टिप्पणी मंगलबार, वैशाख ३०, २०७७

नेपालमा बिफरको बृहत् कथा: 'तीनमध्ये एकजनाकाे ज्यान लिएकाे थियाे'

हिमालखबर

नेपालमा बिफरको बृहत् कथा: 'तीनमध्ये एकजनाकाे ज्यान लिएकाे थियाे'
झापाको शनिश्चरेमा एक व्यक्तिलाई बिफरको खोप दिंदै स्वास्थ्यकर्मी । तस्वीर: बेथ प्रिन्टिस र बब फ्रांक

हामीले नेपालको इतिहासबारे सोच्दा प्रायः राजनीतिक घटनाहरु दिमागमा आउँछन् । गोरखालीहरुले गरेको राज्यविस्तार, जंगबहादुर राणाको सत्तारोहण र जनयुद्ध आदि। हामी कुनै रोगका बारेमा बिरलैमात्र सोच्छौं । कुनै कुनै रोगले हिमालयमा अप्रत्याशित र महत्वपूर्ण अनि बेग्लै इतिहास बनाएको छ ।

टोम रोबर्टसन

संभवतः मलेरियाले जति अन्य कुनै रोगले सताएन । यसले शताब्दीऔंदेखि तल्लो पहाडी उपत्यका र विशेष गरी तराईका जंगलहरुलाई ठूलो नोक्सान पुर्‍यायो । १९६० को दशकमा पूर्ण उन्मूलन निकट पुगेको यो रोगले लगभग सबै नेपालीको जीवनमा कुनै न कुनै तरिकाले परिवर्तन ल्याइदियो ।

कोरोना भाइरससँग मिल्ने भाइरसले पनि असंख्य नेपालीको जीवनलाई छुइसकेको छ र यसैले ठूलाठूला घटनाहरु भए । दादुरा, इन्फ्लुएन्जा, हेपाटाइटिस, पोलियो र रेविजले हजारौंलाई मार्‍यो र कतिलाई अपांग पनि बनायो । सन् १९१८ मा स्पेनिश इन्फ्लुएन्जाले १ करोड २० लाख देखि १ करोड ८० लाख (१२– १८ मिलियन) भारतीयहरुलाई मार्‍यो । र सम्भवतः दशहजार बढी नेपालीहरु पनि मरे ।

उत्तर भारतका केही जिल्लाहरुमा १० मध्ये १ जना मरे । आग्रा नजिक ७ जनामा १ जनाको मृत्यु भयो । अहिले पनि ५० हजार नेपाली एचआइभीसँग जुधिरहेका छन् । अन्य कति मानिसले यस भाइरससँग हार्नुको विकल्प रहेन । यो भाइरस तीन दशक अघि पहिलो पटक देखिएको थियो ।

कोभिड १९ अघि नेपालको इतिहासमा सबैभन्दा त्रसित पार्ने भाइरस विफर नै हो । यसको उन्मुलन नहोउन्जेल, अर्थात् सन् १९७० को दशकको मध्यसम्ममा बिफर (नेपालीमा बिफर र हिन्दीमा चेचक) ले निरन्तर नेपालका गाउँशहरलाई आतङ्कित बनाउँथ्यो । यसले प्रायः बच्चाहरुलाई प्रहार गर्‍यो जसले अति नै कष्टदायी पीडा भयो । धेरैको ज्यान नै लियो र बचेकाहरुलाई पनि स्थायी प्रकृतिले कुरुप बनायो ।

हरेक वर्ष नयाँ केशहरु देखिन्थे तर प्रत्येक ५ वा १० वर्षमा देखिने ठूलो महामारीले समुदायलाई रुवाउँदै गयो । विशेष गरी काठमाडौं जस्ता घना आवादी भएका र व्यापार र सञ्चार मार्गका रुपमा परिचित नेपालको हुलाकी राजमार्गनजिकका वासिन्दा बढी प्रभावित भए ।

सन् १९५८ मा काठमाडौंमा एउटा महामारी आयो । त्यस्तै सन् १९६५ मा गरिएको एउटा सर्वेक्षणले उपत्यकाको १६ प्रतिशत जनसंख्याले आफ्नो जीवनको कुनै न कुनै समयमा बिफरको प्रकोप सामना गर्नुपर्‍याे । त्यो भाइरस प्रभावित प्रत्येक तीनजनामध्ये एक जना मृत्युवरण गर्न बाध्य भए र बाँकी रहेकाहरु मात्र बाँचेका थिए ।

हैजाजस्ता रोगहरुले ठूलो संख्यामा रहेका गरिबहरुलाई बढी प्रहार गथ्र्यो भने बिफरले भेटेजति प्रायः सबैलाई । यसले राजा र रैती दुवैलाई प्रभावित गर्‍यो । कति पटक त यसले नेपालका राजदरबारमा आसीन शाही परिवारलाई पनि आक्रमण गर्‍यो ।

नेपालमा बिफर सन् १९७५ मा अन्तिम पटक देखिएको थियो । इतिहासकार एलिजावेथ फेनले “वर्षौदेखि चलिआएको एउटा दुःखद घटना तर आज संसारभरिका लागि अपरिचित भएको छ” भनेर लेखेकी छन् ।

बिफर र कोभिड १९ जस्ता भाइरस मानिसमा फैलिनु अघि जनावरहरुमा उत्पन्न हुन्छन् । कोरोना भाइरस चमेरोमा विकसित भयो तर विफर कहाँबाट आयो भन्ने कसैले थाहा पाएका छैनन् । आज विज्ञहरु विश्वभरिका जनावरहरुमा अरबौं खालका भाइरसहरु हुन्छन् र तिनीहरु उपयुक्त समयमा मानव शरीरमा फड्कोमार्न पर्खिरहेका छन् भन्ने विश्वास गर्छन् ।

सन् १९६४ मा बिफर संक्रमित आफ्नो बच्चा बोकिरहेकी एक महिला । तस्वीर: डब्लूएचओ

मानव शरीरमा भाइरस प्रवेश गरेपछि सरल तर घातक डिजाइनको संक्रमण इन्जिन बन्छ, प्रोटिनमा प्याक गरिएको आनुवांशिक कोडिङको सानो पुरिया, जसले शरीरका कोषिकाहरु अपहरण गरेर तिनलाई औषधीसम्बन्धी इतिहासकार स्वोडेनले भनेजस्तो ‘भाइरस उत्पादन गर्ने कारखाना’मा रुपान्तरण गरिदिन्छ । त्यसपछि भाइरसले छिटोछिटो पुनःउत्पादन गर्ने, होस्ट सेलहरुलाई मार्ने र परीक्षण नगरुञ्जेल शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँदै जान्छ ।

सबै रोगको अलगअलग विशेषता र चरित्र हुन्छ । त्यसको उत्पत्ति, प्रशारण विधि, लक्षण र सामाजिक प्रभाव व्यापक रुपमा फरक हुन्छ ।

बिफर सजिलै फैलियो । यो मच्छडले टोकेर होइन बरु एकआपसको सम्पर्क, खोकी वा हाच्छ्युँ गर्दा हावाका माध्यमबाट सर्‍यो । यो रोगले बिमारीको मुख र घाँटीमा घाउ बनाउँछ । एक पल्ट हाच्छ्युँ गर्दा वा खोक्दा हजारौं संक्रमित कण हावामा प्रशारण हुनसक्छन् ।

यो भाइरस ओच्छ्यान र लगाउने कपडाका माध्यमबाट पनि फैलिन सक्छ । यदि तपाइँ बिफर पीडितसँगै एकाघरमा बस्नुहुन्थ्यो र पहिले कहिल्यै बिमारी हुनुभएको थिएन भने संक्रमित हुने वा नहुने संभावना ५०–५० प्रतिशत हुन्थ्यो । त्यसको केही उपचार थिएन ।

बिफर डरलाग्दो थियो । संभवतः ब्युबोनिक प्लेग र हैजाले मात्र त्यस्तो आतंक मच्चाएको थियो । बिफरबाट बचेकाहरुको शरीरमा नराम्रो दाग बस्यो र प्रायःलाई अन्धो नै बनायो । भारतमा अन्धोपन भएका मध्ये तीन चौथाईको कारण ऐतिहासिक रुपमा बिफर बन्यो ।

सन् १८७९ मा एक भारतीय पर्यवेक्षकले ‘बिफरले मानवीय संवेदनशीलतालाई गहिरो ढंगले छोयो र यसको हिंसामा परेका हरुले अनुहारमा गहिरो दाग बोकेर वा एउटा आँखा गुमाएर बाँचेका हजारौं मानिस यस देशमा अझै छँदैछन्’ भनेर टिप्पणी गरेका छन् ।

विश्वभरि बिफर भाइरसले एउटा कहर र नाटकीय सामाजिक परिवर्तन ल्यायो । युरोपमा यसले १७ औं र १८ औं शताब्दीका घना र अव्यवस्थित शहरहरुलाई चिरीदियो । युरोपको आधाजति जनसंख्यालाई यस रोगको दाग बोकायो । बिफरले धनी र गरिबलाई समान कष्ट दियो । यसले स्टुअर्टको घरलाई समाप्त गर्दै इंगल्याण्डकी रानी मेरी र प्रिन्स विलियमको पनि हत्या गर्‍यो ।

बिफरले अमेरिकामा अझै ठूलो विनाश र अशान्ति मच्चायो । आदिवासी समूहहरुले त्यस्तो कहिल्यै भोगेका थिएनन् त्यसैले कुनै प्रतिरक्षा पनि थिएन । यसैले गर्दा तिनीहरु युरोपियनहरु भन्दा धेरै उच्च दरमा मरे । सारा समुदाय नै बढारिए ।

मृत्युको विशाल छालले युरोपेली बसोबासको बाटो खोली गरिदियो र अफ्रिकाबाट दासहरुको आयातलाई प्रोत्साहित गर्‍यो । ती मध्ये धेरैलाई बाल्यकालमै खोप लगाइएको थियो । फेनले भने अनुसार बिफरले ‘साम्राज्यको अन्जान साधन’को काम गर्यो ।

बिफरको दुःखले घेरिएका वेला सार्वजनिक स्वास्थ्यमा महत्वपूर्ण र नयाँ सुधारहरु गर्न पनि प्रेरित गर्‍यो । भारत, नेपाल र एसियाका धेरै भागहरुमा शताब्दीऔंदेखि मानिसहरुले यस रोगलाई रोक्न जिवित भाइरस प्रयोग गरेर खोप लगाउँथे । रोग संक्रमित एउटा धागोलाई छालामुनी रगडिन्थ्यो, वास्तवमा यसले व्यक्तिलाई एउटा रोगी बनाउँथ्यो । केही नष्ट भए तर प्रायः बाँचे, तिनले भविष्यका महामारीबाट जोगिन प्रतिरोधात्मक क्षमता पनि प्राप्त गरे ।

सन् १९२० मा काठमाडौंको बागमती पुलसँगै देखिएको थापाथली दरबार। जुन वेला नेपालमा बिफरको संक्रमणले के राजा के रैती सबैलाई उत्तिकै प्रभावित पारेको थियो । तस्वीर: मपुपु

सन् १७९० को दशकमा बेलायतमा एउटा कम जोखिमयुक्त तर अति प्रभावकारी खोप विकसित गरिएको थियो । एडवर्ड जेनर नामका एक डाक्टरले गाइपाल्ने महिलालाई बिफरले नछोएको याद गरे र उनले जानाजानी मानिसमा काउपक्स (विफरसम्बद्ध भाइरस) राखिदियो भने खोप लगाउँदा हुने पीडा र मृत्यु हुने जोखिम विना नै प्रतिरोधात्मक क्षमता विकास गर्न सकिन्छ भन्ने पत्ता लगाए ।

जेनरले उनको जस्तो खोप लगाए एक दिन यस ग्रहबाटै बिफर हटाउन सकिन्छ भन्ने भविष्यवाणी गरे । सन् १८०१ मा उनले लेखे  ‘मानवप्रजातिको सबैभन्दा भयानक संकट बिफरको सर्वनाश नै यो प्रयासको अन्तिम परिणाम हुनुपर्छ ।’

उनले गरेको त्यो भविष्यवाणी सन् १९७० को दशकमा वास्तविकतामा परिणत भयो तर भारत उपनिवेशमा भने त्रुटिपूर्ण बेलायती प्रयासका कारण एक शताब्दी पछि मात्र सम्भव भयो । सन् १९६० र ७० को दशकमा एउटा जटिल र विवादास्पद विश्वव्यापी उन्मूलन अभियानपछि मात्र सफल भयो ।

कोराना भाइरस महत्वपूर्ण तरिकाले बिफरभन्दा फरक छ । जे होस्, हामी बस्ने हिमालय फेदीमा बिफरको इतिहास पल्टाउँदा त्यसले हामीलाई सामाजिक, चिकित्सा र राजनीतिक परिदृश्यको अन्तरसम्बन्ध बुझाउन मदत नै गर्छ ।

याे पनि हेर्नुहाेस्– बिफरको महामारीः देवी खुशी पार्न चक्कुले घाउ पारिन्थ्यो

प्रतिकृया दिनुहोस