चुरे जोगाउन माइतीघरमा सरकारको खोजी
![चुरे जोगाउन माइतीघरमा सरकारको खोजी](https://www.himalkhabar.com/uploads/posts/800X600/chure-maitighar-(5)-1717922893.jpg)
स्थानीय र प्रदेश सरकारकै संरक्षणमा चुरे र नदीनाला दोहन हुँदा समस्यामा परेका मधेशका बासिन्दा आफ्नो समस्या सुनाउन दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलमा संघीय सरकार खोजिरहेका छन्।
धारा सुक्न थाले। पानीको अभाव भयो। हिउँदमा घरछेउका खोलानालामा पानी भएन। वर्षामा बाढीले घरखेतै नै बगाउन थाल्यो।
यस्तो समस्या देखिएपछि जनकपुर उपमहानगरपालिका-२ की सरस्वती मुखिया स्थानीय बासिन्दासँगै वडा कार्यालय पुगिन्। वडाध्यक्षले वास्तै गरेनन्।
त्यसपछि उनीहरू उपमहानगरको कार्यालय पुगे। मेयर र उपमेयरले पनि मधेशमा सबैतिर यस्तै समस्या छ भन्दै पन्छाए।
![chure maitighar (7).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/chure march/chure maitighar (7).jpg)
उनीहरूले मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाए। चुरे क्षेत्रमा भइरहेको वनविनाश, नदी, खोलामा भइरहेको उत्खनन रोक्न माग गरेका थिए। तर प्रदेश सरकारले पनि ध्यान दिएन। सरस्वती भन्छिन्, “कलमा पानी आउँदैन। नदी सुकिरहेको छ। गाईगोरुलाई पानी खुवाउन पनि गाह्रो हुँदै गएको छ।”
त्यसपछि सरस्वतीसँगै मधेशबाट २५ जना पैदल मार्चमा निस्किए। सप्तरीको भारदहबाट वैशाख १६ गते हिंडेका उनीहरू जेठ पहिलो साता काठमाडौं पुगे। अहिले माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्। “चुरे संरक्षणका लागि भारदहबाट काठमाडौंसम्म पैदलयात्रा गरेका हौं,” यो अभियानको अगुवाइ गरिरहेको चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालका संयोजक सुनील यादव भन्छन्।
![chure maitighar (10).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/chure march/chure maitighar (10).jpg)
उनीहरू जेठ १० गतेदेखि माइतीघर मण्डलमा पालैपालो धर्ना दिइरहेका छन्। चुरे दोहन रोक्न माग गरिरहेका छन्। “हाम्रो मूल माग मधेशको पानीको हो,” अभियन्ता दीपक यादव भन्छन्, “पानी कम हुनुको मूल कारण चुरेसँग सम्बन्धित छ। त्यसैले चुरेलाई दोहनबाट बचाउनुपर्छ।”
दुःखको कुरा, सरकारी निकायको मिलेमतो र संरक्षणमै चुरे र नदी उत्खनन भइरहेको यादवको भनाइ छ। “वन क्षेत्र फँडानी गरेर जंगलभित्र होटल सञ्चालन भइरहेका छन्,” उनी भन्छन्, “तर भूमिहीनलाई उचित स्थानमा वास बस्न दिइएको छैन।”
![chure maitighar (9).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/chure march/chure maitighar (9).jpg)
मधेश प्रदेश सरकारले आफ्नो कुरा नसुनेपछि बाध्य भएर संघीय सरकारलाई घचघच्याउन काठमाडौं आएको यादव बताउँछन्। उनीहरू २०७२ सालदेखि अभियान चलाइरहेका छन्। स्थानीय र प्रदेश सरकारलाई सचेत गराउँदै आएका छन्। तर सरकारले जंगल विनाश, चुरे र नदी उत्खननमा संलग्न व्यक्तिलाई संरक्षण गरिरहेको उनको आरोप छ।
काठमाडौं आएपछि संघीय सरकारसँगको आशा पनि मर्दै गएको उनीहरू बताउँछन्। यतिका दिनसम्म माइतीघरमा धर्ना दिंदा पनि सरकारले वास्ता नगरेको शान्ति यादव गुनासो गर्छिन्। “पच्चीस दिन पदयात्रा गरेर काठमाडौं आएका छौं, तर हाम्रो कुरा सुन्न र अवस्था बुझ्न अहिलेसम्म सरकार आएको छैन,” पैदल हिंड्दा चर्किएका पैताला मुसार्दै यादव भन्छिन्, “माइतीघरमा बसेर सरकार खोजिरहेका छौं।”
![chure maitighar (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/chure march/chure maitighar (2).jpg)
![chure maitighar (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/chure march/chure maitighar (4).jpg)
![chure maitighar (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/chure march/chure maitighar (1).jpg)
![chure maitighar (6).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/chure march/chure maitighar (6).jpg)
![chure maitighar (8).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/chure march/chure maitighar (8).jpg)
![chure maitighar (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Environment/chure march/chure maitighar (3).jpg)