ब्लग शुक्रबार, वैशाख ५, २०७७

बन्दाबन्दीमा बालबालिका: के मा व्यस्त राख्ने ? कसरी सिकाउने ?

हिमालखबर

बन्दाबन्दीमा बालबालिका: के मा व्यस्त राख्ने ? कसरी सिकाउने ?
स्केच: www.mottchildren.org
चिरञ्जीवी लामिछाने

कोरोनाभाइरस (कोभिड-१९) को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीका कारण तीन सातायता हामी घरभित्रै सीमित भएका छौं। हामीमध्ये धेरैलाई यो बाध्यात्मक घरबासले उकुसमुकुस पारिरहेको होला। त्यसमा पनि यो वेला अभिभावकलाई बालबालिकाको समय केकसरी सदुपयोग गर्ने भन्ने चुनौती थपिएको छ।

कतिपय बालबालिकाले स्मार्टफोनमा अत्यधिक समय बिताएकोमा त्यसको व्यवस्थापनको चिन्ता छ भने अर्कातिर उनीहरु एकै ठाउँमा गुम्सिनुपर्दा विभिन्न मनोवैज्ञानिक समस्याबाट घेरिएलान् भन्ने पिरलो पनि छ।

बालबालिकालाई यो वेला व्यस्त र रचनात्मक बनाउँदै शारीरिक/मानसिक विकास गर्ने उपाय के हुनसक्छ त ? उनीहरुको सर्वपक्षीय हितलाई ध्यान दिने हो भने बन्दाबन्दीलाई निम्न कुराका लागि अवसर बनाउन सकिन्छ:

व्यावहारिक कुरा सिकाउने

बालबालिकालाई व्यस्त राख्न मात्र नभई व्यावहारिक बनाउन पनि विभिन्न खाले घरायसी काम गर्न प्रेरित गर्न सकिन्छ। भान्साका कामहरू जस्तै- तरकारी केलाउन/काट्न सिकाउने, विभिन्न खानेकुरा/परिकार केकसरी बन्छन् भनी सिकाउने तथा आफैंलाई गर्न लगाउने, भान्साको सरसफाइ तथा भाँडाकुँडाहरू माझ्न सिकाउने आदि गर्न सकिन्छ। यी काम आफू पनि सँगै मिलेर गरे उनीहरुले रमाइलो मान्छन्। 

यस बाहेक घर/कोठाको सरसफाइका साथै लुगाकपडा, सजावटका सामान, आफ्ना किताब-कापी आदि मिलाएर राख्न पनि प्रेरित गर्न सकिन्छ। करेसाबारी, कौसी खेती छ भने त्यहाँका कामहरू सिकाउने अवसरका रुपमा पनि यो वेलालाई प्रयोग गर्न सकिन्छ। यस्तै, मान्यजनलाई गर्नुपर्ने व्यवहार, सामाजिक मूल्य-मान्यता तथा उमेर र रुचि अनुसार समसामयिक विषयबारे बताएर पनि बालबालिकालाई जानकार बनाउन सकिन्छ।

खेल र व्यायाममा प्रेरित गर्ने

बालबालिकाहरू स्वभावैले चञ्चल हुन्छन्। यस्तो चञ्चलतालाई खेल तथा व्यायामका माध्यमबाट व्यक्त गराउन सकिए बालबालिकाको शारीरिक, मानसिक तथा संवेगात्मक सबै पक्षको विकास हुन पुग्छ। शरीर सक्रिय भएपछि तनाव बढाउने हर्मोनको उत्पादनमा कमी आएर स्फूर्ति पनि बढ्छ। तर, पछिल्लो समय बालबालिका मात्र नभई ठूलाको पनि खेलप्रतिको लगाव डिजिटल डिभाइसहरूमा साँघुरिंदै गएको पाइन्छ। यसतर्फ परिवारका सबै जना सचेत भई घरभित्रै परिवारका सदस्यहरूबीच चेस, लुडो, म्युजिकल चेयर, ब्याडमिन्टन र ठाउँ भएसम्म भलिबल, फुटबल, टिटी आदि खेलहरू खेल्न सकिन्छ। यस बाहेक हल्का व्यायाम, योगासनहरू गर्न/गराउन पनि यो समय महत्वपूर्ण साबित हुनसक्छ।

पुस्तक/पत्रिकाको अध्ययनमा जोड दिने

सामान्यतया धेरैजसो अभिभावकले आफ्ना बालबालिकालाई लामो बिदाको वेला पनि पाठ्यपुस्तकको अध्ययनका लागि मात्र दबाब दिने गरेको पाइन्छ। तर, बालबालिकाहरू सधैं त्यसका लागि तयार हुँदैनन्। खासमा यसरी दबाब दिनु उनीहरूमा तनाव सिर्जना गर्नु मात्र हो। यस्तो अवस्थामा पाठ्यपुस्तकको अध्ययनका साथै उनीहरूको स्तर वा रुचि अनुसारका पुस्तक/पत्रपत्रिका उपलब्ध गराएर बाहिरी अध्ययनका लागि पनि प्रेरित गर्नु उचित हुन्छ। जसले उनीहरुमा सूचना र ज्ञानको दायरा फराकिलो पार्छ र रचनात्मक क्षमता पनि बढ्छ।

कागजी पुस्तकहरू मात्र होइन, इन्टरनेटमा पाइने ई-बुकहरू र अडियो बुकहरू पनि सुविधा अनुसार अध्ययन गर्न सकिन्छ। यसबाट उनीहरूको बौद्धिक विकासमा मात्र नभई स्क्रिन (स्मार्टफोन, कम्प्युटर, टिभी आदि) मा बिताउने समय घटाउन पनि सहयोग पुग्छ। पुस्तकहरु आफैंले रोचक तरिकाले पढेर सुनाएर उनीहरुमा चाख बढाउन पनि सकिन्छ। 

इन्टरनेटको सही प्रयोगमा केन्द्रित गराउने

सूचना-प्रविधिका माध्यमबाट हामीले अनेकौं किसिमका फाइदाहरू लिन सक्छौं। तर, हामीमध्ये धेरैजसो अभिभावकको के गुनासो हुन्छ भने, सूचना-प्रविधिका आधुनिक साधनहरूका कारण बालबालिकाको दैनिकी, आनीबानी र पढाइमै गम्भीर असर परिरहेको छ। यसो भनेर के यस्ता कुराबाट उनीहरूलाई जतिसक्दो टाढा राख्ने कोसिस गर्ने हो त? अवश्यै होइन। आजको समयमा सूचना-प्रविधिबाट बालबालिकालाई टाढा राख्नु भनेको उनीहरूलाई पछाडि पार्नु हो।

हामीले बुझ्नु के जरुरी छ भने, सूचना-प्रविधिका आधुनिक साधनहरू खराब होइनन्, तिनको प्रयोग सही किसिमले नहुनु चाहिँ ठूलो चुनौती हो। यसका लागि सर्वप्रथम उनीहरूलाई स्मार्टफोन, कम्प्युटर र इन्टरनेटबाट अनेकौं फलदायी कुरातर्फ मोडेर स्क्रिनको लतको सट्टा स्क्रिनबाट फाइदातर्फ मोड्न सकिन्छ। उनीहरूको पढाइ, स्तर र रूचिका कुरा इन्टरनेटमा खोज्न सिकाउनु, त्यसको प्रयोग गरी कुनै नयाँ ज्ञान/सीपको विकास गर्न प्रेरित गर्नु तथा सही र गलत के हो भन्ने समेत जानकारी दिनसक्नु नै यसको सही प्रयोग हो।

रचनात्मक सीप विकासका लागि प्रेरित गर्ने

आफ्ना बालबालिकासँग अभिभावकका धेरै अपेक्षा हुन्छन्। उनीहरूले रचनात्मक सीप र प्रतिभाको विकास गरेर छुट्टै पहिचान बनाउन सकून् भन्ने चाहना सबै अभिभावकको हुन्छ। तर, चाहना गरेर मात्र हुँदैन, यसका लागि अभिभावकले पनि उनीहरुको रुचि र चाखको अध्ययन गरेर त्यसका लागि सकेसम्म सहयोग र सहजीकरण गर्नुपर्छ। कथा, कविता जस्ता लेखरचना लेख्न खोज्नेलाई त्यस्ता कुरामा हौसला दिने र सकेसम्म सहज बनाउने कोसिस गर्नुपर्छ।

कतिपयको रुचि चित्रकला, फोटोग्राफी, भिडियोग्राफी आदिमा पनि हुने गर्छ। अन्य कतिपयको रुचि गायन, वाद्यवादन, नाटक, खेलकुद आदिमा हुनसक्छ। यस्ता कुराले फस्टाउने मौका पाउन अभिभावकको साथ, समर्थन र सहयोग धेरै महत्वपूर्ण हुन्छ। बढी नै फुर्सदको यो समयलाई यस्ता रचनात्मक सीप र प्रतिभाको विकासका लागि खर्चने हो भने जीवनभरिकै लागि उत्पादक बन्न सक्छ।

मानिसलाई समय त्यो वेला मूल्यवान् लाग्छ, जतिवेला पर्याप्त समय उपलब्ध हुँदैन। यो वेला समय नै समय छ, तर यसको महत्व कम लागेको हुनसक्छ। आफ्ना बालबालिकालाई समयको महत्व बुझाएर व्यावहारिक, जीवनोपयोगी र रचनात्मक कार्यमा क्रियाशील बनाउन सक्दा यो समयलाई फलदायी र प्रभावकारी बनाउन सकिन्छ।

लामिछाने मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्छन्।

प्रतिकृया दिनुहोस