ब्लग सोमबार, चैत २४, २०७६

बिफरको महामारीः देवी खुशी पार्न चक्कुले घाउ पारिन्थ्यो

भैरव रिसाल

बिफरको महामारीः देवी खुशी पार्न चक्कुले घाउ पारिन्थ्यो

संसारमा वेलावेला महामारीले धेरै मान्छेको ज्यान लिएको छ। सन् ११५७ मा इजिप्टबाट फैलिएको बिफरले विश्वव्यापी महाव्याधीकै रूप लिएको थियो। इतिहासको पाना पल्टाउँदा बिफरबाट एशियामा मात्रै नौ लाखको प्राण लिएको पाइन्छ।

बिफर रोग मूलतः हावाबाट सर्ने रोग थियो। कसैलाई हल्का मात्र बिफर मात्र आएर टथ्र्यो, केहीलाई भने बाक्लो गरी आउँथ्यो। कति जना त मर्थे। बाँचेका मान्छेको अनुहार छ्याकटे भएर बिग्रिन्थ्यो। कति जनाको त बिफरले आँखा नै लैजान्थ्यो। उपचारको खोजी गर्दै जाँदा सन् १७९६ मा मात्र बेलायतका वैज्ञानिक एडवर्ड जेनरले बिफर विरुद्धको खोप पत्ता लगाएछन्।

नेपालमा पनि यो रोगले लामो समय दुःख दियो। बिफर, हैजाका साथै अन्य रोगका महामारी काठमाडौंमा फैलिने गर्थ्यो। महामारीले राजा–रङ्क भन्दैन। राजा सुरेन्द्र विक्रम शाहको छोरा युवराजलाई बिफर भएको थियो। उनको उपचार पाटनका सिद्धि गोपाल वैद्यका पुर्खाबाट गराइएछ, जो त्यति वेलाका खानदानी वैद्य थिए। तर उनलाई बचाउन वैद्यले सकेनछन्। षड्यन्त्र गरेर राजाको हत्या गरेको भन्ने बात लगाई वैद्यलाई काटी मारिएछ। बिफरकै कारण राजा गीर्वाणयुद्ध विक्रमको वि.सं. १८७३ मा १९ वर्षको अल्पायुमै मृत्यु भएको थियो।

वि.सं. १९०३ मा जङ्गबहादुर कुँवरले कोतपर्व रचेर सत्ता कब्जा गरे। त्यसअघि नै संसारमा विफर विरुद्ध खोप पत्ता लगाइसकिएको थाहा पाएर उनले १९०६ मा नै बिफर विरुद्ध खोप लगाउने योजना गरेछन्। राज्यभरि नै खोप लगाउने योजनासहित सबैतिर कर्मचारी पठाएछन्।

त्यति वेला यो रोग देवीदेउता रिसाएर लागेको भनिन्थ्यो। त्यही रुढिवादी विश्वासका कारण पहाडतिरका जनताले खोप कार्यक्रमकोे घोर विरोध गरेछन्। तर, श्री ३ जङ्गले कार्यक्रम सफल नै गराएछन्। धेरै प्रयासपछि नेपालबाट सन् १९७७ (२०३२ साल) मा उन्मूलन भयो। खोप आविष्कारको १८३ वर्षपछि सन् १९७९ (वि.सं. २०३४) मा विश्व स्वास्थ्य संगठनले संसारबाट बिफर उन्मुलन भएको घोषणा गर्‍यो।

चक्कुले घाउ बनाएर ‘देवीको खोप’

म केटाकेटी छँदै बा–आमाले बिफर विरुद्धको खोप लगाइदिएका थिए। खोप लगाउने काम हिउँद याममा गरिन्थ्यो।

त्यतिवेला पनि बिफरलाई देवी रिसाउँदाको उपज मानिन्थ्यो। ‘शीतला माई’ को कोरा (बलिबिनाको) पूजा गरिन्थ्यो। आधुनिक चिकित्साको विकास र विस्तार नहुँदासम्म वैद्यहरूद्वारा बिफर आएका मान्छेको घाउको पिप सद्दे मान्छेको घाउ पारिएको ठाउँमा थोरै हालिदिने गरिन्थ्यो।

खोप लगाएको व्यक्तिलाई सात दिनमा गाउँको चौरमा लगेर पहिला देवीको पूजा गरिन्थ्यो। त्यसपछि प्रायः बायाँ हातको नाडी वा पाखुरामा चक्कु वा कर्दको टुप्पोले हल्का चिरेर घाउ बनाइन्थ्यो। त्यो घाउमा बिफरको बीउ हालिदिएर निचोरिन्थ्यो। अलिकति रगत फुटेपछि खोपाउने काम सकियो।

त्यसरी खोपेको घाउ पाक्थ्यो र केही दिनभित्र खाटा बस्थ्यो। घाउ पाकेन भने फेरि देवीको खोपाउने विधि अवलम्बन गरिन्थ्यो।

खत नै घडी !

१९९६ सालतिरको कुरा हुँदो हो, मेरो गाउँ भक्तपुर दधिकोटकी ४९ वर्षीया एक महिला बिफरका कारण थला परिन्। शरीरभरि बिफरका फोका। कपडामा सुताउनै नहुने, घाउमा टाँस्सिने भएकाले केराका पात ओछ्याएर सुताएको मैले नै देखेको छु। उनी बाँचिन्, अनुहारभरि भने बिफरको थोप्लैथोप्ला निशाना भयो। देशका धेरै ठाउँमा बिफरले विरूप पारेका मान्छे धेरै देखिन्थे।

जङ्गबहादुरले शुरु गराएको खोपको चलन लामो समयसम्म रह्यो। एकपल्ट खोपाएपछि जिन्दगीभर बिफर आउँदैन भनिन्थ्यो। बिफरको खोप ठूलो नहोस् भनी खोप्नुअघि नाडीमा मोहोर (५० पैसा) राखेर चिनो लगाइन्थ्यो, त्यसभित्र मात्र खोपिन्थ्यो। त्यो डोंबलाई पछिसम्म पनि काँठ क्षेत्रतिर घडी भनी रमाइलो गरिन्थ्यो। केटाकेटीहरूको घडीको तिर्सना त्यसैले मेटाउँथ्यो।

प्रतिकृया दिनुहोस