ब्लग विहीबार, फागुन ८, २०७६

नाम अंग्रेजी, भोजन नेपाली

डा.अरुणा उप्रेती

नाम अंग्रेजी, भोजन नेपाली
अरुणा उप्रेती

फर्सीको तरकारी धेरैले मन पराउँदैनन् । तर, अष्ट्रेलियाबाट आउनेले ‘पम्पकिन’ को सुप उपहार दिए खुशी भएर खान्छन् । मानौं, फर्सीलाई पम्पकिन भनिएपछि मात्र त्यसले मिठास दिन्छ ! त्यस्तै भटमास खान नाक खुम्च्याउनेहरू सोयाविन खाँदा चाहिं खुशी देखिन्छन् । घरमा बनाएको भुटेको भात ‘छ्या’ हुन्छ तर, होटलमा ‘फ्राइड राइस’ वाह् !

अंग्रेजीमा भनिंदा राम्रो ठानिने त्यही परिकार नेपालीमा भनिंदा भने नराम्रो मानिने मानसिकताले जरा गाडेको छ । स्वास्थ्य मन्त्रालयले नै बालबालिकालाई कुपोषणबाट बचाउन पम्पकिनको खीर खुवाउन सिकाउँछ । तर, घरमै भएको फर्सीको तरकारी खुवाउन सिकाइँदैन ।

पम्पकिनको खीर बनाउन सिकाउने गोष्ठीबाट स्पष्ट हुन्छ कि नेपाली खाना बुझ्न अंग्रेजी फरर्र बोल्ने विदेशीले पढाउनुपर्छ । यस्तो लाग्दैछ, विदेशबाट प्याकेटमा आउने ‘पम्पकिन नट’ वा ‘पम्पकिन फुड’ हाम्रा घर–घर भित्रने र घरका फर्सी कुहेरै जाने अवस्था चाँडै आउँदैछ ।

कुपोषणबाट बचाउन योजना बनाउँदा गहुँ, फापर, आलु, बोडी, सिमी जस्ता सस्तो र सुलभ खाद्यान्नलाई वास्ता गरिंदैन, किनभने ती रङ्गीचङ्गी प्याकेटमा आउँदैन । स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारहरूले गर्ने पोषण सम्बन्धी कार्यक्रममा स्थानीय खाद्यान्न तथा भोजन संस्कृतिको चर्चा नै हुँदैन । काठमाडौंमा जे पाइन्छ नेपालको सबै भागमा त्यही पाइन्छ भन्ने मानसिकता बोकेर नीति बनाइन्छ ।

फर्सीको खीर खुवाउनुपर्छ भन्ने संस्थाले कुभिन्डो, लौका वा ईस्कुस पनि स्वस्थकर हुन्छ भनेर सिकाउँदैनन् । फर्सी नभएको ठाउँ–ठाउँमा कुभिण्डो र लौका फल्यो भने कुहिएर जान्छ । तर, भोलि कोही विदेशी आएर त्यही कुभिन्डो वा ईस्कुसको महत्व अंग्रेजीमा सिकायो भने हामी त्यसैलाई उत्तम मान्छौं ।

अहिले पनि हामी मालपुवा, सेल र जेरीको सट्टा केक किन्छौं । कोदोको रोटीको सट्टा ‘प्यान केक’ खान्छौं । रैथाने ज्ञान र मौलिक भोजनलाई बेवास्ता गरेर जेजस्तो कार्यक्रम बनाए पनि कुपोषण हट्दैन । रैथाने ज्ञानको स्रोत हाम्रा हजुरआमाहरू हुन् । त्यसैले भोजनबारे हजुरआमाहरूसँगको छलफल महत्वपूर्ण हुन्छ ।

केही दिनअघि गाउँ जाँदा बाटोमा उम्रिएको कर्कलो टिपेर घर ल्याएँ । त्यसलाई सुकाएर गुन्द्रुक र मस्यौरासँग पकाउँदा साह्रै मीठो भयो । महिला र बालबालिकालाई रक्तअल्पताबाट बचाउने लौहतत्वसहित कर्कलोमा क्याल्सियम, विभिन्न खनिज पदार्थ, भिटामिन ‘ए’, ‘सी’ र केही मात्रामा भिटामिन ‘के’ पाइन्छ।

चीन, ब्राजिल, ताइवान, बाङ्लादेश र अफ्रिकामा पनि कर्कलो खाने चलन छ । दक्षिण अमेरिकी देश कोस्टारिका, निकारागुवा, पनामा आदिमा कर्कलोको सुप खाइन्छ । कतिपय युरोपियन देशमा कर्कलोको जरा अर्थात् पिंडालुलाई आलुको सट्टामा प्रयोग गरिन्छ । नेपालमा भने बाटोमै फलेको कर्कलो कसैले खाएको देखिंदैन ।

अहिले पनि हामी मालपुवा, सेल र जेरीको सट्टा केक किन्छौं । कोदोको रोटीको सट्टा ‘प्यान केक’ खान्छौं । रैथाने ज्ञान र मौलिक भोजनलाई बेवास्ता गरेर जेजस्तो कार्यक्रम बनाए पनि कुपोषण हट्दैन । रैथाने ज्ञानको स्रोत हाम्रा हजुरआमाहरू हुन् । त्यसैले भोजनबारे हजुरआमाहरूसँगको छलफल महत्वपूर्ण हुन्छ ।

मैले यसबारे एक महिलालाई सोध्दा कर्कलोमा विष हुने बताएकी थिइन् । कर्कलोमा हुने ‘क्याल्सियम अक्सोलेट’ नामक तत्वको कारण यसो भनिएको हुनसक्छ । तर, रातभरि पानीमा भिजाएर र राम्रोसँग पकाएर अमिलो हाल्दा यसमा विषालु तत्व रहँदैन । घुँडा दुख्ने व्यक्तिले भने कर्कलो नखाएकै बेस हुन्छ ।

लट्टेको साग पाहुनालाई दिंदा अपमानित गरेको ठान्दा रहेछन् । तर त्यही लट्टे अंग्रेजी नाम ‘अमरान्थ’ भनेर ठूला होटलमा मीठो मानेर खाइन्छ । तराई तथा भित्री मधेशमा यसलाई चौलाई वा रामदाना, वा लुँडे पनि भनिन्छ । उच्च पहाड, कर्णाली र सुदूरपश्चिमतिर यसलाई ‘मार्से’ भनिन्छ । त्यतातिर लट्टेको तरकारी मात्र नभई दानाको सुप, पीठो, खीर बनाएर खाने चलन छ । 

लट्टेमा सूक्ष्म पोषण, विशेषगरी फलाम प्रचूर मात्रामा पाइन्छ । रगतको कमी भएका महिलालाई लट्टेको साग अति उपयोगी हुन्छ । लट्टेको पात पिसेर आँटामा मिसाई रोटी बनाउन सकिन्छ । दाल वा तरकारीमा लट्टेको पात मिसाई बच्चालाई खुवाउन सकिन्छ ।

संसारमा पाइने विभिन्न पुराना बालीमध्ये एक लट्टे अमेरिकी देशमा परापूर्वकालदेखि खेती गरिन्छ । मेक्सिकोमा यसबाट विभिन्न खाद्य पदार्थ बनाइन्छ । भारतमा पनि महसँग मिलाएर लड्डु बनाइन्छ । लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ ।

साथै भिटामिन ‘ई’, ‘सी’, फोलिक एसिड र क्याल्सियम पनि पाइन्छ । गहुँ पचाउन नसक्नेले साग पचाउन सक्छन् । तर, स्वास्थ्य मन्त्रालयले कुपोषण हटाउन लट्टे जस्ता वनस्पतितर्फ ध्यान दिएको छैन ।

प्रतिकृया दिनुहोस