ब्लग शुक्रबार, वैशाख ५, २०७७

'संक्रमण बढ्न थाल्यो भने स्वास्थ्यकर्मीहरुलाई धेरै गाह्रो हुन्छ'

हिमालखबर

'संक्रमण बढ्न थाल्यो भने स्वास्थ्यकर्मीहरुलाई धेरै गाह्रो हुन्छ'

“मेरो नाम विनिता न्यौपाने हो। म अहिले काठमाण्डौँमा बस्छु । पेशाले म स्टाफ नर्स हुँ।  हस्पिटल जाने बेला मास्क लगाउँछु। बाटोमा कार्ड देखाउँदा परैबाट बोल्ने गर्छु। जान आउन स्कुटर छ। तर पेट्रोल पाउन र हावा भर्न गाह्रो भइरहेको छ। साँझको ड्युटी गरेर घर फर्किंदा स्कुटर केही भयो भने नजिकै बनाउने ठाउँ सबै बन्द छन्।

मैले काम गर्ने हस्पिटलमा अहिलेसम्म कोरोनाको विरामी देखिएको छैन। अस्पतालमा पहिलेको भन्दा मास्क र स्यनिटाइजर कम छ। त्यसैले स्टाफहरुलाई पनि गाह्रो र डर महसूस भइरहेको छ । पसलमा किन्न पनि पाइँदैन। त्यसैले विरामीलाई छुने वित्तिकै साबुन पानीले राम्रोसँग हात धुने गरिरहेका छौं । विरामी नजिक जाने बेला मास्क र पञ्जा लगाउँछु। आफ्नो र परिवारको सुरक्षाका लागि घर आउने वित्तिकै लुगा धोएर र नुहाएर मात्र कोठामा छिर्छु। घरका अरुलाई पनि सर्छ कि भनेर डर हुन्छ। ईम्युनिटी पावर बढाउन अदुवा, तातो पानी, बेसार, तुलसी तथा अन्य खानेकुरा खाने गरेको छु।

सधै हस्पिटल जाँदा बाटोमा धुलो–धुवाँ हुन्थ्यो रुघाखोकी लागिरहन्थ्यो तर अहिले बाटो सफा छ। वातावरण पनि स्वच्छ छ। तर घरायसी र व्यक्तिगत सामान किन्न अलि गाह्रो भएको छ। घरमा बसेको बेला किताबहरु पढ्छु। ड्युटी नहुँदा दिन कटाउन चाहिं अलि गाह्रो भएको छ।

संसारभर धेरै मान्छेहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्। धेरैको ज्यान गएको छ। हाम्रो देशमा पनि यसको संक्रमण देखिइसकेको छ्।   

औषधि पत्ता लागि नसकेकाले कोरोना भाइरसलाई एकदम सिरियस रोगका रुपमा लिइएको छ। अनि यो महामारी भएर फैलिरहेको छ।

घर परिवारको चाहना म काममा नगए हुन्थ्यो भन्ने छ। अरु मान्छे भन्दा हामी मेडिकल फिल्डमा काम गर्नेहरुको जीवन अलि फरक छ। लकडाउनका बेला अरु घरमै बसे पनि हुन्छ। तर  हामी आफ्नो काममा गएनौँ भने विरामीको हेरचाह कसले गर्छ। स्वास्थ्यकर्मीको जिम्मेवारी यस्तो बेलामा झन धेरै हुन्छ भनेर घरमा सम्झाउँछु। हामीले धेरै जोखिमका साथ आफ्नो जिम्मेवारी निभाइरहेका छौं। संक्रमण बढ्न थाल्यो भने हामी स्वाथ्यकर्मीहरुलाई पनि धेरै गाह्रो हुन्छ कि जस्तो लाग्छ।“

 

'औषधीको पनि अभाव होला कि भन्ने डर छ'

– जमुना डंगाेल

“मेरो नाम जमुना डंगोल। म ५२ वर्षकी भएँ। मेरो बसाई नटोल ललितपुरमा हो। मलाई यो कोरोना भाइरस भनेको के हो थाहा छैन। तर यो रोगबाट बच्नको लागि हामीले नियमित रुपमा साबुन पानीले हात धुन पर्छ, घरभित्रै बस्नु पर्छ, हुलमुलमा जानुहुँदैन, तातो पानी पिउनु पर्छ, एक अर्कासँग हात मिलाउनेभन्दा पनि नमस्कार गर्नुपर्छ भन्ने मलाई थाहा छ। 

म सुगरको बिरामी हुँ र सुगरको औषधी निरन्तर खाइरहेको छु। मेरो बिहान बेलुका हिंड्ने बानी थियो। हिंड्दा स्वास्थ्यलाई पनि फाइदा हुन्थ्यो। हाम्रो घरतिर अलि कडा छ। बाहिर मान्छेहरु निस्केको छ कि भनेर पुलिसहरु आइरहन्छन्। यसो ढोकाबाट हेर्छु पुलिस आएको देखें भने हतपत घरभित्र पसिहाल्छु। राम्रोसंग हिंड्न पाएको छैन। अहिले घरको गल्लीमा मात्र अलि हिंडडुल गर्छु।

कोरोना भाइरसको कारणले गर्दा म जस्तो सुगरको बिरामी अहिले घरमै बस्नु परेको छ। औषधी खाइरहनुपर्ने मान्छे म, कतै औषधीको पनि अभाव होला कि भनेर डर लाग्छ। अहिले मेरो कामहरु भनेको दिनभरि घर बस्ने, बत्ती कात्ने, लुगा धुने, पानी तान्ने, सरसफाई गर्ने नै भएको छ।  बाहिर गई राख्ने मान्छेहरुलाई त घरमै बसिरहन गाह्रो पनि भएको छ होला, तर मलाई खासै गाह्रो भएको छैन घरमा बस्न।“


कथा किन ?

अहिले संसार नै कोरोनाभाइरसको संक्रमणका कारण आइपरेको महाविपत्तीमा छ । संसारभर यसबाट संक्रमित र ज्यान गुमाउनेको संख्या लाखमा गणना हुन थालिसकेको छ । संक्रमण बिस्तारलाई नियन्त्रण गर्नकै लागी हामीकहाँ पनि सरकारले बन्दाबन्दी गरेको छ । जो अहिले तेस्रो सातामा छ ।

विपद् सबैका लागि उस्तै हो । तर यस्ता खाले विपद् र महामारीको ठूलो र गम्भीर असर सिमान्तकृत समुदयमा ज्यादा पर्छ । हाम्रो देशमा महिलाविपन्न वर्गसिमान्तिकृतअपांगता भएका व्यक्तिहरुलैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै भौगोलिक रुपमा विकट ठाउँमा बसोवास गर्नेहरुमाथि यो महामारीको असर धेरै परिरहेको छ । यस महामारीले उनीहरुमाथि पारिरहेको प्रभावसंग जोडिएका कथाहरुलाई बाहिर ल्याउने कोशिस हो, कथा कोरोना । २६ चैतदेखी कथा कोरोना टीमले आफ्नो फेसबुक पेज https://www.facebook.com/pg/KathaCoronaNepal मार्फत सार्वजनिक गरिरहेको यो प्रयासमा आजैदेखी हिमालखबर पनि जोडिएको छ ।

मान्छेको भोगाई आफैमा सबैभन्दा बलियो साहित्य पनि हो । भोगाइहरुलाई बुन्दै जाँदा तिनीहरु कथा बन्छन् । एक अर्काको कथाले नै हामीलाई जोड्छन् । ति कथाहरुले हामीमा आँट र साहस भर्छन् । अनि हाम्रा कथाहरुले नै हामीलाई यो विपद्को बेलामा एकबद्ध हुन सहयोग गर्छन्। यी र यस्तै विश्वासमा बनेको, कथा कोरोना तपाईलाई पनि मनपर्ने अपेक्षामा यो स्तम्भ पेश गरेका छैँ ।

संयोजक, कथा कोरोना टीम
@KathaCorona

सम्पादक
himalkhabar.com
@HImal_khabar

प्रतिकृया दिनुहोस