समाचारसोमबार, १८ कार्तिक , २०७६

सहकारीको ४३ करोड हिनामिना: चार जना कारागार चलान, ३५ अभियुक्त फरार

रासस

रु.४३ करोड रकम अपचलन गरेको अभियोगमा जिल्ला अदालत बाँकेले नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, ब्याङ्किङ प्रबन्धक अरुणकुमार पाठक र सह-उपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको हो।

अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि वज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही रु.२० लाख धरौटी मागिएको छ। वज्राचार्य रु.२० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् भने चौधरीले धरौटीमा जायजेथा राखीपाउँ भनेर निवेदन दिए पनि जग्गाको मूल्याङ्कनलगायतका प्रक्रियामा कम्तीमा एक साता लाग्ने भएकाले थुनामै बस्नुपर्ने भएको छ।

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जना विरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराध अन्तर्गत अभियोगपत्र दायर भएको छ। चार जना कर्मचारी र दुई जना लेखा समिति सदस्य गरी ६ जना मात्र पक्राउ परेका थिए। ३५ अभियुक्त फरार छन्।

बाँके प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनबाट सहकारीको कूल पूँजी रु.५२ करोडबाट रु.४३ करोड अपचलन भएको दाबी गरिएको छ। सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका छन्।

प्रतिकृया दिनुहोस