लोगो फेसनको शोरूम अब डिल्लीबजारमा
नेपाली तथा अन्तराष्ट्रिय बजारमा तयारी पोशाक बिक्री गर्दै आइरहेको नेपाली ब्राण्ड लोगो फेसन इण्डष्ट्रिजले आफ्नो पाचौं रिटेल आउटलेट काठमाडौंको डिल्लीबजारमा खोलेको छ।
आउटलेटको उद्घाटन मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले गत शनिवार, कार्तिक ३० मा एक समारोहका बीच गरिन्।
उद्घाटनमा बोल्दै खतिवडाले आफूले लोगोका उत्पादनबारे पहिल्यैदेखि सुन्दै र देख्दै आइरहेपनि अहिले ती उत्पादन उपभोग गर्दा सन्तुष्ट रहेको बताइन्। नेपाली उपभोक्ता बिदेशी ब्राण्डहरूमाथि निर्भर रहिरहेको बेला स्तरीय, आकर्षक र सस्तो नेपाली ब्राण्ड सबैको रोजाइमा पर्न सक्ने धारणा उनले राखिन्।
उद्घाटनमा बोल्दै लोगो फेसनका संचालक हिरा मुक्तानले आफ्ना उपभोक्ताको सकारात्मक प्रतिक्रिया कै कारण आफू शाखा विस्तार गर्न हौसिएको बताए। "सबैले नेपाली ब्राण्डलाई माया गरिदिनुभएको छ", मुक्तानले भने, "आगामी दिनमा हामी अझ बढी डिजाइन र विविधताका साथ प्रस्तुत हुनेछौं।"
नयाँ आउटलेट संचालनका अबसरमा लोगोले नोभेम्बरभर सवै डिजाइनमा २० प्रतिशत छुटको व्यबस्था पनि गरेको छ।