टिप्पणी शनिबार, वैशाख २७, २०७७

अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता

हिमालखबर

अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता
लट्टे, झुसे सिस्नो र करी पत्ता ।

विदेशमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन । त्यस्तै प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करी पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।

 डा. अरुणा उप्रेती

कहिलेकाहीं भान्सामा लट्टेको साग देखेपछि धेरैको मुखबाट निस्कने एउटा वाक्य हो— ‘धत्, लट्टेको साग पनि कोई खाओस् !’ अर्थात् मनपराएर खाने मानिसको संख्या कम छ।

यो साग पहाड होस् वा तराई जतासुकै पाइन्छ । नछरे पनि खेतबारीमा बढिरहेको हुन्छ । लट्टेको साग जतिसुकै अपहेलित भए पनि यो साह्रै उत्तम साग मध्येमा पर्छ । ‘धेरै भएपछि गुण पनि तीतो’ भएको मात्र हो ।

अहिलेसम्म हरियो र रातो गरी दुई खालको लट्टे देखिएको छ । यसको वैज्ञानिक नाम ‘अमेरेन्थस विरडिस’ हो । यसमा स्वाद र पौष्टिकता दुवै र उत्तिकै छ ।

मेक्सिकोमा लट्टेलाई ‘अलेग्रिया’ भनिंदोरहेछ । स्पेनिस भाषामा अलेग्रियाको अर्थ ‘खुशी’ हो । लट्टे अफ्रिका, चीन, भारत, रूस, अमेरिका लगायत धेरै देशमा पाइन्छ ।

मेक्सिकोमा भने लट्टेका दानाबाट विभिन्न परिकार बनाइन्छ । त्यहाँ मकै जस्तै भुटेर महसँग मिसाएर पनि खाइँदो रहेछ । अन्य धेरै देशमा यसबाट बनेका विभिन्न परिकार कुप्लुक्क खान मिल्ने गरी बिक्री गर्न राखिएका हुन्छन्।

विदेशमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन।

लट्टेकाे साग ।

गाउँघरमा सजिलै उपलब्ध हुने लट्टेको साग पकाएर पाहुनालाई दिंदा धेरैले अपमानित भएको महसूस गर्छन् तर ठूला होटलमा त्यही लट्टे मनपराएर खानेहरू प्रशस्तै छन्।

नेपालका अधिकांश भागमा पाइने लट्टेका विविध नाम छन् । तराई तथा भित्रीमधेशमा यसलाई ‘रामदाना’ भनिन्छ । पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’ । मधेशका धेरै ठाउँमा गेन्हारी साग पनि भन्छन्।

विशेषगरी पहाडी क्षेत्रमा हजूरआमाहरू लगातार व्रत बस्नुपर्‍यो भने बीचमा एक दिन बेलुका लट्टेका दाना दूधमा पकाएर खाने गर्थे। पौष्टिकताले भरिपूर्ण भएकैले व्रत बसेका वेला यसको उपयोग भएको हुनुपर्छ।

लट्टेको दाना भुटेर तरकारीसँग खान मिल्छ । लट्टे र गहुँको पीठो मिसाएर स्वस्थकर रोटी बनाउन सकिन्छ । यसको पीठोको सुप बनाएर पिउन पनि मिल्छ । तरकारीसँग पकाएपछि यसको छिपछिपे रसमा स्वाद र पौष्टिकता दुवै हुन्छ । अझ त्यसमा गोलभेंडा पनि हालेर पकाइएको छ भने त भात वा रोटी कपाकप खान सकिन्छ।

लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ । साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र क्याल्सियम आदि यसमा छन् ।
लट्टेका दानामा २८.८ प्रतिशत प्रोटिन हुन्छ । कुपोषणबाट बचाउन प्रोटिनको ठूलो महत्व हुन्छ । साथै लट्टेका दाना ग्लुटिनरहित हुने भएकाले गहुँमा रहेको ग्लुटिन पचाउन नसक्नेहरूका लागि समेत यो उपयोगी हुन्छ । अर्थात् शिशु, महिला, गर्भवती सबैको लागि अति उपयोगी छ ।

लट्टेका दाना र पातको मुख्य विशेषता भनेकै यो जेसँग मिसाएर पकाउँदा पनि हुन्छ । यसको दाना चामल, फापर वा गहुँको पीठो आदिसँग मिसाएर उपयोग गर्न सकिन्छ । खाँदा स्वाद र पोषण दुवै हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । गुणी लट्टे आजै खाउँ, खोजीखोजी खाउँ ।

याे पनि पढ्नुहाेस्– आँगनमै औषधि

करी पत्ता ।


‘करी’ वा ‘कढी’ पत्ता

‘करी’ पत्ता तराईतिर जताततै पाइने वनस्पति हो । यसको वैज्ञानिक नाम ‘मुराया कोएनिजी’ हो । ‘करी’ पत्ता पोषणको दृष्टिले अतिउत्तम छ । यसलाई ‘मीठा’ नीम पनि भनिन्छ । औषधिजन्य गुण हुने तर तीतो नहुने भएकोले यसलाई मीठा नीम भनिएको हुनुपर्छ ।

दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ । त्यहाँ जुनसुकै खानेकुरा पकाउँदा पनि करी पत्ता हालिन्छ । जनस्वास्थ्य विशेषज्ञका रूपमा श्रीलंकामा रहँदा खानेकुराबाट झिक्दै छेउमा राख्दै गरेको देखेर एक नर्सले ‘यो त साह्रै पौष्टिक हुन्छ, किन फालेको ?’ भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

त्यसपछि उनले करी पत्ता खाँदा हुने फाइदा बारे लामै व्याख्यान दिइन् । यसको नरम पातको अचार पनि बनाइँदो रहेछ । रसम (दाल) मा त यो नभई हुँदैन । त्यहाँ करी पत्ता नहालिएको खाना अपूर्ण मानिंदो रहेछ ।

त्यसपछि मैले पनि करी पत्ता खान शुरू गरें । अहिले मेरा घरमा करी पत्ताको दुई बोट छन् । समय–समयमा यसको पात काँचै चपाउँछु । तरकारी बनाउँदा सम्झिएर हाल्छु । अचारमा बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि मिसाउँछु ।

करी पत्ता पोषणको भण्डार नै हो । यसको पात रेसादार हुन्छ । यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ ।

गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ । मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ।

तराईमा जताततै पाइने करी पत्ताबारे धेरैलाई खासै जानकारी रहेको देखिंदैन।

करी पत्ताका बारेमा केही अनुसन्धान पनि भएका छन् । मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ किनभने यसले शरीरभित्र रहेको हर्माेन ‘इन्सुलिन’ को गतिविधिलाई प्रभावित गरेर रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ । अपच हुने मानिसहरूलाई पनि खान दिइन्छ किनभने यसले मिर्गौलालाई तन्दुरुस्त बनाउन सघाउँछ।

काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ । असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन् ।
यसलाई पानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि स्वादिष्ट पेय बन्छ । यस्तो पेयले पेटमा रहेको गडबडीलाई सञ्चो गर्ने परम्परागत मान्यता छ । यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्।

याे पनि हेर्नुहाेस्– भाङ र दिउल खाऔं, स्वस्थ जीवन जिऔं

झुसे सिस्नाे ।

झुसे ‘सिस्नो’

स्थानीय वनस्पतिको बारेमा छलफल हुँदा सिस्नोलाई सम्झनै पर्छ । धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन् । नेपालमा सिस्नोलाई गरीबीको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो ।

सिस्नोको अंग्रेजी नाम ‘स्टिगिङ नेटल’ हो । वैज्ञानिक नाम भने ‘अर्टिका डिओइका’ हो । यो ल्याटिन शब्द ‘युरो’ बाट आएको हो । जसको अर्थ बल्नु वा जलाउनु हो । यसका पातमा भएका झुसले शरीरको कुनै अंगमा छोयो भने पोल्न थाल्छ।

खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन् । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन्।

‘सिक्स एभिडेन्स–बेस्ड बेनिफिट्स अफ स्टिगिङ नेटल’ शीर्षकमा प्रकाशित अनुसन्धानमूलक आलेख (रियान रमन, हेल्थलाइन डटकम, २१ नोभेम्बर २०१८) ले सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ भनेर उल्लेख गरेको छ । त्यस्तै यसमा क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र सोडियम लगायतका मिनरल्सहरू पनि पाइन्छन् । यसबाहेक स्वास्थ्यका लागि लाभदायक एमिनो एसिड, क्याफिक एसिड, क्याम्फोरोल, कर्सेटिन आदि पनि पाइने उल्लेख छ।

यसमा क्यान्सर प्रतिरोधात्मक गुण पनि पाइन्छ । विभिन्न खालका संक्रमणबाट पनि बचाउँछ । पुरुषहरूमा हुने प्रोस्टेड समस्या न्यूनीकरण गर्न पनि फलदायी छ । त्यस्तै रक्तचाप सन्तुलनमा राख्ने र नियमित सेवन गरे मधुमेहलाई समेत सन्तुलनमा राख्छ भनिएको छ।

नेपालका पाँचतारे होटलहरूले पनि सिस्नोको सुप महँगोमा बिक्री गर्दै आएका छन् । विदेशीले भने मीठो मानेर खान्छन् । नेपालमा चाहिं ‘सिस्नो’ खाने मान्छेलाई हेयको दृष्टिले हेरिन्छ । पहाडी भेगमा अहिले पनि धेरैको मुख्य खाना सिस्नो नै हो।

याे पनि पढ्नुहाेस्– नाम अंग्रेजी, भोजन नेपाली

 

प्रतिकृया दिनुहोस