कला/साहित्य आइतबार, असार २८, २०७७

आधा बजेटमै न्यातपोल मन्दिरको जीर्णोद्धार सम्पन्न, ४१ सय बढी नगरवासीले गरे श्रमदान

हिमालखबर

आधा बजेटमै न्यातपोल मन्दिरको जीर्णोद्धार सम्पन्न, ४१ सय बढी नगरवासीले गरे श्रमदान
तस्वीरहरु: माेनिका देउपाला

भक्तपुरस्थित ऐतिहासिक पाँचतले न्यातपोल मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ।

फागुनदेखि शुरु भएको जीर्णोद्धारको काम बन्दाबन्दीले बीचमा करीब एक महीना रोकिएपछि वैशाखदेखि पुनः शुरु भएको थियो।

जीर्णोद्धारको अनुमानित लागत भन्दा आधा कम बजेटमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

जीणाेद्धारपछिकाे मन्दिर । तस्वीर: भक्तपुर नगरपालिका

सम्पदा पुनर्निर्माणमा स्थानीय उपभोक्ता समिति परिचालन गर्दै आएको नगरपालिकाले न्यातपोलको जीर्णोद्धारका लागि रु. ६५ लाख १३ हजार बजेट छुट्याएको थियो । तर, नगरबासीको श्रमदानले गर्दा करीब २९ लाखमा सम्पन्न भएको उपप्रमुख रजनी जोशीले जानकारी दिइन्।

भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले भनिन्, “यो राष्ट्रिय गौरव र विश्वकै महत्वपूर्ण सम्पदा हो, बीचमा लकडाउनले केही समय असर गर्‍यो । वर्षा शुरु भएपछि वर्षाले क्षति पुर्‍याउन सक्ने भएकाले सामाजिक दूरी कायम राख्दै काम अघि बढायौं र समयमा नै पुनर्निर्माण सम्पन्न गर्न सफल भयौं।”

मन्दिरको जीर्णोद्धार गर्ने क्रममा ४१ सय बढी नगरबासीले श्रमदान गरेका छन् । बन्दाबन्दीले समस्यामा परेका मजदुरहरुलाई पनि पारिश्रामिक दिएर मन्दिर जीर्णोद्धारमा सहभागी गराइएको उपप्रमुख जोशीले बताइन्।

जीणोद्धारका लागि रु १२ लाख बढी रकम जुटेको छ । सहयोग गरेकाहरुको नामावली नगरपालिकाले वेबसाइटमा सार्वजनिक गरेको छ। त्यस्तै कतिपयले निर्माण सामग्री समेत सहयोग गरेका छन्।

३१७ वर्ष पुरानो यो मन्दिर १२ वैशाख २०७२ मा आएको भूकम्पले क्षति पुर्‍याएको थियो । १०८ फिट अग्लो यो मन्दिर नेपाल सम्वत ८२२ मा राजा भूपतीन्द्र मल्लले निर्माण गरेका थिए । वि.सं २०१९ मा र २०५६ मा मन्दिरको जीर्णोद्धार भएको उपप्रमुख जोशीले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस