दिल्लीमा जनस्वास्थ्य संकटकाल घोषणा, नेपालमा पनि प्रभाव
भारतको राजधानी दिल्लीमा वायु प्रदूषणका कारण विषाक्त हावा फैलिएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।
वायु प्रदूषणका कारण मंगलबारसम्म सबै विद्यालयहरु बन्द हुनेछ । विद्यालयहरुमा मास्क वितरण गरिँदैछ । ५० लाख मास्क वितरण गर्ने योजना रहेको छ । वायु प्रदूषण कम गर्नको लागि सबै किसिमको निर्माणकार्य बन्द गर्न निर्देशन दिइएको छ ।
दिल्लीको हावामा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्वहरु पाइएको छ ।
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ‘ग्यास च्याम्बर’मा परिणत भएको बताएका छन् । वितरित मास्क यथासम्भव प्रयोग गर्न केजरीवालले आग्रह गरेका छन् ।
अहिले भारतको राजधानीलाई बाक्लो तुँवालोले ढाकेको छ । मानिसहरुले त्यसको तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्दै आक्रोश व्यक्त गरिरहेका छन् ।
हरेक वर्ष यस्तो अवस्था दोहोरिने गरेको भन्दै उनीहरुले सरकारसँग आक्रोश पोखेका छन् । प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बर महीनामा दिल्लीको हावा विषाक्त बन्ने गरेको छ ।
नेपालमा पनि वायु प्रदूषणको मात्रा बढ्दै
काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका यन्त्रहरुले वायु प्रदूषणको मात्रा बढिरहेको देखाएका छन् । काठमाडौंको रत्नपार्कमा रहेको प्रदूषण मापक यन्त्रमा शनिबार बिहान प्रदूषणको मात्रा चारगुणाभन्दा बढी भएको देखाएको छ ।
नेपालको राष्ट्रिय मापदण्ड अनुसार पीएम २.५ भनिने रौं भन्दा झन्डै तीनगुणासम्म सूक्ष्म कण हावामा दैनिक औषतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताइन्छ । रत्नपार्कको प्रदूषण मापक यन्त्रमा शनिबार १६६ माइक्रोग्राम देखाएको छ।
नेपालको वायु प्रदूषण यहाँ हुने गतिविधिबाट मात्र नभई भारतबाट आउने प्रदूषित वायु पनि रहेको विज्ञहरुले बताउने गरेका छन् ।
हिउँद् र सुक्खायाममा लम्बिनी र सौराहामा काठमाडौंमा भन्दा बढी प्रदूषण देखिनुमा सीमापारिबाट आउने कण जिम्मेवार भएको बताइन्छ ।
विज्ञहरुका अनुसार हलुका हुने भएकाले ती मसिना कणहरु धेरै समयसम्म हावामा रहन सक्छन् र हावासँगै हजारौं किलोमिटर टाढासम्म पुग्न सक्छन् ।
वायु प्रदूषणका कारण
राजधानीको छिमेकी हरियाणा र पन्जाब राज्यमा किसानहरुले अन्नबाली भित्र्याएपछि खेतमा ठुटा र खोस्टामा आगो लगाउने गरेका छन् ।
दीपावलीमा पड्काइने पटाकाका कारण पनि वायु प्रदूषणको मात्रा बढ्ने गरेको छ । त्यसबाहेक निर्माण कम्पनी, यातायातबाट निस्कने धूँवा अन्य कारक हुन् । चिसो शुरु भएसँगै दिल्लीमा बढ्ने प्रदूषण पश्चिमी वायुसँगै नेपालसम्म पर्ने गरेको विज्ञहरु बताउँछन् ।
‘माले घोषणापत्र’
सामान्य मास्कले पनि रोक्ने नसक्ने भएकाले त्यस्ता कणको जोखिमबाट बच्न छिमेकी देशहरुबीच एकीकृत प्रयासको आवश्यकता महशुस गरी नेपाल सहित विभिन्न आठ मुलुकले सन् १९९८ मा घोषणापत्र जारी गरेको थियो ।
माल्दिभ्समा जारी भएको घोषणापत्रमा सीमा नाघेर हुने वायु प्रदूषणको अवस्थासँग जुझ्न सहकार्य गर्ने उल्लेख थियो । तर, त्यसको लागि पर्याप्त काम हुन नसकेको विज्ञहरुको भनाइ छ ।
यस्ता विषाक्त साना कणमा रासायनिक पदार्थ पनि रहिरहन सक्ने र मानिसको शरीरभित्र छिर्न सक्ने भएकाले स्वास्थ्यका लागि सबैभन्दा बढी हानिकारक हुने गर्छ ।
जाडो याममा वायुमण्डलमा ‘ब्राउन क्लाउड’ भनिने प्रदूषणको एउटा तह बनेर त्यसले सूर्यको किरणहरु छेक्ने गरेकाले समस्याहरु थप जटिल बन्ने विज्ञहरुको भनाइ छ ।–एजेन्सी