एकै दिन थपिए डेंगीका १५ सय बिरामी
डेंगी रोगको संक्रमण दिनदिनै तीव्र रूपमा बढ्दै गएको छ भने एकै दिन एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगी पुष्टि भएको छ। शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगी देखिएको थियो।
पछिल्लो २४ घण्टामा डेंगीबाट कसैले ज्यान गुमाउनुपरेको छैन। अहिलेसम्म डेंगी लागेका २९ जनाको मृत्यु भएको छ।
अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगी देखिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३ जनामा डेंगी देखिएको छ।
यस्तै, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगी संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।