टिप्पणी शुक्रबार, जेठ ३०, २०७७

रुकुम हिंसाले सम्झाएको अमेरिकी 'प्रेम दिवस'

हिमालखबर

रुकुम हिंसाले सम्झाएको अमेरिकी 'प्रेम दिवस'
लभिङ दम्पति । तस्वीरःयुएसए टुडे र रुकुम घटनामा मारिएका नवराज विक। तस्वीरःरासस

गोरा र कालाजाति बीचको विवाहले कानूनी मान्यता पाएको आजको दिन (१२ जून) मा अमेरिकामा ‘लभिङ डे’ अर्थात् प्रेम दिवस मनाइँदैछ । आशा गरौं, रुकुम हिंसाका कारण प्रेमको हार भएको नेपालले पनि भर्जिनियाको त्यो घटनाबाट पाठ सिक्नेछ।

टम रबर्टसन

२३ मेमा जाजरकोटका नवराज विक र उनका चार साथी मारिएको समाचार आयो । समाचार अनुसार, नवराज मल्ल थरकी किशोरीसँग प्रेम गर्थे र विवाह पनि गर्न चाहन्थे । प्रेमिकाको आग्रहमै उनलाई भगाएर विवाह गर्न भनी उनी आफ्ना १८ जना साथीसहित किशोरीको घर रुकुम गए ।

तर, यो सपनाको नतिजा हिंसा बनेर आयोे । किशोरीका गाउँका एक समूहले युवाहरुको समूहलाई लखेट्यो। भोलिपल्ट नवराज र टीकाराम सुनारको शव भेरी नदी किनारमा भेटियो । हराइरहेका बाँकी चार जनाको शव पनि एकपछि अर्को गर्दै नदीमै फेला पर्‍यो ।

२६ मेमा प्रहरीले २० जना अभियुक्त विरुद्ध हत्याको उजुरी दर्ता गर्‍यो । अहिले अनुसन्धान जारी छ । जातीय द्वेषका कारण प्रेम पराजित भएको यो पछिल्लो असाध्यै दुखद घटना हो।

'लभिङ डे’

मेरो देश अमेरिकामा पनि फरक नश्लसमूह बीचको प्रेमविरुद्ध भेदभावपूर्ण र हिंसात्मक अन्यायको त्रासदीपूर्ण इतिहास छ । धेरै वर्षसम्म फरक नश्लसमूहका केटाकेटी बीचको विवाह गैरकानूनी थियो, गोरा र काला (वा अन्य फरक समूह) बीचको सम्बन्धलाई कानूनले नै निषेध गर्थ्याे।

तर, आज १२ जूनको दिनले हामी अमेरिकीलाई एउटा फरक र विशेष इतिहासको सम्झना दिलाउँछ । सन् १९६७ को यही दिन भर्जिनिया राज्यमा प्रेमले कानूनी विजय प्राप्त गरेको थियो । अमेरिकी सर्वोच्च अदालतले विवाहसम्बन्धी विभेदका ती कानूनहरु खारेज गरेको थियो । त्यसैले आजको दिनलाई अमेरिकामा ‘लभिङ डे’ अर्थात् प्रेम दिवसका रुपमा मनाइन्छ।

लभिङ दम्पति । तस्वीरःयुएसए टुडे

आजसम्म यो दिनलाई विशेष बनाउने पात्र थिए, मिल्ड्रेड जेटर र रिचर्ड लभिङ।

मिल्ड्रेड र रिचर्ड वासिङ्गटन डीसी दक्षिण भर्जिनियास्थित पहाडको सानो बस्तीमा सँगै हुर्केका थिए । सुर्तीजन्य पदार्थको उत्पादनमा आधारित भर्जिनियाको अर्थतन्त्रमा सन् १६२० देखि १८६० को दशकको गृहयुद्धसम्म दासप्रथा कायम थियो । मिल्ड्रेड र रिचर्डको परिवार पुस्तौंदेखि यहीं बस्थे।

सन् १९५८ को जून महीनामा मिल्ड्रेड र रिचर्डले प्रेम विवाह गरे । विवाहको ५ सातापछिको एक दिन राति २ बजे उनीहरुको घरभित्र प्रहरी पस्यो । र, यी नवदम्पतीलाई ‘भर्जिनियाको अन्तरजातीय विवाह रोक्ने नश्लीय अखण्डता कानून’ उल्लंघन गरेको अपराधमा एक वर्षको कैद वा २५ वर्षको राज्यनिकाला मध्ये एउटा सजाय रोज्न भनियो ।

रिचर्ड गोरा थिए, मिल्ड्रेड जेटर अफ्रिकी–अमेरिकी र अमेरिकी आदिवासीकी अश्वेत सन्तान थिइन् ।

एकअर्कालाई छाडेर जेल बस्नुभन्दा पुस्तौंदेखिको बस्ती छाड्ने विकल्प उनीहरुले छाने । कुम्लोकुटुरो बोकेर वासिङ्गटन डीसी बसाइँ सरे।

कुनै समय अमेरिकाका ४० राज्यहरुमा अन्तरजातीय विवाह प्रतिबन्धित कानूनहरु थिए, जुन १९६० को मध्यसम्म पनि १५ राज्यमा कायमै थियो । यी राज्यहरुमध्ये अधिकांश गृहयुद्धबाट प्रभावित थिए।

मेरील्याण्ड राज्यले सन् १६६१ मा अन्तरजातीय विवाह विरुद्धको पहिलो कानून बनायो । त्यसको अर्काे वर्ष भर्जिनियाले पनि यसलाई पछ्यायो । त्यतिबेला यूरोपेली बसोवास शुरु भएको केही दशकमात्र भएको थियो । सुर्तीजन्य पदार्थ खेतीको कठोर कामको लागि अफ्रिकी दासहरुको प्रयोग बढ्दै थियो । गोराहरुको सर्वाेच्चता फैलदैं थियो।

कालाविरुद्धको दासत्व अरु २०० वर्ष थपिएर १८६० को दशकको गृहयुद्धसम्म कायम रह्यो । गोरा पुरुषहरु काला दासीहरुसँग यौनसम्बन्ध राख्थे । बलात्कार त सामान्य थियो । यी सम्बन्धबाट जन्मिएका सन्तान गोरा वा मिश्रित नभनिएर कानूनतः दास नै मानिन्थे।

मिल्ड्रेड र रिचर्ड लभिङ। तस्वीरः बीबीसी वल्र्ड सर्भिस

१८६५ मा गृहयुद्ध समाप्त भएपछि केही दक्षिणी राज्यहरुमा दासत्व हटे पनि गोराहरुको वर्चस्व चाहनेहरुले गोरा र काला अलग रहनुपर्ने कानून बनाए र त्यो थप एक शताब्दीसम्म रहिरह्यो । अदालत, रेलमार्ग र नाचघरहरुमा गोरा र काला जातिका लागि छुट्टाछुट्टै शाखा हुन्थे । स्कूल पनि फरक फरक । गोराको तुलनामा अश्वेतले पाउने सुविधा ज्यादै न्यून थियो।

असमानताको प्रचलन लागू गर्न पुलिस, कानून र अदालतले नै जोड दिन्थे, यसले नपुगे हुलहुज्जतबाट भए पनि लागू गराएरै छोडिन्थ्यो । हरेक चार दिनमा एकजना अश्वेत अमेरिकी जिउँदै जलाइन्थ्यो वा झुण्ड्याइन्थ्याे।

गोरा र अश्वेतबीच हुने विहेवारी विरुद्धको हिंसा एक पुस्ता पहिलेसम्म पनि जारी थियो । सन् १९५५ मा मिसिसिपीको दक्षिणी राज्यमा एउटी गोरी पसलेले एम्मेट टिल नामका १४ वर्षीय अश्वेत किशोरले आफूसँग यौनोत्तेजक कुरा गरेको आरोप लगाइन् ।

दुई दिनपछि उनका श्रीमान् र देवरले किशोरलाई अपहरण गरे, यातना दिए । अन्त्यमा गोली हानी हत्या गरेर शव नदीमा डुबाइदिए । उनीहरुलाई पक्राउ त गरियो, तर गोरामात्र न्यायाधीश भएको न्यायमण्डलले पीडकलाई उन्मुक्ति दियो।

भर्जिनियाका एक वरिष्ठ न्यायाधीशले अन्तरजातीय विवाह रोक्ने कानूनको औचित्य सावित गर्नका लागि धर्मको प्रयोग गरे । “सर्वशक्तिमान परमेश्वरले सेता, काला, पहेंला, राता, मलय आदि विभिन्न नश्लका मान्छे सिर्जना गर्नुभयो, र छुट्टाछुट्टै महादेशमा राख्नुभयो,” उनले लेखे, “यसको अर्थ परमेश्वरले नश्लहरू नामिसिऊन् भन्ने चाहेको हो ।”

यो हिंसा र अन्यायपूर्ण घटनाविरुद्ध जागेको घृणाले नागरिक अधिकारका अन्दोलनहरूमा ऊर्जा थप्यो । सन् १९५० र १९६० का दशकमा हजारौं नागरिक सामेल भएका शान्तिपूर्ण विरोधका लहरले अमेरिकाको कानूनी मान्यताप्राप्त जातीय विभेद साथै मतदान अधिकारमा हुने विभेद समेतको अन्त्य गर्‍यो । गरीबी र काला अमेरिकीहरू विरुद्ध पुलिसको क्रूरता जस्ता अन्य समस्या जस्ताको तस्तै रहे पनि पक्षपातपूर्ण विभेदका यी कानून हटे।

भर्जिनिया लगायत दक्षिणी राज्यमा जातीय विभेदलाई कानूनी मान्यता दिने खम्बाको रूपमा अन्तरनश्लीय विवाह रोक्ने कानून बाँकी नै थियो । त्यो पनि लभिङका मुद्दासँगै ढल्यो।

सन् १९५८ मा बाध्यताले भर्जिनिया छोडेर वासिङ्गटन डीसी गए पनि मिल्ड्रेड र रिचर्डले आफ्नो घर, परिवार र आफू हुर्केको ठाउँ बिर्सन सकेनन् र भर्जिनिया सरकार विरुद्ध मुद्दा दायर गरे।

त्यतिखेर भर्जिनियाका एक वरिष्ठ न्यायाधीशले अन्तरजातीय विवाह रोक्ने कानूनको औचित्य सावित गर्नका लागि धर्मको प्रयोग गरे । “सर्वशक्तिमान परमेश्वरले सेता, काला, पहेंला, राता, मलय आदि विभिन्न नश्लका मान्छे सिर्जना गर्नुभयो, र छुट्टाछुट्टै महादेशमा राख्नुभयो,” उनले लेखे, “यसको अर्थ परमेश्वरले नश्लहरू नामिसिऊन् भन्ने चाहेको हो ।”

न्यायाधीशले धर्मलाई प्रेमको अस्तित्व अस्वीकार गर्ने अस्त्रको रूपमा प्रयोग गरे जुन आफ्ना कुत्सित र गलत विचारलाई प्राकृतिक भनाउने सामान्य उपायको नमूना थियो । तर, विश्वभरि अन्तरजातीय समूहको घुलमिल र अन्तरनश्लीय विवाह भने शताब्दीयौंदेखि चल्दैआएको छ, जुन प्राकृतिक हो।

विवाह भएको नौ वर्षपछि सन् १९६७ मा अमेरिकी सर्वोच्च अदालतले मिल्ड्रेड र रिचर्डको पक्षमा फैसला सुनायो । र, उनीहरू तीन बच्चासहित आफ्ना परिवार रहेको प्यारो भर्जिनिया फर्किए।

संयुक्त राज्य अमेरिकामा आज १५ प्रतिशतभन्दा बढी विवाह अन्तरजातीय समूहका बीच हुन्छ । तैपनि, अहिले पनि १४ प्रतिशत गोरा तथा गैरअश्वेतहरू नजिकका आफन्तले कालो नश्लकासँग विवाह गर्दा विरोध गर्छन्।

 तीन सन्तानसहित लभिङ दम्पति । तस्वीरः ग्रे भिलेट

२००७ जूनमा, सर्वोच्च अदालतको फैसलाको चालीसौं वार्षिकोत्सवको अवसरमा मिल्ड्रेड लभिङले असाध्यै मन छुने अभिव्यक्ति दिइन्, “मेरो पुस्ता एकदम स्पष्ट हुनुपर्ने सत्यतामा नै नराम्रो गरी विभाजित थियो । धेरैको विचारमा परमेश्वरको इच्छाकै कारणले मानिसबीच विभेद भएको हो भन्ने न्यायाधीशको भनाइमा विश्वास गर्थे ... तर आफ्नो जीवनकालमा नै मैले धेरै परिवर्तन हेर्न पाएकी छु । पुरानो पुस्ताले डर र पूर्वाग्रहहरूलाई छोड्दै छन् र आजका युवाले आफूले प्रेम गरेकासँग विवाह गर्न पाउने अधिकार छ भन्ने बुझेका छन्।”

मिल्ड्रेड लभिङको मृत्युपछि, उनकी नातिनी आफ्ना हजुरबा–हजुरआमाको संघर्षले विश्वलाई सिकाएको पाठको सार भन्छिन्– “साँचो प्रेमलाई छालाको रङले फरक पार्दैन।”

आज लभिङ डे (प्रेम दिवस) का दिन आशा गरौं कि भर्जिनियाको त्यो सुन्दर पहाडबाट हरेक दिन फैलिरहेको प्रेमको सन्देश नेपालको सुन्दर पहाडसम्म पनि आइपुगोस् ।

प्रतिकृया दिनुहोस