एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेश हुने
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेश गर्ने निर्णय गरेको छ।
राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरूले सुझाव सहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिश गरेको केन्द्रीय सदस्य मोहन गौतमले बताए।
एकीकृत समाजवादीको अब बस्ने सचिवालय बैठकले चार वटा प्रतिवेदनलाई अनुमोदन गरेपछि त्यसलाई एक मात्र साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिनेछ।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न एकीकृत समाजवादीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन पनि दिएको छ। गत वैशाख ३१ गतेसम्म प्राप्त सदस्यको नामावलीलाई अनुमोदन गरेको थियो।
यही जेठ १० गतेसम्म नयाँ र पुराना संगठित सदस्यको विवरण अद्यावधिक गर्न समय तोकेको छ। आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गरिने जनाइएको छ।