ब्लग शुक्रबार, चैत १४, २०७६

कोभिड १९ महामारीमा सूचनाको महामारी

हिमालखबर

कोभिड १९ महामारीमा सूचनाको महामारी

अर्कालाई हानि पुर्‍याउने दुराशय राखेर फैलाइने यस्ता अफवाह नियन्त्रणका लागि हामी सबै एकजुट हुनुपर्छ, जसका लागि कोभिड १९ अवसर बन्न सक्छ ।

– निर्मल कँडेल

हामी मध्ये धेरै ‘इन्फरमेसन डिसअर्डर सिन्ड्रोम’ बाट पीडित हुन सक्छौं । डिजिटाइज्ड विश्वका कारण हरेक व्यक्तिको फोन, ट्याब्लेट र कम्प्युटरमा कुनै पनि समयमा सूचना प्रवाह हुन सक्छ । इन्फरमेसन डिसअर्डर सिन्ड्रोमले गलत सूचना प्रवाह गरिरहेको छ । त्यस्ता सूचनाको नोक्सानी पुर्‍याउने उद्देश्य हुन वा नहुन पनि सक्छ । ती सूचनाहरुलाई झूठो, दुष्प्रचार, दुराशययुक्त भनी वर्गीकरण गरिएको छ।

पहिलो, झूटो सूचना सामान्य प्रकृतिको हो । यसमा व्यक्तिले अरुलाई हानि पुर्‍याउने अभिप्राय नराखी गलत सूचना प्रवाह गर्दछ । दोस्रो दुष्प्रचार मध्यम प्रकृतिको हो । यसमा व्यक्तिले पैसा कमाउने वा राजनीतिक फाइदा प्राप्त गर्ने उद्देश्य राखेर गलत जानकारी प्रवाह गर्दछ तर नोक्सानी पुर्‍याउने अभिप्राय राखिएको हुँदैन । तेस्रो दुराशययुक्त भने गम्भीर प्रकृतिको सूचना हो। यसमा व्यक्तिले अरुलाई हानि नोक्सानी पुर्‍याउने अभिप्रायले सूचना प्रवाह गर्दछ।

पहिलो श्रेणीको समस्या दाहोरिरहन्छ, दोस्रो र तेस्रो श्रेणीका सबै पीडितलाई मनोसामाजिक परामर्श आवश्यक पर्छ । सूचना विकृति नियन्त्रण गर्न कहिलेकाहीं कडा कानून बनाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । अहिलेका लागि सबैभन्दा महत्वपूर्ण हस्तक्षेप भनेको सामाजिक सञ्जाल र समाचारका सबै पोष्ट वास्तविक हुँदैनन् र तिनको व्याख्या होसियारीपूर्वक गर्नुपर्छ भन्ने तथ्य मनन् गर्नुपर्छ।

प्रोपोगान्डा

ब्रिटानिकाले प्रोपोगान्डालाई जनमत प्रभावित पार्न प्रवाह गरिने जानकारी (तथ्य, तर्क, अफवाह, अर्धसत्य वा झूठ) भनेर परिभाषित गरेको छ । प्रोपोगान्डा १६ औं शताब्दीदेखि नै शुरु भएको मानिन्छ । केहीले त इसापूर्व ५०० भन्दा अघिदेखि नै यसको प्रयोग भएको मान्यता राख्छन् । विगतमा प्रोपोगान्डाको प्रयोग राजनीतिक उद्देश्य र आस्थामा आधारित संस्थाका लागि गरिन्थ्यो । प्रचारप्रसारका लागि धेरै समय र स्रोतसाधन खर्च हुन्थ्यो।

अहिले डिजिटाइज्ड संसारसँग धेरै खालका सूचना विकृतिसगै प्रोपोगान्डा छन् र ती राजनीतिक तहसम्ममात्र सीमित छैनन् । संसार इन्टरनेट, सामाजिक सञ्जाल र सर्च इन्जिनको माध्यमबाट जोडिएको छ।

एक क्लिकका भरमा रियल टायम इन्फरमेशनसम्मको पहुँचले धेरै सकारात्मक परिवर्तन भएको छ। तर, सँगसँगै यसले हामीलाई जोड्ने भन्दा छुट्याउने काम गरिरहेको छ।

सोसल मिडिया फिडका उदाहरणमा एउटी चिनियाँ महिलाले चमेरा टोकिरहेको भिडियो प्रवाह गरिएको थियो। वुहानमा त्यो चमेरालाई गोली हानिएकाले महामारी शुरु भएको भनिएको थियो । वास्तवमा त्यो भिडियो २०१६ मा प्रसारण भएको पलाउ किचन सोको एउटा अंश हो।

हामीसँग नक्कली वेबसाइट र सामाजिक सञ्जालका अकाउन्ट छन्, सुझावसहितका ट्रेण्डिङ, ह्यासट्याग, अफवाहयुक्त समाचार, सन्देश र भिडियो तयार गर्ने र फैलाउने समुदाय पनि छन् । यो जटिल सूचना परिस्थिति प्रणालीको व्यवस्थापन र दुरुपयोग बुझ्न सहज छैन।

विभिन्न समुदायका आआफ्नै निहित स्वार्थ छन् र तिनीहरुले आफ्नो लाभका लागि सूचना प्रविधिका विभिन्न हथकण्डा प्रयोग गर्छन्, जसले आमनागरिकलाई के प्रभाव पर्छ भन्ने वास्ता गर्दैन । यति हुँदा हुँदै पनि हामी जानी नजानी यसका अभिन्न अंश बनिरहेका छौं । हामी सबैले सामाजिक सञ्जालमा आएका पोष्टहरुको असर र परिणाम नबुझी सेयर र रिसेयर गरिरहेका छौं । नक्कली वेबसाइट र समाचारमा भर परेर कसैलाई समर्थन र कसैलाई पूर्वाग्रह राख्दै निन्दा गरिरहेका छौं।

इन्फरमेसन डिसअर्डर सिन्ड्रोम

तथ्य बंग्याउनु, सूचना फेरबदल गर्नु, परिणाम नबुझी सूचना प्रवाह गर्नु, अरुको आस्था र विश्वास पुष्टि गर्न सहयोग गर्नु, निहित स्वार्थ राखी वा नराखी प्रोपाेगान्डा र अफवाह सँगसँगै कुद्नु आदि विकृति (डिसअर्डर)का विविध प्रकार हुन् । क्लेयर वार्डले र हुसेन डेराख्शनले पहिलो पटक अनुसन्धान गरेर विभिन्न प्रकारका सूचना विकृति (इन्फरमेसन डिसअर्डर) बारे जानकारी प्रकाशित गरे । उनले इन्फरमेसन डिसअर्डरलाई तीन भागमा वर्गीकरण गरेका छन्ः क) डिसइन्फरमेसन (दुष्प्रचार), ख) मिसइन्फरमेसन (झूठो सूचना) ग) मालइन्फरमेसन (दुराशययुक्त सूचना)।

विभिन्न समुदायका आआफ्नै निहित स्वार्थ छन् र तिनिहरुले आफ्नो लाभका लागि सूचनाप्रविधिका विभिन्न हथकण्डा प्रयोग गर्छन्, जसले आमनागरिकलाई के प्रभाव पर्छ भन्ने वास्ता गर्दैन । यति हुँदा हुँदै पनि हामी जानी नजानी यसका अभिन्न अंश बनिरहेका छौं । हामी सबैले सामाजिक सञ्जालमा आएका पोष्टहरुको असर र परिणाम नबुझी सेयर र रिसेयर गरिरहेका छौं । नक्कली वेबसाइट र समाचारमा भर परेर कसैलाई समर्थन र कसैलाई पूर्वाग्रह राख्दै निन्दा गरिरहेका छौं।

मानिसलाई ज्ञानी र सबैभन्दा बुद्धिमान जीवित प्राणी मानिन्छ । जोसँग सही र गलत छुट्याउने क्षमता छ । यी सामर्थ्यहरु हुँदाहुँदै धेरैजना जानी नजानी यो सूचना विकृतिको प्रभावमा पर्छन् । म यो मामिलालाई इन्फरमेशन डिसअर्डर सिण्ड्रोम भनिरहेको छु। जो जसले केही वा पूरै दुष्प्रचार, झूठो सूचना र दुराशययुक्त सूचना तयार गर्छन्, ती सबै इन्फर्मेशन डिसअर्डर सिण्ड्रोमबाट पीडित छन्।  

यहाँ प्रयोग गरिएका सबै उदाहरण कोभिड १९ र यससँग आबद्ध विषयसँग सम्बन्धित छन् तर इन्फर्मेशन डिसअर्डर सिण्ड्रोम झूठा सूचनाका सबै मामिलामा लागू हुन्छन् र कुनै निश्चित विषयमा मात्र सीमित छैनन्। 

दुष्प्रचार त्रुटिपूर्ण छ भन्ने जानीजानी नोक्सान पुर्‍याउन तयार पारिएको सामग्री हो । यो वित्तीय, राजनीतिक (आन्तरिक तथा परराष्ट्र प्रभाव, वा यी सबैक्षेत्रमा समस्या सिर्जना गर्ने मनोवैज्ञानिकबाट प्रेरित हुन्छ । जब दुष्प्रचार सेयर हुन्छ त्यो प्रायः झूठो सूचनामा परिणत भएर प्रवाह भइरहन्छ।

कुनै पनि रोगको प्रकोप, औषधि र खोपको विकास भइरहेको वेला गरिने अनलाइन विज्ञापन पैसा कमाउन गरिएको प्रपञ्च हो। जिका भाइरस, इबोला, कोभिड १९ बारे गरिएका अनेकन् भविष्यवाणीहरु पनि आपतका वेला झुक्याउने यस्तै उदाहरण हुन् । कुनै पनि प्रकोपसँग आर्थिक तथा राजनीतिक सम्बन्ध हुन्छ । कुनै देश, संगठन र व्यक्तिका विरुद्ध गरिने ट्रोलिङ दुष्प्रचारको उदाहरण हो । भाइरस उत्पतिका बारे गरिने दुष्प्रचारसँगै यसको प्रसार र उपचारबारे पनि षडयन्त्रका सिद्धान्तका अनेक चर्चा फैलाइन्छन्, जोसँग लड्न वैज्ञानिकलाई पनि हम्मेहम्मे हुन्छ।

‘द लान्सेट’ जर्नलमा हालै प्रकाशित आलेख मार्फत कोभिड १९ को उत्पत्तिसम्बन्धी झूठा सूचना, प्रकोपसम्बन्धी तथ्यांक छिटो, खुला र पारदर्शी तवरले सेयर नगर्न सचेत गराइएको छ।

झूठो सूचना विश्वसनीयता नभएको सामग्री हो, जबकि सेयर गर्ने व्यक्तिले यो त्रूटिपूर्ण वा भ्रमपूर्ण छ भन्ने महसुस गर्दैन, अर्कालाई नोक्सान पुर्‍याउने मनसाय राखेको पनि हुँदैन । तर, यो गलत हुन्छ। 

उदाहरणका लागि कोभिड १९ सम्बन्धी झूठा सूचनाको सूची लामो छ । जस्तैः “भाइरस एसिडसँग डराउँछन्, कपासलाई अमिलो र तिलको तेलमा चोबेर नाकभित्र टाँस्नुहोस्, ऊनी लुगा नलगाउनुस् र रोकथामका लागि लसुनका आठ पोटी खानुहोस्” आदि । त्यहाँ आफ्ना अनुयायी र सञ्जाल बढाउन दबाब सिर्जना गर्ने सामाजिक, मनोवैज्ञानिक पक्षहरु पनि छन् । त्यस्ता व्यक्तिहरुले उनीहरुको पोष्ट वा प्रकाशनको परिणाम नबुझी झूठा सूचना वा दुष्प्रचार सेयर गर्छन्।

घोचपेच गरिएका वा त्रुटिपूर्ण तवरले व्याख्या गरी प्रस्तुत गरिएका भिडियो वा सोसल मिडिया फिडका उदाहरणमा एउटी चिनियाँ महिलाले चमेरा टोकिरहेको भिडियो प्रवाह गरिएको थियो। वुहानमा त्यो चमेरालाई गोली हानिएकाले महामारी शुरु भएको भनिएको थियो । वास्तवमा त्यो भिडियो २०१६ मा प्रसारण भएको पलाउ किचन सोको एउटा अंश हो । अर्को एउटा भिडियोमा २०१५ मा नेपालमा गएको भूकम्पका क्रममा ढलेको भवन देखाइएको छ । वास्तवमा त्यो अर्को द्वन्द्व प्रभावित देशको थियो ।

इन्फरमेसन डिसअर्डर सिण्ड्रोमबाट पीडित हरेक व्यक्तिका लागि मनोसामाजिक परामर्श आवश्यक पर्छ। खासगरी सामाजिक सञ्जाल नभई बस्नै नसक्नेहरु, अनलाइन गतिविधिमा संलग्न भइरहनेहरुलाई  यस्ता परामर्श आवश्यक पर्छ। यसको उपचारका लागि कग्निेटिभ विहाभिएरल थेरापी (सीबीटी) र मोटिभेसनल इनह्यान्समेन्ट थेरापी सिफारिस गरिएको छ।

सामान्यत: दुराशययुक्त समाचारमा निजी जानकारी समावेश गरिएको हुन्छ। यो कुनै व्यक्तिको सार्वजनिक प्रतिष्ठामा नोक्सान पुर्‍याउने उद्देश्य फैलाइएको हुन्छ । उदाहरणका लागि कुनै देशको निश्चित क्षेत्रका मानिसहरुलाई रोग फैलाउने माध्यम वा प्रसारकका रुपमा प्रस्तुत गरिनु । यसखालको झूटो विवरणले जातिवाद, वर्गीय विभेद, विदेशीहरुलाई मन नपराउने वा घृणा गर्ने, र असहिष्णुता बढाउने काम मात्रै गर्छ । हाम्रो सामाजिक सम्बन्धमा असर पुर्‍याउँछ।

२४ जनवरीमा एउटा भिडियो भाइरल भयो । त्यसमा चिनियाँ अधिकारीहरुले हुवेई प्रान्तका बारे बताएभन्दा खराब अवस्थाको वर्णन गरिएको छ । भिडियोमा चीनमा मात्रै ९० हजार भन्दा मानिस यो भाइरसबाट संक्रमित भएको दाबी गरिएको छ । भिडियोमा भएकी महिला (नर्स) ले भिडियोमा नर्स वा चिकित्सक हुँ भनेर दाबी गर्दिनन् र उनले सुरक्षित हुन लगाएको सुट र मास्क हुवेईस्थित मेडिकल स्टाफले लगाएकोसँग पनि मिल्दैन।

इन्फरमेसन डिसअर्डर सिन्ड्रोमको व्यवस्थापन

मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले २०१८ मा गरेको अध्ययन अनुसार वास्तविक समाचारको तुलनामा झूठो समाचार सामाजिक सञ्जालमा धेरै छिटो फैलिन्छ । झूठो समाचार प्राप्त हुने वित्तिकै धेरै सेयर हुने संभावना हुन्छ । झूठो विवरणले भय, घृणा र आश्चर्य प्रवाह गर्न प्रेरित गर्छ भने वास्तविक विवरणले पूर्वानुमान, आनन्द र विश्वास ।

इन्फरमेसन डिसअर्डर सिन्ड्रोमको व्यवस्थापन सूचनाको निगरानीबाट शुरु गर्नुपर्छ । यसलाई नियन्त्रण गर्ने उत्तम तरिका भनेको सामाजिक सञ्जाल, मिडिया प्लेटफर्महरु र प्राविधिक कम्पनीहरुको सहयोगमा नियमित अफवाह निगरानी गर्ने हो । हामीले यो आपतकालमा गलत सूचना पहिचान कसरी गर्ने भन्ने बारेमा धेरै कुरा सिक्न सक्छौं।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फेसबुक, पिइन्ट्रेस्ट, ट्वीटर, अमेजन, गुगल, युट्युब, वाइबो, टिकटकसँग मिलेर झूठो विवरण फैलिन नदिन सहकार्य गरिरहेको छ।

उदाहरणका लागि प्रयोगकर्ताहरुले अमेजनमा कोरोनाभाइरस शब्द खोजी गर्दा फेस मास्क, भिटामिन सी को सूची देखिन्छ । यसैगरी भिटामिन सी पनि कोरोनाभाइरसको नक्कली उपचार मध्ये एक हो भनेर सूचीबद्ध गरिएको छ।

अर्को कदम प्राथमिकताका आधारमा त्रुटिपूर्ण सूचनाको स्रोत लक्षित गर्नु हो । अधिसूचना, त्रुटिपूर्ण जानकारी हटाउने र सक्रिय संलग्नता मार्फत जागरुकता जगाउने जस्ता राखिने हुन्। कोभिड १९ का उदाहरण लिँदै कतिपय सरकार, एजेन्सी र संस्थाहरुले मिथ्या र अफवाह भण्डाफोर गरिरहेका छन् र ती ती सामाजिक सञ्जालहरुमा पनि उपलब्ध छन्।

फेसबुकले कोभिड १९ सँग सम्बन्धित झूठो दाबी र षड्यन्त्रको सिद्धान्त त्रुटिपूर्ण सूचना हटाउँदै गलत सूचना प्रसारण हुन नदिने प्रयास गरिरहेको छ । जस्तो कि,  फेसबुकले उपचार प्रक्रिया हतोत्साहित गर्न डिजाइन गरिएका पोष्टहरुप्रति विशेष ध्यान दिइरहेको छ।

ट्वीटरले यस वर्षको पहिलो चार साता कोरोना भाइरसबारे १५ अर्ब भन्दा बढी ट्वीट गरिएको उल्लेख गरेको छ । ट्वीटरले कोभिड १९ बारे खोजी गर्नेहरुलाई विश्व स्वास्थ्य संगठनका च्यानललगायत आधिकारिक स्वास्थ्यसम्बद्ध निकायको सूचना हेर्न प्रेरित गर्छ । विगतमा मिडिल इस्ट रेस्पिरोटरी सिन्ड्रोम निगरानीका लागि ट्वीटरको यस्तै विश्लेषणको उपयोग गरिएको थियो।  

इन्फरमेसन डिसअर्डर सिण्ड्रोमबाट पीडित हरेक व्यक्तिका लागि मनोसामाजिक परामर्श आवश्यक पर्छ । खासगरी सामाजिक सञ्जाल नभई बस्नै नसक्नेहरु, अनलाइन गतिविधिमा संलग्न भइरहनेहरुलाई  यस्ता परामर्श आवश्यक पर्छ । यसको उपचारका लागि कग्निेटिभ विहाभिएरल थेरापी (सीबीटी) र मोटिभेसनल इनह्यान्समेन्ट थेरापी सिफारिस गरिएको छ।

वैयक्तिक तहमा भने इन्फरमेसन डिसअर्डर सिण्ड्रोमको प्रकोप व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुन्छ । यो तहमा प्रमाणमा आधारित सन्देश आवश्यक हुन्छ।

दुष्प्रचार रोक्न सजाय

झूठो सूचना कसैलाई नोक्सान गर्न र कुत्सित मनसायले फैलाइएको छैन भने ठीक छ, नत्र त्यसलाई नियन्त्रण गर्न नियम, कानूनको आवश्यकता पर्छ । विशेष गरी जो इन्फरमेसन डिसअर्डर सिण्ड्रोममा पनि दुष्प्रचार र दुराशययुक्त समाचार फैलाइरहेका हुन्छन्, उनीहरुलाई रोक्न आवश्यक छ।

‘सामोआ’ मा खतरनाक दादुरा प्रकोपमा ४८०० मानिस संक्रमित भए र ७० भन्दा बढी बालबालिकाको ज्यान पनि गयो ।  त्यसपछि सामोआ सरकारले नक्कली समाचार प्रवाह गर्ने एन्टी भ्याक्सनरलाई पक्राउ गर्‍याे। भर्खरै नेपाल सरकारले पनि एउटा निजी अस्पतालमा कोभिड १९ का कारणले मृत्यु भएको हल्ला फैलाउने मानिसलाई पक्राउ गरेर साइबर अपराध अन्तर्गत सजाय तोक्यो।

मार्च महीनाको शुरुवातमै एक मलेसियाली पत्रकारलाई जथाभावी बोलेको अभियोग लगाइएको थियो, उनको भनाइले भाइरससँग सम्बन्धित सोसल मिडिया पोष्टहरुमा सार्वजनिक खतरा निम्त्याउन सक्थ्यो । एउटा पोष्टमा उनले एउटा क्रुजमा चिनियाँ पर्यटक आएको भनेर चिन्ता व्यक्त गरेका थिए ।

(मानवशास्त्री कँडेलका यी निजी विचारले उनी कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन। यो लेख उनको ब्लगमा प्रकाशित लामो आलेखको सार हो ।) 

प्रतिकृया दिनुहोस