समाचारबिहिबार, २ आश्विन , २०७६

जितिया पर्व शुक्रबारदेखि शुरु

रासस

तराईमा मनाइने महान लोकपर्व जितियाको मुख्य विधि शुक्रबारदेखि शुरु हुँदैछ ।

यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको पातमा तोरी वा सर्स्यु‌काे तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।

सप्तमी तिथिकै दिन दिवङ्गत भएका महिलाप्रति श्रद्धास्वरूप नैवेद्य अर्पण गरी महिलालाई निम्तो दिएर भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । यसैदिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ ।

शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ ।

सोही तिथिको रातिको अन्तिम प्रहरमा व्रतार्थी दही, च्यूरा । फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् ।

जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार व्रत बस्ने गरिन्छ।

नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ ।

यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।

असोज ३ गते शुक्रबार तेलखरी, पितराइन र रातिको अन्तिम प्रहरमा (४ बजेदखि ५ः३० बजेभित्र) ओठङ्न विधि र सूर्योदय भएपछि अष्टमी तिथिमा( शनिबार) व्रत शुरू भई आइतबार दिउँसो ३ देखि ४ बजेपछि पारण गरिने छ ।

जितिया पर्व मैथिल संस्कृति पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुखशान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन छ ।

जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ ।

विशेषरुपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसकी आमाले खर जितिया गरेकी रहिछन् भन्ने मान्यता पनि रहेको छ ।

जितिया पर्वको मुख्य उद्देश्य मोहप्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको धारणा पाइन्छ ।

प्रतिकृया दिनुहोस