समाचार आइतबार, भदौ १५, २०७६

प्रधानमन्त्री ओलीकाे उपचारमा भइरहेकाे प्लाज्माफेरेसिस विधि के हाे ?

रामु सापकोटा

५ भदाै‌ंमा सि‌गापुर जानुअघि त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री ओली । तस्वीरः विक्रम राई

दुवै मिर्गौला फेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । यस हिसाबले प्रत्यारोपणको १२ वर्ष भइसकेको छ ।

चिकित्सा विज्ञानको इतिहासमा प्रत्यारोपणपछि औषधि नियमित मात्रामा लिए र सुव्यवस्थित जीवनशैली अपनाए मिर्गौलाले लामो समय काम गरेको पाइएको छ । एक अन्तर्राष्ट्रिय अध्ययन अनुसार जीवित दाताबाट लिएको मिर्गौला प्रत्यारोपण गर्दा औसत आयु १२ वर्षदेखि २० वर्षसम्म भएको र मृत व्यक्तिबाट लिंदा ८ देखि १२ वर्षसम्म बाँचेको पाइएको छ । तर शरीरमा हुने एण्टिबडीले कुनै समयमा प्रत्यारोपण गरिएका बिरामीको मिर्गौलालाई अस्वीकार गर्ने सम्भावना हुन्छ ।

मानव शरीरमा आक्रमण गरी हानि पु‍-याउन सक्ने जीवाणु विरुद्ध लडेर शरीरको बचाउ गर्न उत्पादन गर्ने एक प्रकारको प्रोटिनजन्य रसायनलाई एण्टिबडी (इम्युनोग्लोबुलिन) भनिन्छ । एण्टिबडीले फरेन बडी अर्थात् शरीरलाई संभावित हानि गर्न सक्ने बाह्य तत्वलाई नष्ट गर्छ । शरीरमा संक्रमण रोक्न पर्याप्त एण्टिबडी हुनु राम्रो मानिने भएकाले एण्टिबडी बढाउन विभिन्न भ्याक्सिन समेत दिने गरिन्छ । एण्टिबडी शरीरको प्रतिरक्षाका लागि बनेका हुन्छन् ।

मिर्गौला प्रत्यारोपण गरिएका बिरामीको शरीरले प्रत्यारोपण गरिएको मिर्गौलालाई समेत बाहिरी र शरीरलाई हानिकारक तत्वको रूपमा बुझछ र यसका विरुद्ध प्रतिरक्षात्मक कोष र एण्टिबडीको विकास गर्छ जसले गर्दा छोटो समयमा नै प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोड्छ, जसलाई ‘रिजेक्सन’ भनिन्छ । यसरी रिजेक्सन नहोओस् भन्नाका लागि मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिले आजीवन औषधि सेवन गर्नुपर्ने हुन्छ ।

मानव शरीरको प्रकृति नै कुनै पनि बाहिरी वस्तुलाई अस्वीकार गर्ने वा निस्तेज पार्ने हुन्छ । चितवन मेडिकल कलेजका प्राध्यापक तथा मिर्गौला रोग विशेषण डा. अरुण सेढाईंका अनुसार प्रत्यारोपण गरिएको मिर्गौला अर्कै व्यक्तिको अङ्ग भएकाले शरीरले त्यसलाई चिनेर अस्वीकार नगरोस् भनेर प्रतिरक्षा शक्ति घटाउने औषधि चलाइन्छ ।

तर औषधिले पनि प्रतिरक्षा शक्ति पूर्णरूपमा कम हुँदैन । डा.सेढाईं प्रतिरक्षा शक्ति पूर्णरूपमा कम भयो भने शरीरमा संक्रमण फैलिएर ज्यानै जाने जोखिम हुने बताउँछन् । त्यसैले प्रतिरक्षा शक्तिलाई सन्तुलनमा राख्न शरीरमा ‘इम्युनो सप्रेसर’ औषधि प्रयोग गरिन्छ । यस्ता औषधिहरूको नियमित सेवन गरिरहे तापनि बिरामीको शरीरमा प्रत्यारोपित मिर्गौला विरुद्ध एण्टिबडी बन्न सक्छ, जसले मिर्गौलालाई आक्रमण गर्छ ।

यसप्रकारले मिर्गौला खराब हुने अवस्थालाई एण्टिबडी मिडिएटेड रिजेक्सन भनिन्छ । प्रधानमन्त्री ओलीलाई यही समस्या देखिएको हो । त्यसैले सिंगापुरकाे न्याशनल यूनिभर्सिटी अस्पतालमा एण्टिबडी हटाउन उनकाे प्लाज्माफेरेसिस विधिबाट उपचार भइरहेकाे छ । प्रत्यारोपण गरिएको मिर्गौला विरुद्ध प्रतिरक्षात्मक कोषको विकास भएर मिर्गौला खराब हुने अवस्थालाई सेलुलर रिजेक्सन भनिन्छ ।

प्रतिरक्षात्मक शक्ति घटाउने औषधि चलाए पनि प्रत्यारोपण गरिएका बिरामीमा रिजेक्सनको समस्या देखिन सक्छ । यो समस्या मिर्गौला प्रत्यारोपण गरेका सबै बिरामीमा नभएर केहीमा मात्र देखिन्छ ।

एण्टिबडीका कारण प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले चिनेर अस्वीकार गर्नु भनेको मिर्गाैलाको काम घट्दै जानु हो । पछिल्लो समय पहिले भन्दा कडा खालका इम्युनोसप्रेसान्ट समूहका औषधिहरू प्रयोग गर्ने गरिएकाले प्रत्यारोपण गरिएको मिर्गौलालाई शरीरले अस्वीकार गरेको कुरा लक्षणबाट समेत थाहा हुँदैन, परीक्षणबाट मात्र थाहा हुन्छ ।

प्रत्यारोपण गरिएका एकदमै कम बिरामीमा मात्र शरीरले मिर्गौला अस्वीकार गर्न थालेपछि थकान हुने, मिर्गौला दुख्ने जस्ता लक्षण देखिन्छन् । तर धेरै व्यक्तिमा रगतमा क्रियाटिनिनको मात्रा जाँचेर, पिसाब परीक्षण गरेर तथा बायोप्सी गरेर मिर्गौलामा खराबी भए/नभएको थाहा हुन्छ । र, शरीरबाट मिर्गौलाका लागि विकार बनेको तिनै एण्टिबडी हटाउन प्लाज्माफेरेसिस उपचार विधि अपनाउने गरिंदै आएको छ ।

एण्टिबडीका कारण शरीरमा निम्तिन सक्ने क्षतिलाई प्लाज्माफेरेसिस विधिबाट उपचार गरेर कम गर्न सकिन्छ । मिर्गौलाको काम गर्ने क्षमतामा सुधार ल्याउने उद्देश्यले एण्टिबडी निकाल्न प्लाज्माफेरेसिस गरिन्छ । अमेरिकाको न्याशनल किड्नी फाउन्डेसनका अनुसार, प्लाज्माफेरेसिस विधिबाट उपचार गर्दा रगत छानेर एण्टिबडी शरीरबाट निकालिन्छ (हे.तस्वीर) ।

 

डायलसिस मेशिन वा सेन्ट्रीफ्युगेसन (रक्त कोषबाट प्लाज्मा छुट्याउने विधि) बाट प्लाज्माफेरेसिस गरिन्छ । एण्टिबडीले मानव शरीरका अङ्गमा क्षति पु-याउन थाल्यो भने तिनलाई हटाउन र नयाँ बन्न नदिन औषधि दिइन्छ । प्लाज्माफेरेसिसबाट एण्टिबडी घटेन भने अन्य केही वैकल्पिक औषधि चलाउने गरिएको छ ।

प्लाज्माफेरेसिसले काम नगरे प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गर्ने क्रम यथावत् रहन्छ । जसले अन्ततः मिर्गौलाले काम नै नगर्ने समस्या आउँछ । तर प्लाज्माफेरेसिसले मिर्गौलाको काममा सुधार गरेन भन्दैमा तत्कालै पुनः प्रत्यारोपण गर्न नपर्ने चिकित्सकहरू बताउँछन् । मिर्गौलाको तत्कालीन कार्यक्षमता परीक्षण गरेर पुनः प्रत्यारोपण वा अन्य आवश्यक उपचार विधि अपनाउन सकिने चिकित्सकहरूको सुझव छ ।

प्लाज्माफेरेसिसबाट पनि मिर्गौलाले काम नगरेर अन्य लक्षण देखियो भने मात्र पुनः प्रत्यारोपण गरिन्छ । त्रिवि शिक्षण अस्पतालको मिर्गौला रोग तथा प्रत्यारोपण विभागका सह–प्राध्यापक डा.महेशराज सिग्देलका अनुसार, नेपालमा एकै व्यक्तिले दुई पटकसम्म मिर्गौला प्रत्यारोपण गरेर बाँचिरहेका छन् ।

यता, प्रधानमन्त्री ओलीको सात पटक प्लाज्माफेरेसिस गरिएपछि देखिने नतिजा अनुसार के गर्ने भन्ने निक्र्योल हुनेछ ।

प्रतिकृया दिनुहोस