ब्लग शनिबार, असार १३, २०७७

निशान छाप कि निसान छाप ?

हिमालखबर

निशान छाप कि निसान छाप ?

नेपाली भाषा प्रयोगको विविधता अनौठो छ । गोरखापत्र या अन्य पत्रपत्रिकाको शैली पुस्तिकामा एकरूपता भेटिंदैन । कसैले ‘शहीद’ लेखेर ‘सहिद’ लाई आगन्तुक ठान्छन् भने कोही ‘रुपियाँ’ लेख्छन् र ‘रुपैयाँ’ लाई खल्तीमा राख्छन् ।

बग्रेल्ती खुलेका अनलाइन समाचारमा प्रयोग भएको भाषा किन नहोस् आजभोलि भाषामा प्रयुक्त वर्णविन्यासमा ‘युनिकोड’ आफैं भाषाविद् बनेको छ । नेपाली व्याकरणको नयाँ नियमले निम्त्याएको बिचल्ली जताततै मनलाग्दी छ । ‘फूल’ र ‘फुल’ विवादित छ । ‘सुरु’ र ‘शुरू’ बीचमा मनमुटाव छ । ‘महाकवि’ जोडिएको छ तर ‘महा पुरुष’ छुट्टिएका छन् । ‘कानून’ र ‘कानुन’ दुवै अदालतमा बहस गर्छन् । अड्डा, अदालत र लेखापढीको भाषामा विविधता अथ्र्याउँछन् ।

पुष्पराज भट्टराई

पाठ्यक्रम निर्माता एकातिर, लेखक अर्कातिर; पढाउने शिक्षक एकातिर, पढ्ने विद्यार्थी अर्कोतिर, पढेको एकातिर र पढाउनुपर्ने, सिकाउनुपर्ने अर्कोतिर छन् । नेपाली भाषाका आकार, उकार, एकार, ओकार, हलन्त, अजन्तहरू कापीका पानामा आज आफैं निरीह भएका छन् । नियमविनाको वर्णविन्यास सिकारुका लागि ‘मियोविनाको दाइँ’ भने जस्तै भएको छ ।

विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा मात्र होइन पाठ्यपुस्तकहरूमा समेत वर्णविन्यासगत एकरूपता पाइँदैन । तिनै विश्वविद्यालयका शोधपत्रका पानाभरि वर्णविन्यासका त्रुटिको डंगुर भेटिन्छ । कोही ‘गरिब’ लाई गल्ती देख्छन् । कोही ‘गरीब’ प्रति सहानुभूति पोख्छन् । यसले भाषा सिक्ने र सिकाउनेलाई मात्र होइन कि यसका सम्पूर्ण प्रयोगकर्तालाई अन्योलमा पारेको छ । साथै नेपाली भाषाको गरिमामाथि नै चोट पुर्‍याएकाे छ ।

हिजोसम्म सबै ठीक, उहाँहरूले लेखेका पाठ्यपुस्तकका पाना र पढाएको ठीक, उत्तरपुस्तिका परीक्षण गरेको ठीक, पाठ्यपुस्तक पनि ठीक, तर आज त्यही लेखाइ बेठीक ।

परीक्षाका प्रश्नपत्र हुन् या तिनका उत्तरपुस्तिका, सबै क्षेत्रमा वर्णविन्यासको विविधता सजिलै भेटिन्छ । यसरी वर्णविन्यास बेठीक भन्दै जाने हो भने एकजना शिक्षितले जीवनभर नेपाली भाषाको नियम सिकिरहनुपर्छ । त्यति हुँदा पनि जीवनको अन्तिम घडीसम्म शुद्ध लेख्न जान्दैन ।

२०७२ सालमा घोषणा गरिएको संविधानको धारा र अनुसूचीको वर्णविन्यासमा एकरूपता छैन । भर्खरै संशोधन भएर आएको नेपालको ‘निसाना छाप’ ‘निशान छाप’ भएको छ । बृहत् शब्दकोशमा यिनको अर्थगत भिन्नता छ । अब निशान छाप परिवर्तन भएसँगै सरकारका काम पनि बढेका छन् ।

अब नागरिकताको निशान छाप फेरिने भयो । पासपोर्टका पाना नयाँ छापिने भए । सांसदकै लोगो फेरिने भयो । १०० को नोटमा नेपालको नक्शा फेरिने भयो । सरकारी कर्मचारीका परिचयपत्रको लोगो फेर्नुपर्ने भयो । ट्राफिकले जाँच्ने लाइसेन्सको लोगो फेरिने भयो । राष्ट्रिय परिचयपत्र बदलिने भयो । हेर्दा सामान्य लागे पनि अर्थ फरक लाग्ने यी र यस्तै दूरगामी असरका विषयमा हिजोका दिनमा ध्यान दिन सकेको भए आज झञ्झट आइलाग्ने थिएन ।

सरकार, विश्वविद्यालय, पाठ्यपुस्तक निर्माता, लेखक, वकिल, पत्रकारपिच्छे लिपि फरक हुनु सुहाउने कुरा होइन । त्यसैले भाषाको प्रयोग भाषाशास्त्र र व्याकरणसंगत हुनुपर्छ । निशान छापको परिवर्तनसँगै भाषाविद्हरूलाई पनि ठूलो शिक्षा मिलेको हुनुपर्छ । सबैले आफूखुशी नियम बनाउँदा भाषाको वास्तविक स्वरुप बिग्रिन्छ भन्ने चेत खुल्नुपर्छ ।

पछिल्ला दिनमा नेपाली भाषा प्रयोगकर्ताले आफूले प्रयोग गर्ने भाषाको शुद्धताबारे सचेतता अपनाइएको पाइँदैन । समग्र भाषा प्रयोग गर्नेहरूको चेतनाको कमी र अंग्रेजी मोहका कारण नेपाली भाषा आफ्नै घरमा उपेक्षित छ ।

नेपाली भाषाले हजार वर्षभन्दा बढी आयु विताइसकेको छ । यसबीचमा नेपाली भाषा–साहित्यका क्षेत्रमा प्रशस्तै काम नभएका होइनन् । तापनि यी सबै कामलाई अभिलेखीकरण गर्ने मुख्य माध्यम लेख्य व्यवस्थामा आजसम्म पनि एकरूपता छैन ।

नेपाली भाषाको मूल भनिने संस्कृतको लेख्य व्यवस्था निर्विवाद छ । तर नेपालीको सबैभन्दा बढी विवाद यही लेख्य व्यवस्थामा छ । कहिले ‘दस’ शब्द गलत र कहिले त्यही ‘दस’ सही । कहिले फूल ‘पुष्प’ गलत र कहिले फुल ‘पुष्प’ सही । कहिले ‘दुध’ ह्रस्व लेख्दा कान उखेलिने त कहिले ‘दूध’ दीर्घ लेख्दा टुप्पीका जरा खलबलिने । यही कारण सिकारु नै अन्योलमा छन् ।

वर्णविन्यासका यी मौसमी नियमले भाषा सिक्ने र सिकाउने दुवै कुहिरोका काग बनिरहेका छन् । वर्णविन्यास भनेको शुद्धाशुद्धि वा हिज्जेको विधान हो । यसले शब्दमा वर्णहरूको सार्थक एवं समुचित विन्यास अर्थात् रखाइलाई जनाउँछ । तर यस विषयमा नेपालीका विद्वान्हरूले जुँगाको लडाइँ मच्चाउने गरेकाले वर्णविन्यासका सर्वमान्य नियमहरू बन्न सकेका छैनन् ।

जे आफूलाई ठीक लाग्यो त्यही भनेर सिकाउँदा बालबालिकाको कलिलो मस्तिष्कमा भोलि भाषाको अवस्था के होला भन्ने हेक्का गरिएन । जसरी लेखे पनि हुन्छ भन्ने दुष्प्रवृत्ति बढ्दै जाँदा बालमानसिकतामा भरिएको शुद्ध लेख्न नसकिने त्रास लामै समयसम्म रहिरहन्छ ।

हिज्जे, वर्ण सुधारका नाममा भाषाको कथ्य रूप जस्तै लेख्य रूप बनाउन खोज्दा यसको लेखन परम्परा भत्किन्छ भन्ने हिजो याद गरिएन । वास्तवमा भाषाको प्राकृतिक रूप बिगार्ने भाषाका विद्वान्हरू नै हुन् भन्दा फरक पर्दैन ।

भाषा लेखाइका क्रममा साधारण नियमलाई मात्रै ध्यान दिने हो भने पनि शुद्धाशुद्धिको हल हुने देखिन्छ । हिज्जे सम्बन्धी सामान्य नियम पालना गर्दा र गराउँदा नेपाली भाषाको वर्ण, हिज्जे र व्याकरणलाई आधार मान्दा कोही पनि फेल हुँदैनथे । जथाभावी बेथिति भित्रिंदैनथ्यो । भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने डर हुन्नथ्यो ।

समस्त पदको वियोगले शब्दवर्गमा पार्न सक्ने प्रभाव, नामयोगीको वियोगले पार्ने प्रभाव, विभक्ति र पदवियोग, संयुक्त क्रियाको पदवियोग, समस्त पदको योग वा वियोगले तात्पर्यमै पार्न सक्ने प्रभावलाई मात्रै ध्यान दिन सके शुद्धाशुद्धिका लागि कसैको कान तान्नुपर्ने थिएन । वर्णविन्यासकै कारण कसैलाई फेल वा पास भनेर नापजाँच गर्नुपर्ने थिएन ।

नेपाली भाषा जति पुरानो भए पनि प्रकाशनका हिसाबले पहिलो आधार मानिएको ‘बगली कोश’ (१९९८ साल) र नेपाली बृहत् शब्दकोश (२०४०) लाई भाषाको प्रयोगमा एकरूपता ल्याउने आधार मान्दा नै बढी न्यायसंगत हुन्छ । बृहत् शब्दकोशमा पनि नवप्रवेशी शब्द समावेश गरी पुनः प्रकाशन गर्नुपर्छ । शब्दको शुद्धाशुद्धिको निर्णय शब्दकोश बमोजिम हुनुपर्छ ।

शब्दकोशमा तोकिएभन्दा भिन्न रहेर कुनै व्यक्ति वा निकायले शुद्धाशुद्धि विषयक नियम बाँध्न, प्रचार गर्न तथा शिक्षण गर्न नपाउने व्यवस्था गरिनुपर्छ । हाम्रा विशेष उपाधिले विभूषित विद्वान्, साहित्यकार, लेखकले प्रयोगमा ल्याएका सयौं शब्दलाई अशुद्ध ठहर्‍याउँदै आफ्नो भाषाप्रति सरकारी निकायबाटै गम्भीर प्रहार गर्ने काम रोकिनुपर्छ ।

प्रतिकृया दिनुहोस