दाङ–नयाँदिल्ली बस सञ्चालन हुँदै
राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रिय स्तरमा बस सेवा सञ्चालन गर्ने भएको छ ।
समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गर्न थालेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिएका छन् ।
उनका अनुसार पहिलोपटक १३ भदौबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११:३० बजे बस सञ्चालन हुनेछ ।
त्यसैगरी दैनिक सोमबार, बुधबार, शुक्रबार नेपालबाट भारतको दिल्लीका लागि बस छुट्ने र भारतको दिल्लीबाट आइतबार, बुधबार र शुक्रबार बस छुट्ने समितिले जनाएको छ ।
यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवातजावत गर्ने यात्रुलाई सहजरुपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बस सेवा सुरु गर्न थालेको हमालले बताए ।
दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि नेपाली रु दुई हजार भाडा तोकिएको समितिले जनाएको छ ।
पहिलोपटक एउटा बसबाट सेवा आरम्भ गरे पनि यात्रुको मागअनुसार सेवा थप गरिने समितिका अध्यक्ष हमालले जानकारी दिए ।
विसं २०४१ देखि चारवटा बसबाट सेवा आरम्भ गरेको राप्ती समितिले हाल लामो तथा छोटो दूरीका गरी करिब ७०० बस सञ्चालन गरिरहेको छ । रासस