कला/साहित्य शनिबार, माघ २५, २०७६

'चमार समुदायको पहिचान र अवस्था' विमोचित

हिमालखबर

'चमार समुदायको पहिचान र अवस्था' विमोचित

सिनो वहिष्कार आन्दोलनको दुई दशक पुगेको अवसर पारेर समता फाउण्डेशनले चमार समुदायको पहिचान र अवस्था सम्बन्धी पुस्तक विमोचन गरेको छ।

सप्तरी र सिरहा जिल्लाका ३५ पालिकाका ४२ जना युवती र अतिथिहरूले संयुक्तरुपमा लहानमा पुस्तक विमोचन गरेका थिए।

समता फाउडेशनका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तक तथा चमार आन्दोलनको समीक्षा गरिएको थियो।

असमानता र विभेदका विरुद्ध मधेशमा २० वर्ष अघि शुरु भएको चमार समुदायको सिनो बहिष्कार आन्दोलन विभेदका रेखा मेट्न सफल भएको कार्यक्रमका वक्ताहरूले बताएका थिए।

कार्यक्रममा संविधान सभा सदस्य रामरति रामले भने, “हामीले एक प्रकारको प्रतिरोध गरेर केही हदसम्म सफलता प्राप्त गरेका थियो । अझै पनि विभेदका स्वरुपहरू परिवर्तन भएका छैनन् । सबै खाले विभेदका विरुद्ध अर्काे प्रतिरोधको आवश्यकता रहेको छ।”

अधिकारकर्मी गुलावदेवी रामले अरुलाई सहयोग गर्न जाने चमार समुदायका सुडेनीहरू आफै हिंसामा पर्नुपर्ने बाध्यता रहेको कार्यक्रममा बताइन्।

२० वर्ष पहिलेको सिनो वहिष्कार आन्दोलनलाई स्मरण गर्दै चमार अभियन्ता रामलखन रामले तत्कालीन राजनीतिक दल तथा अगुवाहरूले सिनो बहिष्कार आन्दोलन दबाउन लागिपरेको बताए।

पुस्तक लेखकहरूमध्येका एक गोपाल नेपालीले उक्त पुस्तकको बारेमा र चमार समुदायले आत्मसम्मानका लागि गरेको आन्दोलनको बारेमा समीक्षा गरेका थिए।

कार्यक्रममा दलित भित्र पनि मधेशी दलितहरूको आवाज अझै पनि राष्ट्रिय राजनीतिमा आउन नसकेको बताइएको थियो।

 

प्रतिकृया दिनुहोस