किसानलाई दूधको भुक्तानी दिन सांसदको माग
प्रतिनिधि सभाको बैठकमा सांसदले किसानलाई दूधको भुक्तानी दिन सरकारसँग माग गरेका छन्।
नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्काल दिनुपर्ने बताए। किसानका समस्या सरकारले तत्काल वार्ता मार्फत सम्बोधन गर्नुपर्ने बर्तौलाको भनाइ थियो।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले किसानले दूधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिए। धर्नामा बसेका ४५ किसानलाई पक्राउ गर्नु दुःखद भएको उनको भनाइ थियो।
“किसानको माग न्यायोचित छ, ६ लाख किसानले करीब ६ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ,” प्रमुख सचेतक बर्तौलाले भने, “किसानले ब्यांकबाट ऋण लिएका छन्, तिर्ने अवस्था छैन।”
किसानका समस्याका विषयमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै दूधको भुक्तानीको बक्यौता अविलम्ब उपलब्ध गराउनुपर्नेमा बर्तौलाले जोड दिए।
नेपाली कांग्रेसकी सांसद नागिना यादवले किसानको जीविकोपार्जनको मुख्य आधार कृषि भएकाले किसानका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्। “आन्दोलनरत किसानका माग तत्काल सम्बोधन गर्नुपर्छ,” यादवले भनिन्।
लामो समयदेखि दूधको भुक्तानी नपाएपछि किसान आन्दोलनमा उत्रिएका छन्। बुधबार केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा किसानले दुग्ध विकास संस्थान घेराउ गरेका थिए। संस्थानमा ताला लगाउन खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो।
संस्थानले दूधको भुक्तानी नगर्दा देशभरका किसान मर्कामा परेका छन्। उनीहरू बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले कानूनसम्मत दर्ता भएका क्रसर र खानी उद्योगको नवीकरण गर्नुपर्ने बताए। क्रसर व्यवसायबाट ६ अर्ब रुपैयाँ राजस्व प्राप्त भइरहेको उनको भनाइ थियो।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आन्दोलनरत कवाडी व्यवसायीमाथि लाठीचार्ज हुनु दुःखद भएको बताए। आन्दोलनका क्रममा घाइते भएकाको उपचार निःशुल्क गर्न सिंहले माग गरे।
त्यस्तै, आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शान्तिपूर्ण आन्दोलनमा रहेका कवाडी व्यवसायीमाथि लाठीप्रहारको घटनाप्रति विरोध जनाउँदै सरकारको ध्यानाकर्षण गराए।
एमालेका सांसद एकनाथ ढकालले गोरखाको भीमसेन थापा गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी जोड्ने झोलुंगे पुल हालसम्म मर्मत हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए।
एमालेका सांसद मानवीर राईले लामो समयदेखि लुक्लास्थित तेन्जिङ हिलरी विमानस्थल अवरुद्ध हुँदा पर्यटकले सास्ती खेप्नुपरेको उल्लेख गरे। विमानस्थलसँगै सडक समेत अवरुद्ध हुँदा बिरामीलाई समस्या भएकोप्रति सरकारको ध्यानाकर्षण गराए।