'महामारी अमेरिका पनि आइपुग्ला भन्ने सोचेकै थिएनौं !'
चीनमा ठूलो विनाश गरेर महामारी यूरोप पुग्यो, त्यहाँ उत्पात मच्यायो, कोकोहोलो मच्चियो । तर, पनि अमेरिकावासीलाई लाग्यो—महामारी अमेरिकासम्म आइपुग्दैन, महामारीले हामीलाई छुँदैन ।
“यी सबै झोला बेसमेन्टमै राखौं । चिसो छ । एकरात राखेपछि माथि लैजाउँला,’’ हामीले बिहीबार किनेर ल्याएका खाद्यान्न आदि त्यसै गर्यौं ।
दूध सकिएकाले लानै पर्ने थियो । अरू त्यसै छाडियो । कोभिड १९ का विषाणु मुक्त पार्न दूधको ग्यालन मज्जाले धोइयो । अनि मात्र रेफ्रिजिरेटरमा थन्काइयो । हात धुनु, ढोकाको हाते सफा पार्ने आदि काम अब नौलो रहेन । बेसमेन्टमै छाड्नेमा दिनहुँ आउने चिठीपत्र पनि पर्छन् ।
बेलुका नहुँदै शुक्रबार मध्यरातपछि घरमै बस्ने आदेश (स्टे एट् होम) लागू हुने घोषणा भयो । मेरो काम थपियो, घर आइपुगेका चेक राख्ने ।
शुक्रबार बिहान बेसमेन्टका सामान बल्ल भान्सा पुगे । चेक राख्न ब्यांक जाँदा ढोकाबाटै कर्मचारीले ‘टेलर’ मा अहिले हुन्न, ड्राइभ—थ्रोको टेलरमा जानु भनिन् । व्यक्तिको नजिक हुन नदिन यसो गरिएको रहेछ । शुक्रबार परेकाले ड्राइभ—थ्रोको टेलरमा गाडीको लाइन थियो ।
शनिबार घरमै बित्यो ।
आइतबार गाडीमा तेल हाल्न जाँदा पञ्जा बोकेर गएँ । तेल भरेपछि पञ्जा फ्याँके र स्यानिटाइजर लगाउँदै घर फिरें । डराउँदै —डराउँदै क्रेडिट कार्ड पुछेर गोजीमा हालें । त्यसलाई एकरात छुट्टै राखें ।
केही दिन यता यस्तो छ, दिनचर्या । म यसलाई ग्लोबल दिनचर्याको संज्ञा दिन रुचाउँछु ।
चिन्ताको उल्टो बाटो
एक साताअघिसम्म हामी नेपालमा भएका आफन्तको चिन्ता गथ्र्यौं । अहिले चिन्ता उल्टो बग्न थालेको छ । फेसबुक, मेसेन्जर, भाइबर आदिमा फोन बजिरहन्छन् । रमाइलै भएको छ, हामी पनि फुर्सदिला भएका छौं । कोभिड १९ सिर्जित परिस्थितिले धेरैको जीवनकालमा बिरलै यस्तो फुर्सद ल्याइदिएको छ ।
म अमेरिकाको उत्तर—पूर्वी राज्य न्यू ह्याम्सरमा बस्छु । म बस्ने शहर म्यानचेस्टरबाट बोस्टन (म्यासच्युसेट्स) पुग्न करीब १ घन्टा र न्यूयोर्क पुग्न करीब ५ घन्टा (दुई सय ५० माइल टाढा) लाग्छ । न्यू ह्याम्सर राज्यको जनसंख्या करीब १४ लाख मात्र छ, जहाँ नेपालीभाषीहरू करीब ४ हजारको संख्यामा छन् । अमेरिकामा रहेका नेपाली संस्थाहरूको हिसाबमा अमेरिकाको पूर्वी भागमा नेपाली बढी छन् ।
सडकमा गाडी कम छन् । शहरका मुख्य बाटो (डाउनटाउन) मा सूक्ष्म चहलपहल छ । डाउनटाउनमा रहेको प्रमोद न्यौपानेको बन्निज (सुविधाको दोकान) ले आफ्नो सेवा—समय सीमित गरेको छ । अरू धेरै व्यवसाय त खोल्नै नमिल्ने भनेकाले बन्द छन् । यस अर्थमा धेरै बन्द, थोरै चलेका छन् ।
बन्दाबन्दीको फरक परिभाषा
बन्दाबन्दीको परिभाषा यहाँ अलि फरक छ । घरमै बस्ने आदेशका शर्तहरू छन् । न्यूयोर्कमा सल्कदो महामारीले सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले न्यूयोर्क, न्यूजर्सी र कनेटिकटमा यात्रा नगर्न भनेको छ । न्यू ह्याम्सर आइपुग्न कनेटिकट र म्यासच्युसेट्स छिचोल्नुपर्छ । महामारीले महादेशहरू पार गरेको छ, यो त छुसी हो ।
कलेज मे महीनाको पहिलो साता सकिने थिए । स्कूल जून महिनाको तेस्रो साता । स्कूल—कलेज बन्द गरिएको १० दिन भयो । नानीहरू घरमै छन्। आइप्याड आदिको प्रयोगबाट स्कूल—कलेजको पढाइमा जुटेका छन् । दुवैको शैक्षिक सत्र अब यत्तिकै सकिने लक्षण देखिन्छ ।
अब गर्मीयामको बिदा जून—अगस्त हुँदै अगस्त अन्तिम वा सेप्टेम्बर शुरुदेखि स्कूल—कलेज खुलाउन सक्ने संभावना देखिंदैछ । विद्यार्थी घरमा छन्, शिक्षकलाई तलब भने धेरै राज्यमा दिने शर्त गरेको छ ।
धेरैजसो राज्यमा अत्यावश्यक गतिविधिबाहेक घरमै बस्ने आदेश जारी भएको छ । यदि अत्यावश्यक कारणले निस्कनुप¥यो भने सामाजिक (पारस्परिक) दूरीलाई व्यवहारमा उतार्न आग्रह गरिएको छ । यो दूरीका लागि ६ फिट टाढा बस्नुपर्ने हो ।
अत्यावश्यक भनेर आधारभूत सामग्रीका लागि बाहिर निस्कन पाइने, जस्तैः किरानाका सामान, घरपालुवा जनावरको खाना किन्न, गाडीमा तेल, ग्यास भर्न, औषधि लिन वा चिकित्सा—सेवा पाउन, नातागोता वा साथीको स्याहार गर्न, अत्यावश्यक जागिरका लागि जान, स्वच्छ हावा खान घरबाहिर जान सक्ने लगायतका आदेशहरू छन् ।
त्यसैअनुसार किराना दोकानहरू, फूड ब्यांक खुला छन् । रेष्टुराँबाट आफैंले लिएर आउने, घरमा मगाउने वा गाडीबाट झ्यालबाटै सामान लिन मात्र पाइन्छ । ग्यास स्टेशन, औषधालय (फार्मेसी), ब्यांक, क्रेडिट युनियन, वित्तीय संस्थालगायत केही अरू अत्यावश्यक व्यवसायहरूले पनि काम गरिरहेका छन् ।
अनि एकाघरमा बस्ने मान्छे—मान्छेबाहेक उपस्थित हुने कुनै पनि प्रकारका सार्वजनिक वा व्यक्तिगत भेला नगर्न भनिएको छ । देशबाहिर मात्र होइन, अर्को राज्यबाट आएकालाई १४ दिन स्वयम् निगरानीमा बस्न भनिएको छ ।
किराना पसलहरू पहिला जस्ता छैनन् । मासु, टोइलेट पेपर, आदि यस्तै सामानमा दुईवटा भन्दा बढी किन्न नपाइने लेखिएको छ । पसलमा गएर किन्ने कम भएकाले अनलाइन अर्डरका लागि टार्गेट, डलर जनरल, वालमार्ट, अमेजन आदिले पछिल्लो समय धेरैलाई काम दिन थालेका छन् । अनलाइन अर्डर बढेकाले कामदारहरू पनि कहाँ खतरामुक्त छन् र ?
सीडीसी लगायत सबैले गरेका आग्रह राज्यले बारम्बार दोहो¥याएका छन् । स्वास्थ्य अधिकारी तथा चिकित्सकहरू एक स्वरमा हामीले गर्नसक्ने उत्कृष्ट काम भनेको ‘यताउता नहिंडी एकै ठाउँमा बस्नु नै हो’ भनिरहेका छन् ।
मेरो काम दोभाषेका रूपमा अस्पतालहरू पुग्ने गरेको थिएँ । नेपालीभाषीलाई डाक्टर आदिको बोली उल्था गरिदिने र स्वास्थ्यकर्मीका कुरा नेपालीभाषीलाई अंग्रेजीमा भनिदिनुपर्ने । तर, मैले गर्दै आएको काम पनि अहिले रोकिएको छ । एक त अस्पतालहरूले अनुरोध पठाएका छैनन्, अर्को मैले पनि यो अवस्थामा घरबाहिर जाने जाँगर देखाएको छैन । अनुवादकको छिटपुट कामको गति पनि सुस्त छ ।
हरेक क्षण घरमा रहेपछि व्यस्त पार्ने कोशिस त गरिन्छ नै, आफूलाई ढाडस पनि दिने गरिन्छ, ‘अहिलेसम्म अरू देशमा देखिएको कोरोनाभाइरसको चक्र दुईदेखि अढाइ महीनाको छ । मे महीनाको १०—१५ तिर यो मत्थर पक्कै हुनेछ ।’ यति नजिकै महामारी आउँदा पनि म भएका ठाउँमा त आउँदैन कि भन्ने पनि लाग्ने रहेछ ।
चीनमा फैलिँदा यहाँ त के आउला र भनिन्थ्यो । फैलँदै यूरोप डुलुञ्जेल पनि त्यसै भनियो । अहिले आफ्नो ढोकैमा आइपुगेको छ । सोमबार बिहान (अमेरिकी समय अनुसार) न्यू ह्याम्सरमा ३ सय ६७ संक्रमित, ३ जनाको मृत्यु, ४९ जना अस्पतालमा, करिब ६ हजारभन्दा बढीको जाँच नेगेटिभ, र १२ सय जति निगरानीमा छन् । अमेरिकाभर १ लाख ८९ हजार संक्रमित, ३ हजार ८ सय ९६ को मृत्यु भएको छ ।
नेपालबाट हवाईजहाजमा बोस्टन झर्यो । उकालो न्यू ह्याम्सर आयो । फेरि नेपाल जानुपर्दा बोस्टन पुग्यो । हाम्रा लागि न्यूयोर्क नजिक भएर पनि टाढाको ठाउँ लाग्छ । तर, महामारीको विस्तारले यतिबेला न्यूयोर्क पो नजिक लागेको छ !
(कोइराला, अमेरिकाबाट निस्कने नेपाली न्युजलेटर ‘अक्षरिका’ का सम्पादक हुन् ।)