कोभिड-१९ शुक्रबार, चैत २१, २०७६

"बन्दाबन्दीमा थप सिर्जनात्मक बनेकी छु"

हिमालखबर

"बन्दाबन्दीमा थप सिर्जनात्मक बनेकी छु"

बन्दाबन्दीमा घरभित्रै बस्नुपर्दा धेरैलाई सकस हुन थालेको छ। त्यहीकारण कतिपय कलाकारले फेसबुक र युट्युबमा लाइभ कन्सर्ट गरिरहेका छन्। सामाजिक सञ्जालहरुमा दोहोरी गीत पनि दिन थालिएको छ। कविहरुले कविता वाचन गरिरहेका छन्। चित्रकार रागिनी उपाध्यायले बन्दाबन्दीकाे बेला सिर्जेकाे कामबारे हिमालखबरसँग गरेकाे कुराकानी –

बन्दाबन्दीको समय कसरी बिताउँदै हुनुहुन्छ ?

अधिकांश समय पेन्टिङमा नै बिताइरहेकी छु। बिहान उठेपछि एक घन्टा ध्यान गर्छु। त्यसपछि ब्रेकफास्ट गरेर पेन्टिङ गर्न बस्छु। दिनको ६/७ घन्टा पेन्टिङ गरिरहेकी छु। बन्दाबन्दी शुरु भएपछि ‘कोरोनाको आँशु’ र ‘प्रेमी औजार’ शिर्षकका दुई वटा पेन्टिङ बनाएकी छु। अर्को नयाँ पेन्टिङको स्केच बनाउने तयारीमा छु।

‘कोरोनाको आँशु’ र ‘प्रेमी औजार’ कस्ता चित्र हुन् ?

‘कोरोनाको आँशु’ मा अहिलेका अवस्था हामी मानव जातिले वर्षौंदेखि पृथ्वी, जीवजन्तु, रुखविरुवालाई गरेको अत्याचारको प्रतिफल हो भन्ने देखाउन खोजेकी छु। सबैलाई ठाउँ चाहिन्छ। त्यो ठाउँ यस्ता महामारी झेल्नुपर्छ भन्ने मेरो बुझाइ हो।


हामी मानव जातिकै गल्तिले आफैले आफैलाई बन्दी बनाउनु परेको छ। पृथ्वीले, बोटबिरुवाले, जीवजन्तुले आँशु झार्दा हामी मानव जातीले पनि आँशु झार्नुपरेको अवस्था हो। यो विपत्तिबाट हामीले सिक्नुपर्छ। पृथ्वी हाम्रो आमा हो। अहिलेको महामारी आमाको चित्कार हो।

‘प्रेमी औजार’ जनचेतनामूलक पेन्टिङ हो । यो व्यक्तिगत सरसफाईसँग सबन्धित छ। भाइरस संक्रमणबाट हामीलाई बचाउने साधन भनेको नै साबुन, पानी, पन्जा, तथा मास्क हो। यसले हामीलाई जीवन दिन्छ। त्यसैले मेलै यसको शिर्षक ‘प्रेमी औजार’ राखेकी हुँ। यसलाई हामीले नियमित प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन खोजेकी छु।

बन्दाबन्दीले नयाँ सिर्जनामा असर पुर्‌याएको छैन ?

खुलेको आकाश, चराहरुको चिरबिर, शान्त वातावरण, धुँवाधुलो रहित हावा भएको यो बन्दाबन्दीमा म एकदमै रमाइरहेकी छु। यसले त मलाई थप सिर्जनात्मक बनाइरहेको छ। नयाँ ‘आइडिया’ हरु फुरिरहेका छन्। हामी सबै मानव जाति केही समय यसरी नै शान्त बसिदिए महामारीबाट जोगिनुको साथै पृथ्वीले पनि श्वास फेर्ने अवसर पाउँछ। त्यसैले पनि घरैमा सुरक्षित रहेर अझै सिर्जनात्मक काम गरिरहेको छु।

कसरी बन्दाबन्दीले सिर्जनात्मक बनायो ?

अवश्य पनि बन्दाबन्दी हुनु राम्रो होईन। तर, कोरोनाभाइरस संक्रमण फैलन नदिनको लागि अर्को उपाय छैन। त्योसँगै म जस्तो कलाकारको लागि शान्त वातावरण जरुरी हुन्छ। त्यो शान्ति अहिले पाएको छु। शान्त वातावरणले दिमागलाई सिर्जनात्मक बनाउँछ, स्फुर्ती दिन्छ। अहिले कोलाहलमुक्त शहर भएको छ। आकाश खुलेको छ। वर्षौंपछि चराहरुको मात्रै चिरबिर सुनिरहेकी छु। यसले मलाई आनन्द दिएको छ।

कत्ति वर्षपछि शहर शान्त भएको महशुस गर्दैहुनुहुन्छ ?

म काठमाडौं बस्न थालेको धेरै वर्ष भयो। कोलाहलभन्दा अलि टाढा बस्ने मनसायले २५ वर्षअघि बालकोट आएकी हुँ। त्यस वेला अहिलेको तुलनामा धेरै शान्त त थियो तर, यो बन्दाबन्दीको समय जस्तो शान्त थिएन। त्यसपछि त झनै शहरीकरण बढ्यो। अनि कोलाहल पनि बढ्दै गयो । आफैले आफैलाई खोज्न सकिने शान्त वातावरण छ, अहिले। त्यसैले सबैलाई यो शान्त वातावरण रमाउँदै घरैमा सुरक्षित बसौं भन्न चाहान्छु।

रागिनीकाे कला ।

यो बन्दाबन्दीले तपाईंमा केही परिवर्तन ल्यायो ?

बन्दाबन्दी शुरु हुनुअघि देखि नै मलाई मासु खान मन लागिरहेको थिएन। बन्दाबन्दीपछि मैले खान छोडें। पशुको ज्यान मारेर आफ्नो तृप्ति मेट्न हुँदैन भन्ने मनमा आएपछि मासु छोडेकी हुँ। यो पृथ्वीमा भएको सबैले बराबर ठाउँ पाउनुपर्छ भन्ने सोचले म साकाहारी भएकी हुँ। मेरो जीवनमा यो ठूलो परिवर्तन हो।

नयाँ पेन्टिङको विषय के छ ?

अहिलेको परिस्थितिले जुन व्यक्तिगत दूरी खडा गरेको छ, त्यसलाई चित्रमा उतार्ने योजना छ।

प्रतिकृया दिनुहोस