कथा फरक। अभिनेता फरक। सन्दर्भ फरक। तर बर्लिनालेमा देखाइएका अधिकांश फिल्मको सार एउटै थियो- मानिसले गरेको स्वतन्त्रताको खोज र संघर्ष।
यज्ञश
दर्शकको उपस्थितिको हिसाबले विश्वकै सबैभन्दा ठूलो फिल्म महोत्सवमा पुगेपछि पहिलो काम हुने गर्छ, फिल्म हेर्ने। सन् २०१९ र २०२० मा जस्तै यस पटक पनि मैले बर्लिन फिल्म फेस्टिभलमा केही नयाँ फिल्म हेरें। आर्ट हाउस सिनेमाका लागि प्रसिद्ध यो महोत्सवमा हेरेका प्रायः फिल्मको पहिलो शो नै यहीं भएको थियो भने केहीको यूरोप प्रिमियर पनि थियो। केही फिल्म मैले प्रेस शोमा हेरें भने केही प्रिमियर र गालामा। मार्टिन स्कोरसेजीको द डिपार्टेड चाहिं अपवाद रह्यो, जसको २००६ मै पहिलो प्रदर्शन भइसकेको थियो। यही फिल्मका लागि उनले पहिलो पटक उत्कृष्ट निर्देशकको एकेडेमी अवार्ड पाएका थिए।
केही फिल्मको समय जुधेकाले र केहीबारे पहिले नै ज्ञान नभएकाले मैले धेरै फिल्म छुटाएँ। यिनमा अवार्ड विजेता फिल्म पनि सामेल छन्। सामान्यतया अवार्ड विजेता फिल्म फेस्टिभलको अन्तिम दिन पुनः प्रदर्शन गरिने भए पनि आफ्नो समयतालिकाका कारण यस पालि मैले त्यो अवसर पनि गुमाउनुपर्यो। फेस्टिभलमा उत्कृष्ट फिल्मको गोल्डेन बेयर जितेको डक्युमेन्ट्री डाहोमे पनि यसैकारण छुट्यो। तथापि मैले हेरेका र उल्लेखनीय लागेका केही फिल्मबारे छोटकरीमा चर्चा गर्छु।
फिल्महरूले मानिसको दैनिक जीवन भोगाइका कथा भन्छन्। ती कथा कहिले समकालीन समाजका हुने गर्छन् त कहिले विगतको। केही कल्पनाशील मानिसले भने भविष्यको वा अस्तित्वमा नभएको दुनियाँको पनि कथा भन्ने गर्छन्। आखिर मानिसको जीवन प्रकृति वा अर्को मानिससँग गर्ने व्यवहार र त्यसको प्रतिक्रियाकै कथा हो। यसैले सारा साहित्य र सिनेमा नवरसका वरपर घुम्ने गर्दछन्। यस पालि महोत्सवमा मैले हेरेका फिल्मको केन्द्रीय भाव स्वतन्त्रताको खोजी भएको पाएँ। विगतदेखि वर्तमानसम्मका कथामा पात्रहरू स्वतन्त्रता वा मुक्तिको खोजीमा हिंडिरहेका, तड्पिइरहेका र भौंतारिइरहेका देखिए। चाँदी टल्किने हिमालको काखमुनि घोडाको साथ लागेर हिंडेकी शाम्बाला की पेमा होस् वा अठारौं शताब्दीको अस्ट्रियाको गाउँमा घनघोर अवसादमा जकडिएकी द डेभिल्स बाथ की एग्निस होस् वा द स्ट्रेन्जर्स केस मा द्वन्द्वको भुंग्रोबाट निस्किन खोज्ने सिरियाली डाक्टर– तीनै जना महिलाहरू मुक्तिको खोजीमा छन्। इन द बेली अफ अ टाइगर को मजदूर होस् वा द फेबल को स्याउ बगान मालिक, यी सबै स्वतन्त्रताको खोजीमा छन्। अठारौं शताब्दीमै फ्रान्सेली दार्शनिक रूसोले भनेका थिए– ‘म्यान वाज बर्न फ्री बट इज इन चेन एभ्रिह्वेर’। आजको संसार र आजका कथा हेर्दा त्यस्तै लाग्छ। चेतना, शिक्षा, विज्ञान र आविष्कारका बलले स्वतन्त्र हुनुपर्ने मानिस बरु थप बन्धनमा बेरिंदै गएको त छैन? के आजको मानिसको मुख्य खोज नै आफैंले सिर्जना गरेका समाज, सम्बन्ध र सम्पत्तिको जञ्जालबाट स्वतन्त्रता हो?
शाम्बाला (नेपाल, निर्देशक : मीनबहादुर भाम)
यस महोत्सवमा मेरा लागि सबभन्दा प्रतीक्षित फिल्म थियो– मीनबहादुर भामले निर्देशन गरेको नेपाली फिल्म शाम्बाला । महोत्सवको प्रतिस्पर्धामा पुग्ने प्रथम नेपाली फिल्म भएकाले यसको प्रतीक्षा उसै पनि धेरैलाई थियो। सन् २०१६ मा स्वीट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलको हबमा चिसो वर्ष शीर्षकमा प्रस्तुत गरेको यो फिल्मको शाम्बाला का रूपमा भएको रूपान्तरण पनि मेरो चासोको विषय थियो। त्यसैले यसको विश्व प्रिमियर नकुरी अघिल्लै दिन प्रेस सोमा हेरें।
यस वर्ष बर्लिनालेमा आएका उल्लेखनीय फिल्ममा शाम्बाला पनि पर्छ। केन्याली–मेक्सिकन अभिनेत्री लुपिता न्योन्ग्योको अध्यक्षताको फेस्टिभल जुरीलाई त्यस्तो लागेन, त्यो अलग कुरा हो। बौद्ध धर्म, हिमाली जनजीवन, मिथक र मानिसका सपनाहरूमाथि त्यही संस्कृति र भूगोलमा फिल्म बनाउनु सजिलो काम पक्कै होइन। यो फिल्मको मुख्य दर्शन नै बन्धन र स्वतन्त्रता हो।
सेतो हिउँ र सुक्खा जमीन भएको परिवेशमा तीन जना दाजुभाइकी पत्नीका रूपमा बिदा भएकी युवती पेमाको कथा भन्छ फिल्मले। पेमाको भूमिकामा छिन्, थिन्ले ल्हामु जो यसअघि विपिन कार्कीसँग नाका मा देखिएकी थिइन्। तिब्बतमा व्यापार गर्ने मायालु एक, रिम्पोछेको सेवामा आफूलाई समर्पण गरेको दोस्रो र स्कूल पढ्ने बालक तेस्रो गरी तीन दाजुभाइसँग ‘विवाहबन्धन’ मा बाँधिएपछि पेमाको जीवनमा आउने उतारचढावलाई शाम्बालाले जीवनयात्राका रूपमा दर्शाउँछ। भन्छन्, जीवन संघर्ष हो र त्यही संघर्षले नै यसलाई अघि बढाउने शक्ति पैदा गर्छ। पेमाको जीवन संघर्षले कस्तो शक्ति पैदा गर्छ? यो यात्राले पेमालाई कुन दिशातिर लैजान्छ? उसको भौतिक यात्राले आध्यात्मिक यात्राको ढोका पनि खोल्छ कि ब्वाँसाहरूको आवाजबीच एउटा घोडासँग हिउँमा भइरहेको उसको यात्रा प्रकृतिको काखमा यसै बिलाएर जान्छ? कुनै हतार नभएको शान्त हिमनदीको जस्तो गति समाएको फिल्मले गन्तव्यभन्दा बढी यात्रालाई नै प्रधानता दिएको छ।
मीन भामले नेपालको उपल्लो डोल्पाको जीवन, संस्कृति र रीतिरिवाजले सिंगारेर बौद्ध दर्शनका गहनतम विचार फिल्ममा पस्किएका छन्। हिमाली क्षेत्रको बहुपति प्रथा होस् वा महिलाले आफ्नो सतीत्व परीक्षण गर्ने परीक्षा वा लासको अन्तिम संस्कार नगरी गिद्धलाई चढाउने प्रथा होस् वा विकट बाटो छिचोलेर तिब्बतसँग गरिने मौसमी व्यापार– उपल्लो थलोको जनजीवनलाई उनले टपक्कै टिपेका छन्। र, यीसँग गाँसेका छन्– बौद्ध गुरुका दर्शन, भिक्षुको एकांकी जीवन र सांसारिक जीवनसँगको सन्तुलनलाई। पुरुषसत्तात्मक समाजमा एक नवविवाहिता, जसको मायालु पति व्यापार गर्न तिब्बत गएर एउटा हल्ला सुनेर उतै हराएको छ, उसलाई खोज्ने दुर्दान्त यात्रा फिल्मको शरीर हो भने स्वर्ग जस्तो शाम्बालाको परिकल्पना यसको आत्मा।
शाम्बाला खासमा बाहिरी संसारको भयंकर दुर्गम यात्राको माध्यमबाट दर्शकलाई आफ्नो अन्तस्करणतर्फ लैजान खोज्ने यात्राको कथा हो। फिल्ममा दुई यात्री समानान्तर रूपमा यात्रामा छन्। फिल्मकी मुख्य पात्र पेमा हराएका पति टाशीलाई खोज्ने हिमाली यात्रामा छिन्, जसले अनेक बाधा भोग्नुपर्छ। सँगै अर्को यात्रा छ, आध्यात्मिक यात्रा– जहाँ एक गुरु शाम्बालामा पदार्पण गर्न चाहन्छन्। कुनै बिन्दुमा पुगेर यी दुई यात्रीको गन्तव्य एउटै होला? के यिनको यात्रा सफल होला? फिल्म यही यात्राको गहिराइमा डुबेको छ।
झन्डै साढे दुई घण्टा लामो फिल्मले हिमाली जीवन र बौद्ध दर्शनका धेरै वटा टाकुरा पार गर्दा दर्शकहरू कुनै टाकुराको मुनि नै छुट्ने सम्भावना पनि नभएको भने होइन। न्ह्यू बज्राचार्यको संगीत र आनी छोइङले गाएको तिब्बती मन्त्र यो फिल्मको हाइलाइट हो। फिल्ममा अधिकांश संवाद तिब्बती भाषामा छन्। तैपनि निर्देशक मीनले सिनेमाटोग्राफरसँग मिलेर यसको बेग्लैखाले दृश्यभाषाको प्रयोग गरेका छन्। सेतै हिउँले ढाकेको क्षेत्रमा एउटै रङको वर्चस्व छ। मानिसको मन र मूड त सधैं एउटै रङमा अडिइरहँदैन। यसलाई प्रकट गर्न उनले कहिले गुम्बा र लुङ्दर त कहिले पात्रका कपडाको सहारा लिएका छन्। मीन र अविनाशविक्रम शाहले लेखेको पटकथामा थिन्ले ल्हामुको अभिनय उम्दा छ। निर्देशक मीनले आफ्नो क्षमताको उच्च प्रदर्शन गरेका छन्। त्यसो त उनले बर्लिनको पत्रकार सम्मेलनमा यो फिल्म ‘आफ्नो मनभित्र धेरै लामो समयदेखि हुर्किइरहेको कथा’ भनेकै थिए। उनले फिल्ममा गरेका केही प्रयोग हेर्दा त्यो महसूस गर्न सकिन्छ।
पेमाले यात्रामा भेट्ने एक युवतीको सानो प्रसंग छ, जसलाई पवित्रता परीक्षणका लागि तारो हान्न लगाइन्छ। यो दृश्य हेर्दा लाग्छ, नारीको सतीत्व वा पवित्रताको परीक्षा हरेक युगमा चलिरहेको छ। फरक छ त केवल परीक्षाको प्रकारमा।
मीनले आफ्नो पहिलो फिचर फिल्म कालोपोथी मा माओवादी युद्धले सल्काएको आगोमा पिल्सिएको एक पहाडी गाउँको कथा भनेका थिए। दुई किशोरका माध्यमबाट उनले त्यस वेला देश, द्वन्द्व र राजनीतिलाई हेरेका थिए। द्वन्द्वका कारण गाउँबाटै विस्थापित कर्णालीवासीको पीडालाई उनले उजागर गरेका थिए। शाम्बाला मा उनले देश र समाजलाई हिमालकी एक गर्भवती युवतीको नजरबाट हेरेका छन्। केही वर्षअघि एरिक भ्यालीले बनाएको क्याराभान पनि उपल्लो हिमाली क्षेत्रका बासिन्दाको दुःख र यात्राको कथा थियो। शाम्बाला को भूगोल त्यही भए पनि यी दुई फिल्मको यात्रा भने फरक छ।
बौद्ध धर्म मान्नेहरूबीच एउटा अलौकिक स्थानका रूपमा शाम्बालाको परिकल्पना रहेको पाइन्छ। यसलाई संसारका सबै दुःखबाट मुक्ति प्राप्त हुने सर्वोच्च स्थानका रूपमा व्याख्या गर्ने गरिएको छ, जहाँ व्यक्ति सबै बन्धनबाट स्वतन्त्र हुन्छ। यस्तो मुक्ति प्रदान गर्ने कुनै स्थानविशेष होला कि व्यक्तिले आफ्ना इन्द्रियलाई जितेर आफैं त्यो अवस्था प्राप्त गर्न सक्छ? फिल्मको मुख्य द्वन्द्व यही प्रश्नमा अडिएको छ।
द डेभिल्स बाथ (जर्मनी/अस्ट्रिया, निर्देशक : भेरोनिका फ्रान्ज र सेभरिन फियाला)
सन् १७५० को दशकको अस्ट्रियाको पहाडी इलाकाकी एक युवती एग्निस (एन्जा प्लास्च)को मुक्तिको खोज वर्णन गर्छ द डेभिल्स बाथ ले। सोसल ड्रामा-हरर जनरामा पर्ने यस फिल्मका घटना त्यस वेलाको अस्ट्रियाका अदालती कागजपत्रमा भेटिएका घटनाबाट लिइएको बताइएको छ। तर यो कुनै लोककथा जस्तो प्रतीत हुन्छ।
शिरोच्छेदन गरी सजाय दिइएको एक महिलाको अलग शिर र शरीर गाउँको उँचो स्थानमा राखिएको दृश्यबाट फिल्म शुरू हुन्छ। तुरुन्तै फिल्म गाउँकी एक युवती एग्निसको विवाहको प्रसंगतिर प्रवेश गर्छ। विवाह गरेर असल पत्नी बन्ने लक्ष्य लिएकी एक युवतीको जीवनले विवाहपछि कसरी नयाँ मोड लिन्छ भन्ने कथा यो फिल्मले भन्छ।
खासमा शाम्बाला र द डेभिल्स बाथ दुवैको कथाको समय, भूगोल र संस्कृति फरक भए पनि चुरोमा विवाहपछि युवतीको जीवनमा आउने परिवर्तन नै रहेको छ। नयाँ परिस्थितिलाई यिनले के-कसरी सामना गर्छन् र त्यसले यिनको जीवनलाई कस्तो यात्रामा लैजान्छ भन्ने नै दुवै फिल्मको कथ्य हो।
द डेभिल्स बाथ एक सामान्य युवतीको सामान्य कथा जसरी शुरू हुन्छ। झट्ट हेर्दा ३५-४० वर्षअघिको नेपालको कुनै पहाडी गाउँकी युवतीको जस्तो यिनको जीवन देखिन्छ, जहाँ पत्नीका केवल दुई कर्तव्य छन्– घरको काम गर्नु र बच्चा जन्माउनु। एग्निसको पनि जीवनको लक्ष्य यही छ। ऊ जसरी पनि असल पत्नी बन्न चाहन्छे। उसकी सासू, आमा र भाइ पनि त्यही चाहन्छन्। तर जीवनमा चाहे जस्तो सबै कहाँ हुन्छ र? व्यक्तिले जति पहल गर्दा पनि कहिलेकाहीं चाहे जस्तो हुँदैन। त्यस्तो भयो र मानिसले अस्वाभाविक बाटो समात्यो भने त्यसको जिम्मेवार को हुन्छ? भगवान् र सामाजिक मान्यताप्रति अत्यन्त आस्थावान् व्यक्तिले सबै अनुष्ठान अनुसार कर्म गर्दा पनि फल प्राप्त गरेन भने त्यसको बदला कोसँग लेला? द डेभिल्स बाथ त्यस्तै कर्महरूको गाथा हो। फिल्मका केही दृश्य र प्रसंग झस्काउने खालका छन्। यसैले यसलाई हरर जनरामा पनि राखिएको छ।
ग्रामीण किसान परिवारमा भित्रिने नयाँ बुहारीले पाउने भुक्तमानका शृंखलाहरू र उसको नयाँ परिवारले गरेको उपेक्षा देख्दा मलाई धेरै पटक आफ्नै समाजका स्त्रीहरूले तरेका दुःखका जँघारको याद आइरह्यो। फिल्ममा दुःख र दुर्भाग्यको सागरको बिम्बका रूपमा आफूतिर तानिरहने हिलो नै हिलोले भरिएको माछापोखरीलाई प्रयोग गरिएको छ। भनिन्छ- मानिसलाई सबभन्दा खतरनाक डरले बनाउँछ। मनमा पैदा हुने एउटा सामान्य भयको प्रतिकारमा अवसादग्रस्त मानिसले धेरैको जीवन नै उजाड बनाइदिने डढेलो लगाउन सक्छ। कसैको प्रेम र स्वीकार्यताको खोजीमा अति आसक्त महिलाले जब त्यसको बदलामा उपेक्षा पाउँछे, त्यसको प्रतिकार कस्तो होला? त्यो कि त कारुणिक हुनेछ कि डरलाग्दो। द डेभिल्स बाथ त्यही कथा हो।
जर्मनी र अस्ट्रियाको निर्माण रहेको यो फिल्मका निर्देशकद्वयको कामबारे यसअघि जानकार नभए पनि यसले महोत्सवका शुरूआती शोहरूबाट पाएको प्रतिक्रियाले आकर्षित गरेकै कारण म यो फिल्म हेर्न पुगेको थिएँ। शाम्बाला र द डेभिल्स बाथ हेरिसकेपछि लाग्यो- स्वतन्त्रता र बन्धनबाट मुक्तिको खोजी त अनवरत चलिरहेको रहेछ!
द डेभिल्स बाथ को पटकथा, निर्देशन, साउन्ड डिजाइन र सिनेमाटोग्राफी तारीफयोग्य छ। यसका सिनेमाटोग्राफर मार्टिन ग्लास्टिजले यस पटकको बर्लिनालेमा ‘आउटस्ट्यान्डिङ आर्टिस्टिक कन्ट्रिब्युशन’ को सिल्भर बेयर पनि पाए। फिल्मकी मुख्य अभिनेत्री एन्जाको अभिनय पनि यसको हाइलाइट हो।
द स्ट्रेन्जर्स केस (जोर्डन, निर्देशक : ब्रान्डट एन्डरसन)
एक डाक्टर, एक सिपाही, एक कवि, एक तस्कर र एक कोस्टगार्ड अफिसर। साथमा केही बच्चा र महिलाहरू। सिरियादेखि सिकागो। बीचमा टर्की र ग्रीस। मरुभूमिदेखि समुद्रसम्मको यात्रा।
यो फिल्म कष्टकर यात्रामा निस्किएका पाँच परिवारको कथा हो। यी सबैलाई कतै न कतै पुग्नु छ। सबै आआफ्नो अवस्थाबाट निकासको खोजीमा छन्। एक सिरियाली डाक्टर छन्, विद्रोहीको उपचार गरेको आरोप उनीमाथि छ। एक सिपाही छ जो विद्रोहीप्रति सहानुभूति राख्दछ। एक कवि छ जसलाई आफ्ना बालबच्चालाई शरणार्थी क्याम्पबाट निकालेर सुरक्षित रूपमा यूरोप पुर्याउनु छ। यी सबैलाई पार लगाउने एउटै माध्यम छ, एक अश्वेत मानव तस्कर र उसको डुंगा। यो तस्कर आफैं पनि छोरा लिएर एक दिन टर्कीबाट अमेरिका जान चाहन्छ।
बर्लिन फेस्टिभलमा हेरेको सबभन्दा बढी मेलोड्रामा भएको फिल्म शायद यही थियो। घरिघरि त कुनै हिन्दी फिल्म हेरे जस्तो लाग्ने! केही अघि हेरेको शाहरूख खान अभिनीत राजकुमार हिरानीको फिल्म डंकी को सम्झना गराइदिने ! डंकी मा शरणार्थी वा गैरकानूनी बाटोबाट जानेहरूको यात्राको अपेक्षा यस फिल्ममा पूरा भएको अनुभूति भयो।
फिल्ममा पाँच भिन्न आर्थिक र मनोवैज्ञानिक स्थितिका परिवारको कथा छ जसमध्ये चार वटामा बच्चा छन्। तर भूगोल र राष्ट्रियता अनुसार उनीहरूको अवस्था फरक छ। इच्छा र सपना पृथक् छ। टर्कीको एउटा बन्द कोठाको झ्यालमा उभिइरहने अश्वेत तस्करको बालकको इच्छा र ग्रीसको कोस्टगार्ड अफिसरको छोराको आफ्नो बाबुसँगका अपेक्षा फरक छन्। समुद्री यात्रामा लाइफ ज्याकेटका लागि झगडा गर्ने कवि र डाक्टरका बच्चाका अपेक्षा फरक छन्। यी सबैलाई एउटा यात्राले जोडिदिएको छ।
मेलोड्रामाले भरिपूर्ण यस फिल्म विषयको गहिराइमा नपुगे पनि शरणार्थीप्रति प्रकट गर्ने गहिरो समभावका कारण उल्लेख्य लाग्यो। लोन सर्भाइभर, एभरेस्ट लगायत चर्चित फिल्म बनाएका निर्देशक ब्रान्डट एन्डरसन आफैं शरणार्थी अधिकारका अभियन्ता समेत हुन्। टर्की, सिरिया र ग्रीसको धेरै पटकको भ्रमणपछि अभियानकै अंगका रूपमा यो फिल्म बनाएको उनले बताएका थिए।
रोचक त के छ भने, एन्डरसनले सन् २०२० मा शरणार्थीबारे बनाएको शर्ट फिल्म रिफ्युजी ओस्करमा शर्ट फिल्ममा मनोनीत भएको थियो। त्यही शर्ट फिल्मलाई उनले फिचर फिल्मको रूप दिएका हुन्। शर्ट फिल्ममा अभिनय गरेका फ्रान्सेली ओमर साइ र लेबनानी यास्मिन अल मास्रीले नै यसमा पनि मुख्य भूमिकामा अभिनय गरेका छन्। पश्चिमा शहर पुग्ने कुनै एशियाली वा अफ्रिकी अपरिचित शरणार्थीले आफूसँगै बोकेको संघर्षको कथा कति विशाल हुन्छ भन्ने एक झल्को यो फिल्मले दिन्छ।
द फेबल (भारत, निर्देशक : राम रेड्डी)
इन द बेली अफ अ टाइगर (भारत, निर्देशक : सिद्धार्थ जाटला)
यस पालि बर्लिनमा भारतबाट तीन वटा मुख्य फिचर फिल्म छनोटमा परेका थिए। यसमध्ये तमिल भाषाको कोत्तमकली बाहेक हिन्दी भाषाका दुई फिल्म द फेबल र इन द बेली अफ अ टाइगर हेर्ने मौका मिल्यो।
शुरूमा चर्चा गरौं, राम रेड्डीको फिल्म द फेबल को।
राम रेड्डीको पहिलो फिल्म तिथि नहेरेकाले मलाई उनको शैलीबारे थाहा थिएन। तर मनोज बाजपेयी, दीपक डोबरियाल, प्रियंका बोस र तिलोत्तमा सोम जस्ता परिचित कलाकारको नाम भएकाले यसले मेरो ध्यान तान्यो। महोत्सवमा फिल्मको अन्तिम शोमा मैले यो फिल्म हेरें।
यो सामान्यखाले फिल्म भने होइन। हेर्दा सामान्य लागे पनि र यथार्थवादी सेटिङ लागे पनि यसले शुरूमै ‘म्याजिक रियालिज्म’ को झलक दिन्छ। फिल्म मनोज बाजपेयीको चरित्र देव र उनको परिवारको वरपर घुमेको छ। नेपाल-भारत सीमा नजिकै भनिएको उत्तराखण्डको एउटा गाउँमा फिल्मको कथा अवस्थित छ– जहाँ देव साहबको कैयौं एकडमा फैलिएको स्याउ बगान छ। यो स्याउ बगान उनका हजुरबाले अंग्रेजको सेवा गरे बापत बक्सिसमा प्राप्त गरेका हुन्। सबै चीज सहज ढंगमा चलिरहेको देखिन्छ। फिल्ममा कुनै उतारचढाव र उथलपुथल देखिंदैन। तर जब एक दिन अचानक यो बगैंचाको स्याउको बोटमा आगो लाग्न थालेसँगै फिल्मको ताप पनि बढ्छ। फिल्म यही तापको कथा हो। बगैंचामा आश्रित गाउँले र बगैंचा मालिक देव एवं उनका मेनेजर (दीपक डोबरियाल)का बीच बढ्ने ताप। प्रहरी प्रशासन र गाउँलेका बीचको ताप। अनि छुट्टीमा घर आएकी देवकी किशोरी छोरी र रहस्यमयी घोडचढी यात्रीका बीच बढ्ने ताप। यो रहस्यमयी घोडचढीको भूमिकामा नेपाली अभिनेता जीवन अधिकारी (बिजुली मशिन)लाई देख्न पाउनु चाहिं सुखद आश्चर्य बन्न पुग्यो। संवाद नभएको, छोटो भूमिकामा प्रभावशाली देखिनु उनका लागि चुनौतीपूर्ण थियो। आँखाको भावबाटै उनले आफ्नो चरित्र स्थापित गरेका छन्।
फिल्म शुरू हुन्छ, मनोज बाजपेयीको चरित्रले दाँत माझेको दृश्यबाट। दाँत माझेर बिहानै उनी तयार भएर घरबाट निस्केर आउटहाउसमा पुग्छन् र आफ्नो कुममा एउटा क्रीम दल्छन्। अनि, प्याराग्लाइडिङको जस्तो एउटा केही चीज काँधमा भिरेर निस्किन्छन्। त्यसपछिको दृश्यले फिल्मको टोन सेट गर्छ।
यो फिल्म कतिलाई अर्मूत र बेकारको पनि लाग्न सक्छ, किनभने यो ‘रियलिस्टिक’ सेटिङमा बनेको ‘म्याजिक रियलिज्म’ का पत्रमा बेरिएको छ। फिल्मको व्याख्या गर्ने जिम्मा निर्देशकले दर्शकलाई नै सुम्पिएका छन्। फिल्मको शोमा उनले भने, ‘कतिपय दृश्य त किन त्यसरी राखिएको छ भन्नेमा म पनि प्रस्ट छैन। तपाईं फिल्मको आफूखुशी व्याख्या गरेर अर्थ निकाल्न स्वतन्त्र हुनुहुन्छ।’ तर यसको मतलब यो फिल्म कुनै अर्थ नभएको, जथाभावी बनाइएको फिल्म होइन। यसले एउटा गहिरो दर्शन बोकेको छ। धनी र गरीबको अन्तर, वर्गविभेद, सांस्कृतिक अन्तर र मानिसमा आउने परिपक्वतालाई यसले समेटेको छ। जुन स्याउको बगैंचामा गाउँलेहरू आश्रित छन्, अंग्रेजले हडपेर आफ्ना एक वफादार कारिन्दालाई बक्सिस दिनुअघि त्यो जमीन तिनै गाउँलेहरूको थियो भन्ने अनुमान गर्न सकिन्छ। फिल्मले यस किसिमको ऐतिहासिक र सामाजिक आयामतिर धेरै रुचि भने देखाउँदैन। फिल्मको रुचि अर्कै ‘म्याजिक’ तिर बढी छ।
फिल्ममा मनोज बाजपेयी, दीपक डोबरियाल र प्रियंका बोसले सुन्दर अभिनय गरेका छन्। मनोज बाजपेयी अलिगढ पछि यसमा त्यत्तिको शान्त देखिएका छन्।
राम रेड्डीको द फेबल को तुलनामा सिद्धार्थ जाटलाको इन द बेली अफ अ टाइगर लाई यथार्थवादी मान्न सकिन्छ। तर यो पनि एउटा बिन्दुमा पुगेर म्याजिक रियलिज्ममा परिणत हुन्छ।
द फेबल ले एउटा लोककथा जसरी कथा कहन्छ भने इन द बेली अफ अ टाइगर पुराणको एउटा कथाबाट शुरू हुन्छ। गाउँमा एउटा नाटक चलिरहेको छ- गजेन्द्रमोक्षको प्रसंग। गजेन्द्रमोक्षको कथा गोहीले आक्रमण गरेको एउटा हात्तीको पुकारा सुनेर उसको उद्धार गर्न भगवान् विष्णु प्रकट हुने कहानीसँग सम्बन्धित छ, जसले भगवान्ले सबैको पुकार सुन्छन् भन्ने सन्देश दिन्छ। यो नाटकको अंशबाट शुरू भएको फिल्मले भने सबैको पुकार सुनेर भगवान् आउँछन् भन्ने ग्यारेन्टी नभएको देखाउँछ।
यो भारतको एक गाउँको कथा हो जहाँ बेरोजगारी र शोषण तीव्र छ। कोरोनाकालपछि शहरमा टिक्न मुश्किल भएको एउटा परिवार गाउँ फर्किन्छ। र, गाउँमै मजदूरी गर्न थाल्छ। कसरी त्यो परिवारले गरीबी र शोषणसँग संघर्ष गर्छ भन्ने कथा फिल्मको छ।
यो फिल्म हेर्दा मलाई वेलावेला पंकज त्रिपाठीले मुख्य भूमिकामा अभिनय गरेको नेटफ्ल्क्सिको फिल्म शेरदिल को सम्झना आइरह्यो। शेरदिल जस्तै यो पनि जंगली जनावर आरक्ष वरपरको गाउँको कथा हो र यहाँ पनि बाघले गाउँलेलाई आक्रमण गरेको प्रसंग छ। गरीबीमा चुर्लुम्म डुबेको परिवारलाई केही राहत होस् भनेर घरका सबभन्दा वृद्ध सदस्य आफैं बाघको आहारा बन्न गएको एउटा प्रसंग फिल्ममा छ। यो प्रसंगले फिल्मको कथालाई अन्तिमसम्म बाँधेर राख्ने काम गरेको छ।
सिद्धार्थ जाटलाको लेखन र निर्देशनको विशेषता के छ भने, उनले फिल्मको नाम इन द बेली अफ अ टाइगर राखे पनि फिल्मभरि बाघ भने देखाउँदैनन्। उनले बाघलाई समाज व्यवस्था, शोषण र बेरोजगारीको ‘हिंस्रक बिम्ब’ का रूपमा चित्रित गर्न खोजेका छन्, जसले मौका मिल्नासाथ गरीबलाई निलिहाल्छ। यस्तो परिस्थितिमा एउटा विवश परिवारले कसरी एकअर्कालाई मद्दत गर्न सक्छन् भन्ने भावनात्मक कथा फिल्मको छ। यस फिल्मलाई पूँजीवादको आलोचनात्मक चित्रणका रूपमा लिन सकिन्छ। कसरी पूँजीवाद र उदारवादका नाममा ग्रामीण समाजमा थोरै पूँजीपति र राजनीतिक दल निकटका मानिसले उत्पादनका सम्पूर्ण साधन (प्रकृति समेत)मा कब्जा जमाएर सामान्य मानिसलाई जमीनका कीराफट्यांग्रा जस्तो विवश बनाइदिएका छन् भन्ने यथार्थ यस फिल्मले प्रस्तुत गर्छ। वर्तमान समाज र असमान अर्थव्यवस्थाको आलोचना यसले गर्छ।
फिल्ममा वृद्ध जोडीका रूपमा प्रस्तुत भएका रंगमञ्चका कलाकारद्वय लरेन्स फ्रान्सिस र पुनम तिवारी यसको केन्द्रमा छन्। निर्देशक जाटलाले फिल्मको संरचनालाई अलि भिन्न तरीकाले निर्माण गरेका छन्, जसमा धेरैजसो भार अन्तिम ‘एक्ट’ मा छ। फिल्मको क्लाइमेक्सको दृश्य नै यसको सबभन्दा प्रमुख भाग हो, जहाँ आफ्नो छोराको विवशता देखेर बेचैन भएका बाआमाको संवाद छ। यो संवाद केवल करुणाले भरिएको छैन, उनीहरूबीचको आपसी प्रेम, विश्वास र उनीहरूको सपनाको संसार पनि छ। यो संसारमा दर्शकलाई छिराएर निर्देशक आफू रातको जुनकिरी जसरी रमरम उज्यालोमा हराउँछन्।
अविडिङ नोह्वेर (ताइवान, निर्देशक : साइ मिन–लियाङ)
वेलाबखत स्लो सिनेमाको चर्चा गरेको सुनिन्छ। तीमध्ये नाम लिइने एउटा हो, मलेसिया/ताइवानका निर्देशक साइ मिन–लियाङको वाकर शृंखला। सन् २०१२ मा शुरू भएको यो ड्रामा/डकुमेन्ट्री शृंखलामा अहिलेसम्म साइले १० वटा फिल्म बनाएका छन्। उनको दशौं फिल्म अविडिङ नोह्वेर यस पालि बर्लिनमा हेर्ने मौका पाइयो। यसलाई यो शृंखलाको सम्भवतः अन्तिम फिल्म भनिएको छ।
सन् २०२० को बर्लिनालेमा साइको फिल्म रिजी (डेज) हेर्दाको अनौठो स्मृति मेरो दिमागमा ताजै छ। सउद्देश्य सबटाइटल नराखिएको उनको फिल्म रिजी साह्रै धिमा थियो। बिहानै प्रेस शोमा जम्मा भएकामध्ये केहीले आधा घन्टामै हल छोडेका थिए भने केही निद्रादेवीको काखमा पुगेका थिए। म भने १० मिनेटसम्म स्थिर बसिरहेको क्यामेरा, एकोहोरो झ्यालतिर हेरिरहेको अभिनेताको भाव निरपेक्ष अनुहारमा साइको कलाको खोजी गरिरहेको थिएँ। शोपछिको पत्रकार सम्मेलनमा जब उनलाई सोधियो- किन यति लामा लामा स्ट्याटिक शट? जहाँ कुनै संवाद छैन, कुनै घटना छैन? तब उनले जवाफ दिएका थिए, “यो त मैले दर्शकलाई बुझ्न र अर्थ निकाल्नलाई पर्याप्त समय दिएको हुँ। आखिर सबथोक फिल्ममेकरले भनिरहने पनि त होइन। कलाको परख गर्नका लागि दर्शक पनि ‘इन्भल्भ’ हुनुपर्छ।”
यस पालि उनको साँच्चिकै स्लो सिनेमाको वाकर शृंखलाको दशौं फिल्म हेरियो। यो शृंखलाका अन्य फिल्म मैले हेरेको छैन। फेस्टिभलको ब्रोसरमा बताइए अनुसार यो उनको दशौं फिल्म हो। यो शृंखलामा गेरु रङको गाउन पहिरिएका एक जना बौद्ध भिक्षु अत्यन्त सुस्त गतिमा हिंडिरहन्छन्। उनको हिंडाइ हेर्दा लाग्छ, निकै ठूलो भारी बोकेको कुनै शंखेकीरा बडो मुश्किलले घिस्रिइरहेको छ। साइका लामो समयका सहकर्मी लि काङ–सेङ यो भिक्षुको भूमिकामा छन्। अघिल्लो पटकको रिजी भन्दा पनि यो झन् सुस्त छ।
अविडिङ नोह्वेयर यस्तो डकुमेन्ट्री फिल्म हो, जसमा कुनै घटना छैन, कुनै संवाद छैन, पात्रहरूका बीच कुनै अन्तरक्रिया छैन, कसैको भेट पनि हुँदैन। हामीले सिनेमामा खोज्ने वा हेर्ने गरेको कुनै पनि प्रकारको कथा यसमा छैन। छ त केवल नांगो फ्रेम। संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङटन डीसी आसपासका आइकनिक लोकेशनमा स्टाटिक लङ शटहरूमा सुस्तरी हिंडिरहेको भिक्षुको दृश्य अत्यन्त मनमोहक छन्। लगभग सबैतिर ‘खैरो’ मात्रै रङ देखिने वाशिङटन डीसीमा भिक्षुको मरुन रङको गाउन लङ शटमा हेर्दा निधारमा लगाइएको टीका जस्तो देखिन्छ।
फिल्मका दुई-तीन दृश्यमा मात्रै पार्श्व संगीतको प्रयोग गरिएको छ। एउटा दृश्यमा मात्रै क्यामेरा प्यान गरिएको छ। तैपनि एअरपोर्ट, ट्रेन स्टेशन, नदी किनार, अर्नामेन्टल पुल, संग्रहालय र वाशिङटन मोमेन्टमका अघिल्तिर खाली खुट्टा हिंडिरहेका भिक्षुलाई हेरेर त्यो दृश्यबाट अर्थ खोज्ने काम उनले दर्शकलाई नै छोडिदिएका छन्।
साइका वाकर शृंखलामा यी भिक्षु यसअघि टोकियो, पेरिस, क्वालालम्पुर, ताइवान, हङकङ लगायत स्थानमा पुगिसकेका रहेछन्। यी शृंखलाका समीक्षकहरूले ‘यथार्थवादी चित्रण’ का रूपमा व्याख्या गर्ने गरेका छन्, जहाँ यथार्थको पुन:सिर्जना गरिंदैन। जे देखिन्छ, त्यही नै प्रस्तुत गरिन्छ। न कुनै व्याख्या न कुनै शब्द, संवाद, ध्वनि वा प्रकाशको सम्मिश्रणबाट बेग्लै अर्थको खोजी। यसलाई नांगो आँखाले हेर्ने अनुभव भन्ने गरिएको पाइन्छ। गैरकथानक फिल्मको स्वादका लागि साइको यो शृंखलालाई विशेष महत्त्वको मान्ने गरिएको छ।
छुटफुट
यस पालिको बर्लिनालेमा हलिउड हस्ती मार्टिन स्कोरसेजीको द डिपार्टेड को प्रदर्शन विशेष रह्यो। फेस्टिभलमा ‘अनररी गोल्डेन बेयर’ पाएका मार्टिन र द डिपार्टेड स्टार म्याट डेमन यो विशेष प्रदर्शनीका लागि उपस्थित थिए। केही वर्ष पहिले डीभीडीमा हेरेको फिल्म ठूलो हलमा हेर्न पाउँदा बेग्दै आनन्दको अनुभूति भयो। फिल्म हेरेर फेरि एक पटक ज्याक निकोल्सनको अभिनयबाट प्रभावित भइयो।
यस्तै, इटालीको फिल्म ग्लोरिया र अमेरिकाको स्पेसम्यान पनि यस पालि हेरियो। सत्रौं शताब्दीको एउटा चर्चभित्रको कथा भन्ने ग्लोरिया ले चर्चको संगीतको माध्यमबाट महिलाका कुरा भन्छ भने स्पेसम्यान अन्तरिक्षमा रहेको एक खगोलशास्त्रीको मनोविज्ञानको कथा हो। हलिउड स्टार एडम स्यान्डलर अभिनीत यो फिल्म मलाई बेग्लै आयामको लाग्यो। फेस्टिभलमा निकै हाइप भएको ब्ल्याक टी खासै उम्दा लागेन। फ्रान्स/जर्मनीको ‘फरेन ल्यांग्वेज’ र क्यानडाको म्याट एन्ड मारा सम्बन्धमाथि बनेका फिल्महरू हुन्। तर यी दुवै सम्बन्धको गहिराइमा पुगे जस्तो महसूस भएन। बरु कोरियाली स्टार दोङ लीको एक्सन– कमर्शियल फिल्म राउन्डअप : पनिशमेन्ट मनोरञ्जक लाग्यो। खासगरी यसको एन्टागोनिस्ट।
महोत्सवको यो ७४औं संस्करणमा विशेष लागेको चाहिं महिला निर्देशकहरूका फिल्मको दमदार उपस्थिति हो। उत्कृष्ट फिल्मको गोल्डन बेयर जित्ने डाहोमे देखि द डेभिल्स बाथ , फरेन ल्यांग्वेज , ग्लोरिया जस्ता कम्पिटिशन फिल्मका निर्देशक महिला हुन्। इन्काउन्टर सेक्सनमा उत्कृष्ट निर्देशकको अवार्ड जित्ने निर्देशक पनि महिला नै थिइन्। फेस्टिभलको जुरी प्रमुखमा पोहोर हलिउड अभिनेत्री क्रिस्टिन स्टुआर्ट थिइन् भने यस वर्ष अर्की स्टार लुपिता न्योन्ग्यो।
याे पनि:
फिल्म फेस्टिभलले तताएको राजनीतिक बहस