहिर पोखरा, विराटनगर लगायतका शहरी क्षेत्रमा पनि ज्याकाराण्डाका बिरुवा रोपिएका छन् । पछिलो समय विस्तारित रिङरोडको छेउमा रोपिएका बिरुवाहरूमध्ये ज्याकाराण्डा निकै फस्टाएका छन् ।

यो वनस्पति प्रायः सबै खालको माटोमा छिटो हुर्कन र झाङ्गिन सक्ने प्रकृतिको हुँदोरहेछ भन्ने देखिन्छ । नेपालका सन्दर्भमा यहाँको हावापानी र भौगोलिक अवस्थितिका कारण ज्याकाराण्डा मिचाहा प्रवृत्तिको वनस्पति भने होइन । यद्यपि दक्षिण अफ्रिका र अस्ट्रेलियाका केही भागमा यो वनस्पतिलाई मिचाहा प्रवृत्तिको वनस्पति नै मानिन्छ । पुनरुत्पादन हुन केही विशिष्ट अवस्था मिलेकाले त्यस्तो भएको हुनसक्छ ।

पतझड प्रजातिको यो वनस्पति फुल्दा यसका फूलहरूले रूखलाई ढपक्कै ढाकिदिन्छन् । हाँगाहरू तेर्सिएर फिजिने भएकाले यसका बोटहरूले गर्मीमा छायाँ दिएर बटुवाहरूलाई शीतलता प्रदान गर्छन् । ज्याकाराण्डा फूलले शहरको वातावरण पनि औधी मनमोहक बनाइदिन्छ ।

ज्याकाराण्डा वनस्पति प्रायः सबै खालको माटोमा छिटो हुर्कन र झाङ्गिन सक्ने प्रकृतिको हुँदोरहेछ भन्ने देखिन्छ । नेपालका सन्दर्भमा यहाँको हावापानी र भौगोलिक अवस्थितिका कारण ज्याकाराण्डा मिचाहा प्रवृत्तिको वनस्पति भने होइन । यद्यपि दक्षिण अफ्रिका र अस्ट्रेलियाका केही भागमा यो वनस्पतिलाई मिचाहा प्रवृत्तिको वनस्पति नै मानिन्छ ।

यस वनस्पतिका मसिना पातहरू साना–साना हाँगाहरूमा दुवैतिर पलाउने गर्छन् । पातको स्वरुप एकै प्रकारको हुँदा मानिसहरू कहिलेकाहीं ज्याकाराण्डालाई शिरीष भनिरहेका हुन्छन् । ज्याकाराण्डा र शिरीष भने बिल्कुलै फरक परिवारका वनस्पति हुन् । ज्याकाराण्डा विग्नोनिएसी र शिरीष फाबेसी परिवार अन्तर्गत पर्छन् ।

यिनीहरूको फूलको बनोट पनि निकै फरक प्रकृतिको हुन्छ । यी दुवै प्रजातिका वनस्पतिको फूलको बनावटमा प्रष्ट भिन्नता देख्न सकिन्छ । नेपालमा शिरीषका विभिन्न प्रजातिहरू पाइन्छन् । शिरीष उपोष्ण हावापानी हुने क्षेत्रको रैथाने प्रजातिको वनस्पति हो ।

यो पनि पढ्नुहोस्– ज्याकामाण्डु काठमाण्डु

दक्षिण अफ्रिकामा गरिएको अनुसन्धानले ज्याकाराण्डा वायु प्रदूषण मापनको सूचकको रूपमा पनि प्रयोग गर्न सकिने देखाएको छ, जुन हाम्रो लागि पनि सान्दर्भिक हुनसक्छ ।

नारायणप्रसाद मानन्धरद्वारा लिखित ‘प्लान्ट एण्ड पिपुल अफ नेपाल’ पुस्तक अनुसार ज्याकाराण्डाको बोक्रा उमालेर खाए भिरिङ्गी रोग निको हुन्छ । काटेको घाउमा यसका पातको लेप लगाउँदा प्रभावकारी भएको पनि पुस्तकमा उल्लेख छ । यसबाट यो वनस्पतिमा विभिन्न औषधीय गुण समेत रहेको पुष्टि हुन्छ ।

नारायणप्रसाद मानन्धरद्वारा लिखित ‘प्लान्ट एण्ड पिपुल अफ नेपाल’ पुस्तक अनुसार ज्याकाराण्डाको बोक्रा उमालेर खाए भिरिङ्गी रोग निको हुन्छ । काटेको घाउमा यसका पातको लेप लगाउँदा प्रभावकारी भएको पनि पुस्तकमा उल्लेख छ ।

स्वास्थ्य सम्बन्धी जानकारी दिने पोर्टल हेल्थ बेनिफिट्स टाइम्स डटकमले एमोइबाका कारणले हुने झाडापखाला, भिरिङ्गी, हेपाटाइटिस (कलेजो सुन्निने रोग), छाला सम्बन्धी संक्रमण, ब्याक्टेरियाबाट भएको संक्रमण, गनोरिया आदि समस्या हुँदा यस वनस्पतिको उपयोग गर्न सकिने उल्लेख गरेको छ ।

यस्ता विविध विशेषता भए तापनि नेपालको हकमा ज्याकाराण्डा व्यापक मात्रामा रोपिरहँदा भने यसको उचित व्यवस्थापनमा त्यत्तिकै ध्यान पुर्याउनु आवश्यक छ ।

(जैविक विविधता विज्ञद्वय डा. उप्रेती डब्लुडब्लुएफ नेपाल र डा. पौडेल नास्टमा कार्यरत छन् ।)

प्रतिकृया दिनुहोस