कला/साहित्य विहीबार, कात्तिक २८, २०७६

आजदेखि ‘फिल्म साउथएसिया’

हिमालखबर

ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आज (बिहीबार) देखि बाह्रौं ‘फिल्म साउथएसिया, २०१९’ महोत्सव शुरु हुँदैछ ।

 

२०१९ को बाह्रौं संस्करणमा देखाइने कुल ६३ वटा वृत्तचित्र उत्सवको नारा ‘ह्वेयर द माइन्ड इज फ्री’ बाट शुरुवात गरिने आयोजकले जानकारी दिए।

२८ कात्तिकदेखि १ मंसीरसम्म हुने उक्त महोत्सवमा पहिलो दिन जम्मा १२ वटा वृत्तचित्र प्रस्तुत गरिनेछन् । यलमाया केन्द्रको मजलिस कक्षमा ६ वटा र बग्गीखाना कक्षमा ६ वटा वृत्तचित्र प्रस्तुत गरिने छ ।

मजलिस कक्षमा बिहान १० बजेबाट शुरु हुने महोत्सवमा नेपालबाट फिल्म निर्देशक आशीष लिम्बू र देविन राईको ‘द विन्टर ट्याप’ प्रस्तुत गरिने छ।

भारतबाट युस्रा हसनको ‘होटल नाज’, ऐश्वर्य ग्रोबरको ‘मेमोरिज अफ सायरा एन्ड सलिम’, प्रमती आनन्दको ‘आकाशवाणी’ र रिशाया पाल्खिभालाको ‘रोशन एन्ड मणि’ प्रस्तुत गरिने छ ।

यसैगरी यूके–पाकिस्तान–श्रीलंकाबाट विन्ध्या बुथपितिया र तिमोथी पीए कूपरको ‘स्क्र्याचेज अन सेलुलोइड’ गरी जम्मा ६ वटा वृत्तचित्र प्रस्तुत गरिने छ ।

बिहान १०ः३० बजेदेखि बग्गीखाना कक्षमा हुने वृत्तचित्रहरूमा क्रमशः भारतका फिल्म निर्देशक अनिकेत प्रकाश देवरेको ‘त्रिकोण’, जर्मनी–तिब्बतका आयुंगा खियादको ‘लोप्साङ’, भारतबाट पायल कपाडियाको ‘एन्ड ह्वाट इज द समर सेइङ’, भारतबाट आशीष कात्यानको ‘डस्क विथ डस्ट’, म्यानमारबाट मिन मिन हेइनको ‘लिसन’ र भारतका विवेक गोपीनाथको ‘रामपतर’ प्रदर्शन गरिने छ ।

महोत्सवको उद्घाटन फिल्म भने साँझ ५ बजे पाकिस्तानी फिल्म मेकर जवाद शरीफको ‘इन्डुस् ब्लूज’ वृत्तचित्रबाट गरिने छ । ७६ मिनेटको उक्त वृत्तचित्रमा पाकिस्तानका एक लोक संगीतकारले आफ्नो कला वाद्यवादनलाई जीवित राख्न गरेको संघर्षको कथा समावेश गरिएको छ ।

वृत्तचित्र निर्देशक जवाद शरीफ स्वयं महोत्सवमा उपस्थित भई उक्त वृत्तचित्रको बारेमा जानकारी दिनेछन् । ‘फिल्म साउथएसिया २०१९’ को उद्घाटन नेपालका चर्चित लोक रक गायक अमृत गुरुङले गर्नेछन् ।

‘फिल्म साउथएसिया’ महोत्सवको पहिलो दिन १२ वटा वृत्तचित्र प्रस्तुत गरिने छ । प्रत्येक वृत्तचित्रको प्रवेश शुल्क ५० रुपैयाँ रहेको छ । टिकटबाट संकलित रकम फूलचोकीको रयाली गाउँको विद्यालयलाई सहयोग स्वरूप प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस