टिप्पणी विहीबार, असार ११, २०७७

बिफर महामारीले हल्लाएको काठमाडौंको सत्ता

हिमालखबर

बिफर महामारीले हल्लाएको काठमाडौंको सत्ता
सन् १९६४ मा बिफर संक्रमित आफ्नो बच्चा बोकिरहेकी एक महिला । तस्वीर: डब्लूएचओ

नेपालको आग्रहमा अंग्रेजहरुले बनेपाबाट खोप लगाउन आरम्भ गरे । उनीहरुले कतिलाई खोप लगाए, ठ्याक्कै भन्न कठिन छ तर यो चाहिं निश्चित छ कि यो खोप राजा गीर्वाणले भने लगाएका थिएनन् ।

टम रबर्टसन

बिफर भाइरसले नेपालीलाई १९ औं र २० औं शताब्दीको सुरुवातसम्म त्रस्त बनायो। इतिहासकार सुसान हेइडनको हालैको निबन्ध ‘डेथ अफ द किङ’मा लेखेकी छिन्, ‘बिफरले धनी र गरीब दुवै परिवारलाई भयानक वैयक्तिक र राजनीतिक परिणामका साथ नष्ट गरिदियो।’

सन् १७९० को अन्त्यतिर काठमाडौं उपत्यकामा बिफर देखा पर्‍यो । यसको प्रकोप बारे साह्रै थोरै मात्र थाहा पाइएको छ तर त्यो त्यस्तो समय थियो, जब उपत्यकाका शहरहरु तीनदशक पहिले पृथ्वीनारायण शाहले जितेपछि भर्खरै मात्र बौरिन थालेका थिए। काठमाडौंको जनसंख्या सडकमै बसेर काम गर्थे, यसबारे एक बेलायती आगन्तुकले काठमाडौंलाई ‘अत्यन्त साँगुरो र करीब करीब बनारसझैं फोहोर’ भनी वर्णन गरेका छन्।

सन् १७९९ मा राजा रणबहादुर शाहकी प्रिय पत्नी कान्तिवती बिफरले ग्रस्त भइन्, यसले थुप्रै घटनाहरुलाई प्रज्ज्वलित गर्दै राजनीतिलाई नयाँ आकार दियो । आफ्नी पत्नी गम्भीर बिरामी भएको देखेर रणबहादुरले आफूलाई समर्पित गरे। सिंहासनसमेत त्यागिदिए र उनका दुई वर्षे छोरा गीर्वाणलाई सत्तामा आसीन गराए।

सन् १७९९ मा राजा रणबहादुर शाहकी प्रिय पत्नी कान्तिवती बिफरले ग्रस्त भइन्, यसले थुप्रै घटनाहरुलाई प्रज्ज्वलित गर्दै राजनीतिलाई नयाँ आकार दियो । आफ्नी पत्नी गम्भीर बिरामी भएको देखेर रणबहादुरले आफूलाई समर्पित गरे। सिंहासनसमेत त्यागिदिए र उनका दुई वर्षे छोरा गीर्वाणलाई सत्तामा आसीन गराए।

तर, उनले गरेका प्रयासहरु सार्थक भएनन्— कान्तिवती यही रोगको शिकार भइन् । पत्नीशोकले व्याकुल अनि क्रुद्ध भएका रणबहादुरले स्वयम्भूमा रहेको हारतीमाता (शीतला देवी) को मन्दिर समेत भत्काइदिए।

रणबहादुरले बिफरले छोएका बालबालिकालाई पूर्वमा तामाकोशी र पश्चिममा मर्स्याङ्दी पारी लैजान आदेश दिए । त्यसवेला धेरै नेवार परिवारले बालबालिकासहित उपत्यका छाड्नु परेको थियो । यसले एउटा परम्परागत नेवारी गीत ‘शीतलामाजु माई’ सम्झाउँछ । यो गीतमा ‘माता शीतला’ भनी बिफरकी देवीलाई सम्बोधन गरिएको छ।

‘हे माता शीतला’ भन्दै गीतको पहिलो हरफले ‘हेर तिम्रा भक्तहरुको दयनीय अवस्था नियाल ! सैनिकले घेरेर राखिएका यी बालबालिकालाई देशबाहिर निकालिंदैछ’ भन्ने भाव व्यक्त गरेको छ।

यो पनि पढ्नुस्– रुकुम हिंसाले सम्झाएको अमेरिकी 'प्रेम दिवस'

गीतमा यो रोगका विभिन्न चरणहरु वर्णन गरिएको छ, जसमा अधिकांश नेपाली परिवारको कथा छ । गीतकै माध्यमबाट तीन विभिन्न देवताहरुको आह्वान पनि गरिएको छ। ‘हामी माता कछलाको प्रार्थना गर्दछौं, जसले बिफरका फोका (घाउ) उठाउँछिन्, शीतला माता जसले तिनमा पानी भर्छिन्, र माता बछला जसले बिरामीलाई हेरचाह गर्छिन्।

सन्तानसहित उपत्यका छाड्नु परेका ती अभिभावकको दुःख हृदयविदारक थियो । एउटा सन्तानलाई ढाडमा राख्ने, अर्कोलाई पाखुराले च्याप्ने अनि तेस्रोलाई हातले तानिरहेको दृश्य पनि वर्णन गरिएको छ ।

एक सातापछि ती परिवार तामाकोशी किनारमा पुगे । त्यहींनेर एक बालकको मृत्यु भयो । तर, बालकको दाहसंस्कार गर्नसमेत उनीहरुसँग आवश्यक सरजाम थिएन । पीडाले आहत अभिभावकले शव नदीमै फ्याँकिदिए।

शाह शासनले उपत्यका कब्जा गरेपछि स्थानीयले सामना गरेका दुर्व्यवहार, दुःख र परिवार नै निष्कासन गर्दाको पीडा ‘शीतलामाजु माई’ गीतमा पढ्न सकिन्छ ।

कोभिड–१९ का कारण कार्यस्थलबाट विस्थापित भएर आफ्नै गाउँघरतिर फर्किरहेका भुक्तभोगीहरुले गीतमा धेरै आप्रवासी नेपाली मजदुरले सामना गर्नुपरेका कठिनाइलाई प्रस्तुत गरेको टिप्पणी गरेका छन्।

सन् १८१६ मा पुनः बिफर फैलियो । यसले नेपालको दरबारभित्र फेरि शक्ति संघर्ष चर्कियो । भीमसेन थापाको हातमा शक्ति थियो तर उनका लागि २१ वर्षका राजा गीर्वाण एउटा खतरा थिए।

सन् १८१६ मा पुनः बिफर फैलियो। यसले नेपालको दरबारभित्र फेरि शक्ति संघर्ष चर्कियो । भीमसेन थापाको हातमा शक्ति थियो तर उनका लागि २१ वर्षका राजा गीर्वाण एउटा खतरा थिए।

यो रोग पहिलो पटक देशको पश्चिमी भागमा देखिएको थियो तर जुलाईसम्ममा काठमाडौंमै आइपुग्यो । इतिहासकार विक्रम हसरतले अभिलेखीकरण गरेझैं ‘बिफरले सयौं, हजारौं पुरुष, महिला, बालबालिका, बूढाबूढी र युवालाई सोत्तर बनाइदियो । खोला, ताल र नहरहरुमा मर्न लागेका र निधन भएकाहरुको शव थुप्रियो । सडकमा जसैतसै मान्छेसम्म हिंड्न सक्ने ठाउँ मात्र थियो । कुकुरले यत्रतत्र छरिएका लासहरु घिस्याउँदै लान्थे । मानिसको मासु अमन हुने गरी खाएर गिद्दहरु पनि मरेका थिए ।’

यो पनि पढ्नुस्– देवीको अवतार मानिन्थ्यो बिफर

झापाको शनिश्चरेमा एक व्यक्तिलाई बिफरको खोप दिंदै स्वास्थ्यकर्मी । तस्वीर: बेथ प्रिन्टिस र बब फ्रांक

राजा गीर्वाणलाई भने रोगले छोएको थिएन। उनका दुई सन्तान थिए । दरबारका अधिकारीहरुले बेलायतीहरुसँग खोप लगाइदिन अनुरोध गरे, जसले एक दशक अघिदेखि भारतमा त्यस्तो खोपको अभ्यास गरिरहेका थिए।

इतिहासकार हेइडनका अनुसार बेलायतीहरुले सम्भावित राजनीतिक लाभका बारेमा समेत सोचेका थिए । काठमाडौंस्थित बेलायती प्रतिनिधि एडवर्ड गार्डनरले १७ जुलाईमा भारतस्थित आफ्ना वरिष्ठ अधिकारीलाई लेखेका थिए, ‘खोप लगाउन थाल्नु मानवीय कार्य मात्र होइन, राजा र अदालतका अधिकारीहरुले समेत हामीबाट खोप लगाउन चाहिरहेको हुन पनि सक्छ।’

राजा गीर्वाणलाई भने रोगले छोएको थिएन । उनका दुई सन्तान थिए । दरबारका अधिकारीहरुले बेलायतीहरुसँग खोप लगाइदिन अनुरोध गरे, जसले एक दशक अघिदेखि भारतमा त्यस्तो खोपको अभ्यास गरिरहेका थिए।

बेलायतीहरु बनेपाबाट खोप लगाउन आरम्भ गरे । उनीहरुले कतिलाई खोप लगाए, ठ्याक्कै भन्न कठिन छ तर यो चाहिं पक्का हो कि राजा गीवार्णले भने खोप लगाएका थिएनन् ।

अक्टोबरको अन्त्यतिर राजाका दुवै सन्तानमा ज्वरो र बिमिराहरु देखिए । २ नोभेम्बरमा एकजनाको निधन भयो । उनका अर्का छोरालाई पनि यो रोग लागेको थियो ।

दुई सातापछि १८ नोभेम्बरमा गार्डनरले थाहा पाए– दुर्भाग्यवश राजा गीवार्णलाई पनि बिफर सरिसकेछ । त्यसको दुई दिनपछि नै उनको मृत्यु भयो ।

याे पनि हेर्नुहाेस्– बिफरको महामारीः देवी खुशी पार्न चक्कुले घाउ पारिन्थ्यो



विहान सबेरै पशुपतिनाथको मन्दिर पुग्ने राजाले त्यहीं ११ बजे विहान अन्तिम सास फेरे । हिन्दु परम्पराअनुसार उनको दाह संस्कार गर्न तीव्र तयारी भइरहेको थियो । गीर्वाणकी जेठी रानी सिद्धिराज्य लक्ष्मी परम्पराअनुसार आफ्ना पतिको चितामा होमिइन् । गार्डनरले राजाको मृत्यु रोक्न नसकेकोमा खेद व्यक्त गरे ।

अर्का राजकुमार भने सद्दे भए । गीर्वाणको मृत्यु, रानी त्रिपुरासुन्दरीको सत्तारोहण र युवा राजाको शासनले भीमसेन थापालाई सत्तामा आफ्नो पकड जमाउन सजिलो भयो ।

हेइडनका अनुसार अघिल्लो शताब्दी र पछिल्लो शताब्दीको आधासम्म पनि बिफरले नेपालमा दुःख दिइरह्यो । हरेक वसन्त ऋतुमा मानिसहरु रोग नलागोस् भनेर प्रार्थना गर्दथे तर समयसमयमा महामारी फैलिइरह्यो । उदाहरणका लागि एक पर्यवेक्षकले सन् १८८५ मा पूर्वी नेपालको खुम्बुक्षेत्रका धेरै स्थानीयलाई बिफर लागेको उल्लेख गरेका छन् ।

याे पनि हेर्नुहाेस्– १०० वर्ष पुरानो महामारीकाे सम्झना

त्यसबेलासम्म नेपालमा छिटफुट रुपमा मात्र खोप लगाइन्थ्यो, सरकारी प्रयास पनि कमजोर थियो । मध्य शताब्दीमा काठमाडौंस्थित बेलायती चिकित्सक हेनरी ओल्डफिल्डले उल्लेख गरेका छन्– जंगबहादुर राणाले खोप लगाए निको हुन्छ भनेर ठूलो विश्वास देखाए । यद्यपि उनले धेरै थोरैलाई मात्र खोप लगाएका थिए । सन् १९२० को दशकमा बेलायती पत्रकार पर्सिभल ल्यान्डनले भनेका छन्– खोप अनिवार्य छैन, तर लाभ उठाउन चाहनेहरु खोप लगाउन स्वतन्त्र छन् ।

नेपालीहरुले खोप किन लगाएनन् भन्नेबारेमा धेरै कारण औंंल्याइन्छ । केही मानिस, विशेष गरी नेवारी र तराईवासीले खोप मन पराएनन् । सबैभन्दा ठूलो समस्या चाहिं के थियो भने राणा शासकले खोपलाई व्यापक रुपले उपलब्ध गराउन वा प्रवद्र्धन गर्न यथेष्ट प्रयास नै गरेनन् ।

मध्य शताब्दीमा काठमाडौंस्थित बेलायती चिकित्सक हेनरी ओल्डफिल्डले उल्लेख गरेका छन्– जंगबहादुर राणाले खोप लगाए निको हुन्छ भनेर ठूलो विश्वास देखाए । यद्यपि उनले धेरै थोरैलाई मात्र खोप लगाएका थिए।

यस विपरीत भारतमा २० औं शताब्दीको शुरुमै अंग्रेज शासकले खोपको जग बसालिसकेका थिए । मद्रास र देशका अन्य भागमा लाखौं आम भारतीयलाई खोप लगाउन शुरु गरिएको थियो । अंग्रेजहरुले सन् १९४७ मा भारत छाडे । त्यस वेलासम्म २ करोड १३ लाख भारतीयले खोप लगाइसकेका थिए ।

यो पनि पढ्नुस्– नेपालमा बिफरको बृहत् कथाः 'तीनमध्ये एकजनाको ज्यान लिएको थियो'

भारतको यात्रा गर्ने, त्यहाँ अध्ययन गर्ने र ब्रिटिश सेनामा सेवा गर्ने गोर्खालीहरुले राणा शासनले नेपालमा कस्तो न्यून स्वास्थ्य सेवा उपलब्ध गराएका रहेछन् भन्ने देखेका थिए । नागरिकको स्वास्थ्य र भलाइबारे चासो नदेखाएकाले पनि राणाशाही विरुद्ध चलिरहेको आन्दोलनलाई बल पुग्यो ।

सन् १९५१ को क्रान्तिपछि नेपालमा बनेका सरकारहरुले लगातार शहर र गाउँहरुमा आधुनिक स्वास्थ्य सेवा प्रणाली स्थापना गर्ने प्रयत्न गरिरहेका छन् । सन् १९५९ मा अमेरिका र विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रव्यापी मलेरिया उन्मूलन र अन्य रोग नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गरिए। काठमाडौं उपत्यकाका लागि बिफर उन्मूलन कार्यक्रम सन् १९६१ मा शुरु गरिएको थियो।

सन् १९५१ को क्रान्तिपछि नेपालमा बनेका सरकारहरुले लगातार शहर र गाउँहरुमा आधुनिक स्वास्थ्य सेवा प्रणाली स्थापना गर्ने प्रयत्न गरिरहेका छन् । सन् १९५९ मा अमेरिका र विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रव्यापी मलेरिया उन्मूलन र अन्य रोग नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गरिए। काठमाडौं उपत्यकाका लागि बिफर उन्मूलन कार्यक्रम सन् १९६१ मा शुरु गरिएको थियो, सन् १९६६ मा राष्ट्रव्यापी अभियान पनि सञ्चालन गरियो ।

नेपालीहरुलाई शताब्दी अघिदेखि नै कष्ट दिँदै र राजनीतिलाई समेत नयाँ आकार दिँदै आएको बिफर नेपालबाट सन् १९७५ देखि उन्मूलन भयो । यो एउटा बिर्सनै नसकिने सफलताको कथा हो । यो सशक्त कर्मचारीतन्त्रको कथा हो । त्यस्तै यो प्रभावकारी, विज्ञानपरक कार्य र दृढतासाथ कार्यान्वयन गरिएको कार्यक्रमको सफलताको कथा पनि हो ।

(यो नेपालमा रोगको इतिहास सम्बन्धी आलेखको तेस्रो खण्ड हो । रबर्टसन काठमाडौं उपत्यकाको वातावरणीय इतिहाससम्बन्धमा अनुसन्धान गरिरहेका छन् ।)

प्रतिकृया दिनुहोस