एसइई परीक्षाको तयारी पूरा
देशभर ३ चैत बिहान ८ बजेदेखि एकैसाथ शुरु हुने माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको एसइईको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सातसय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल एक हजार नौ सय २३ केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी, एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुईहजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँचसय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिए ।
परीक्षा नियन्त्रक रेग्मीका अनुसार ३ चैतमा अनिवार्य अङ्ग्रेजी, ४ मा अनिवार्य नेपाली, ६ मा अनिवार्य गणित, ७ विज्ञान, ८ सामाजिक शिक्षा, ९ स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० मा ऐच्छिक प्रथम र ११ चैतमा ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ ।
प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने रेग्मीले बताए । परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ हुने भएका छन् । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ ।
त्यसैगरी, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको संयुक्त अनुगमन टोली पनि खटिनेछन् । रासस