टिप्पणी शनिबार, जेठ १०, २०७७

तापाैं घाम, सम्झाैं अति जरूरी काम

हिमालखबर

तापाैं घाम, सम्झाैं अति जरूरी काम
विनिता वली, मोडलिङमा आधारित । तस्वीरः बिक्रम राई (आर्काइभ)
डा. अरुणा उप्रेती

नेपालमा वर्षभरि नै सजिलैसँग सूर्य प्रकाशमार्फत सित्तैंमा पाउने पोषकतत्वलाई हामीले भने बेवास्ता गरिरहेका छौं । यही कारण धेरै नेपालीले कम्मर, मेरुदण्ड, हड्डी र मांसपेशी दुख्ने समस्या बेहोरिरहेका छन् ।

काठमाडौं, धुम्बाराही बस्ने निशा शर्मालाई लामो समयदेखि थकाइ लाग्ने, हातखुट्टा दुखिरहने, बिहान उठ्दा पनि आरामको अनुभूति नहुने गथ्र्यो । असह्य हुन थालेपछि उनी चिकित्सककहाँ पुगिन् । चिकित्सकको सल्लाह अनुसार रगतमा ‘भिटामिन डी’को परीक्षण गर्दा कमी देखियो । विशेषज्ञ चिकित्सकले दैनिक कम्तीमा १५–२० मिनेट घाममा बस्न सुझाइन् । विस्तारै उनको स्वास्थ्यमा सुधार भयो ।

000

पाका–पुराना मानिसहरूले अहिले पनि बिहान मन्त्रोच्चारण गर्दै लामो समय लगाएर सूर्यलाई अर्घ (दूध, दही, जौ, कुश, दुबो मिश्रित जल) चढाइरहेका हुन्छन् । त्यसक्रममा धेरैजसोले गन्जी पनि लगाएका हुँदैनन्, यसले केहीबेर मात्र भए पनि शरीरमा घाम लाग्न पाउँछ । अर्घ दिनुको धार्मिक महत्व जे भए पनि मानव स्वास्थ्यका दृष्टिले भने लाभदायक नै देखियो ।

000

२० वर्षअघि (मंसीर, १९९८) पढ्नका लागि नेदरल्याण्ड जानुपर्ने भयो । म त्यहाँ १६ महीना बस्नुपर्ने थियो । जाडो महीनामा त्यहाँ पटक्कै घाम लाग्दो रहेनछ । दुई तीन हप्तापछि जतिखेर पनि उदास हुन थालें । यस्तो त पहिले हुँदैनथ्यो भन्दै विज्ञहरूसँग कुराकानी गरेपछि मात्र घामबाट प्राप्त हुने भिटामिन डीको कमीले त्यस्तो हुनेरहेछ भन्ने थाहा भयो । म आफैंले घामको महत्व नेदरल्याण्ड पुगेपछि मात्र थाहा पाएँ ।

अहिले कोरोनाको सङ्क्रमणबाट बच्न भिटामिन डीको महत्वका बारेमा धेरै छलफल भइरहेको छ । केही अध्ययनले कोरोना र भिटामिन डीको सम्बन्ध खोजी गरिरहेका छन् ।

साइन्स अलर्टमा प्रकाशित ‘कोभिड–१९ डेथ आर बिइङ लिङ्कड टु भिटामिन डी ...’ शीर्षकको आलेखमा ‘कोभिड–१९ बाट प्रभावित मानिसहरूमा भिटामिन डीको कमी देखिएको’ उल्लेख गरिएको छ । यस्ता अध्ययन अनुसन्धानले बृहत् खोज गर्दै निरन्तरता पाइरहुन् ।

स्पेनिस र फ्रेन्च अनुसन्धानकर्ताहरूले पनि कोरोनाभाइरस संक्रमित बिरामीलाई भिटामिन डीले सहयोग गर्छ गर्दैन भनेर क्लिनिकल परीक्षण गरिरहेका छन् (बीबीसी, १८ मे २०२०) ।

साइन्स अलर्टमा प्रकाशित ‘कोभिड–१९ डेथ आर बिइङ लिङ्कड टु भिटामिन डी ...’ शीर्षकको आलेखमा ‘कोभिड–१९ बाट प्रभावित मानिसहरूमा भिटामिन डीको कमी देखिएको’ उल्लेख गरिएको छ । यस्ता अध्ययन अनुसन्धानले बृहत् खोज गर्दै निरन्तरता पाइरहुन् । यो सामग्री मूलतः घामबाट प्राप्त हुने भिटामिन डीमै केन्द्रित भएर तयार गरिएको छ ।

तस्वीरः बिक्रम राई । 

भिटामिन डी

भिटामिन डी बोसोमा घुल्ने यौगिक हो । हामीले च्याउ र माछा जस्ता खाद्य पदार्थबाट यो पोषकतत्व प्राप्त गर्न सक्छौं । अरू पनि थुप्रै खाद्य पदार्थ छन् जसबाट हामीले भिटामिन डी पाउन सक्छौं । यसबाहेक हाम्रो छालाले पनि उत्पादन गर्न सक्छ तर त्यसका लागि छालामा प्रत्यक्ष घाम लाग्नुपर्ने हुन्छ ।

हामीले खाने खानामा जति नै मात्रामा क्याल्सियम तथा फस्फोरस भए पनि हाम्रो शरीरमा भिटामिन डीको अपर्याप्तता छ भने खानामा निहित ती तत्व शरीरले ग्रहण गर्न सक्दैन ।

सामान्यतः भिटामिन डीले हाम्रो हड्डीमा क्याल्सियमको स्तर कायम गरिराख्ने भूमिका निर्वाह गर्छ । यसको कमी भए हड्डीमा विभिन्न खालका समस्या देखिन्छन् । रिकेट्स र ओस्टियोपोरोसिस रोगहरू यसका उदाहरण हुन् । त्यसैगरी भिटामिन डी स्वस्थ दाँत र मांसपेशीका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

पछिल्लो समय अनुसन्धानकर्ताहरूले भिटामिन डीले प्रतिरक्षा प्रणालीमा कस्तो खालको कार्य गर्छ भनेर सूक्ष्म खोजी गर्ने कार्यलाई तीव्रता दिएका छन् ।

बेलायतमा ठण्डी मौसम (अक्टुबरदेखि मार्चसम्म) का महीनाहरूमा प्रतिदिन १० माइक्रोग्राम भिटामिन डीको पूरक लिन अनुरोध गरिन्छ । बेलायतको सार्वजनिक स्वास्थ्य एजेन्सीले त बाहिर ननिस्कने घरभित्रै बसिरहने मानिसहरूले वर्षभरि नै खाँदा हुन्छ भनेका छन् । हेरचाह केन्द्र भित्रै बस्ने र बाहिर निस्कँदा पूरै शरीर ढाक्ने गरी लुगा लगाउनेहरूले पर्याप्त मात्रामा घाम पाउन नसकेको हुनसक्छ भन्ने तर्क उनीहरूले गरेका छन् ।

अझ स्कटिस, वेल्सका सरकारहरू र उत्तरी आयरल्याण्डका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले विशेष गरी लकडाउनको अवधिमा भिटामिन डी ग्रहण गर्न सिफारिश नै गरेका छन् ।

औषधि कम्पनीहरूले सकेसम्म धेरै मानिसले क्याल्सियम र भिटामिन ‘डी’ खाउन् भनेर भ्रमको खेती गरिरहेको तर्फ भने हामी सचेत हुनैपर्छ । त्यही भ्रममा परेर धेरैले भिटामिन डी किनेर खाइरहेका पनि छन् ।

घाम नलाग्ने, लागे पनि वर्षमा दुई महीना मात्रै लाग्ने देशमा त भिटामिन डीका क्याप्सुल किनेर खानुपर्छ होला तर हाम्रो जस्तो देश जहाँ वर्षभरि प्रायः घाम लाग्छ त्यहाँ क्याप्सुल किनेर खानु ख्वाउनु भनेको बाहिरका ठूला औषधि कम्पनीलाई पोस्नु मात्रै हो ।

भिटामिन डी प्राप्तिका लागि बच्चालाई पारिलाे घाम । तस्वीर: हिमाल आर्काइभ ।

हामीकहाँ केही रुढिवादी धारणाले पनि अर्घेल्याइँ गरेको छ । बच्चालाई घाममा राखेर तेल लगाउँदा छाला डढेर कालो हुन्छ भन्ने डरले घाममा नराख्ने अभिभावक धेरै छन् । तिनले बुझ्नुपर्छ– भिटामिन डीले नै बालबालिकामा दम र श्वास–प्रश्वास सम्बन्धी विविध समस्या घटाउने गर्छ । हड्डी र शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । रोगसँग लड्ने क्षमता वृद्धि गर्छ ।

आवश्यकताका दृष्टिले काम र घाम उत्तिकै जरूरी छन् । जस्तोसुकै व्यस्तता भए पनि दिनको कम्तीमा १५ मिनेट घाममा बस्ने समय निकाल्नै पर्छ । कोठा वा घरभित्रै बसेर अथवा एसीमा बसेर काम गर्नेहरूलाई केही समयपछि हड्डी दुख्ने, करकरी खाने वा ढाड दुख्ने समस्या शुरू हुन्छ । यस्ता मानिसहरूलाई भिटामिन डीको कमी भएर विभिन्न खालका शारीरिक तथा मानसिक समस्या पनि देखिन सक्छन् ।

जुनसुकै समस्या किन नहोस्, औषधिले नै ठीक पार्छु भन्ने गलत मानसिकता अधिकांश मानिसमा देखिन्छ । यो मानसिकता र बानी ठीक छैन । प्राकृतिक तवरले पनि समस्या समाधान हुन्छ कि भनेर विकल्प खोज्न हामीले बिर्संदै गएका छौं ।

आफ्नो स्वास्थ्यप्रति सचेत व्यक्तिले क्याप्सुल किन्न भन्दा पनि प्राकृतिक तवरमै पाइने खुला स्रोतको उपयोग गर्न चुक्नुहुँदैन । ८० प्रतिशत भिटामिन सूर्यको किरणबाटै पाइन्छ तर घाममा बस्दा छालामा सीधै पर्नुपर्छ । लुगाबाट वा सिसाबाट छिरेर तापिएको घाम काम लाग्दैन ।

लेखपढ गरेकै किशोरी वा महिलाहरू पनि छाला डढेर कालो हुन्छ भनेर घाममा बस्दैनन् । यसले उनीहरूको शरीरमा कति नोक्सान भइरहेको छ भन्ने थाहा पाउञ्जेलसम्ममा समस्याले उग्ररूप लिइसकेको हुन्छ । धेरै स्वास्थ्यकर्मीले पनि त्यसबारे याद गरेको पाइँदैन भने सामान्य मानिसले त थाहा नपाउनु स्वाभाविक नै भयो।

किशोरीहरूको शरीरमा भिटामिन डीको कमी हुँदा प्रजनन् स्वास्थ्यमा पनि असर पर्छ । घाममा बस्दा पुठ्ठाको हड्डी बलियो हुन्छ । किशोरीहरूको हड्डी बलियो भयो भने गर्भावस्था र प्रसूतिको वेलामा पनि स्वास्थ्य राम्रो रहन्छ । उमेर ढल्कँदै जाँदा रजोनिवृत्ति भएपछि हड्डी दुख्ने समस्या कम हुन्छ । घामले महिलामा हुनसक्ने बाथरोगको जोखिम पनि कम गर्छ ।

चिसो ठाउँमा बसेर काम गर्ने व्यक्तिलाई हुने दुखाइ घटाउँछ । हड्डी कमजोर हुँदै नजाओस् भनेर भिटामिन डीयुक्त खाना खानु, घाम ताप्नु र हिंड्नु तीनै वटा कार्य अति जरूरी छ । घाममा बसेर मालिस गर्नु शरीर स्वस्थ राख्ने एक उत्तम उपाय हो । यो परम्परागत मान्यता विज्ञानसम्मत छ ।

ज्वानो, आलस, मोही, चिज, भटमास, तिल, पालुङ्गोका साथै कोदो, फापर, कागुनो आदिमा पनि क्याल्सियम पाइन्छ । त्यस्ता खानेकुराको प्रयोग गर्नुपर्छ भनेर सिकाउनुको साटो स्वास्थ्य चौकीहरू मार्फत क्याल्सियम चक्की बाँडिन्छ, यो उपाय ठीक छैन, होइन ।

नेपालमा स्वास्थ्यकर्मीले भिटामिन डीसँगै क्याल्सियम पनि दिने गरेका छन् । क्याल्सियम पनि हामीले किन्नै पर्दैन ।

ज्वानो, आलस, मोही, चिज, भटमास, तिल, पालुङ्गोका साथै कोदो, फापर, कागुनो आदिमा पनि क्याल्सियम पाइन्छ । त्यस्ता खानेकुराको प्रयोग गर्नुपर्छ भनेर सिकाउनुको साटो स्वास्थ्य चौकीहरू मार्फत क्याल्सियम चक्की बाँडिन्छ, यो उपाय ठीक छैन, होइन ।

अहिले कति जना स्वास्थ्यकर्मीले एक महीनाको शिशुको हड्डी बलियो बनाउन झोल क्याल्सियम दिनुपर्छ भनेर लेखिदिन्छन् । जबकि बच्चालाई घाममा राखेर मालिस गर्ने हो भने उसको शरीरमा भिटामिन डीको मात्रा पुग्छ र हड्डी पनि बलियो हुन्छ । आमाको दूधमा भएको क्याल्सियमले शिशुलाई पुग्छ । अरू केही दिनै पर्दैन ।

घरको बगैंचाको एउटा कुनामा मेवाको सानो बिरुवा तीन वर्षदेखि हुर्कदै थियो तर कहिल्यै फस्टाएन । मालीले विशेष ध्यान दिंदै मलजल गरे पनि बिरुवा टाक्सिइरह्यो । एकजना कृषिविद् घरमा आएका वेला उक्त मेवाको बिरुवा हेर्दै भने– ‘घाम नपाएकाले यो बिरुवा मर्न थालेको छ । यसलाई ऊ त्यो घाम आउने ठाउँमा लगेर रोपिहेर्नुहोस्, मौलाउँछ कि !’

उनको सल्लाह अनुरूप बिरुवा जतनसाथ घाम लाग्ने ठाउँमा सारियो । त्यसपछि मेवा एक वर्षमै हलक्क बढेर बोटले नथेग्ला झैं गरी फल्यो । घाम पाएपछि हलक्क बढेको त्यो मेवाको रूख देखेर मालीले भनिन्– ‘सूर्यको दर्शन नपाएर पो मर्न लागेको रहेछ ।’  बिरुवालाई त यति घाम चाहिन्छ भने मानिसलाई कति आवश्यक पर्दो हो ? वेलैमा विचार गरौं घाम ताप्ने कि राेग पाल्ने ?

याे पनि हेर्नुहाेस्– अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता

प्रतिकृया दिनुहोस